निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २९ मंसिर । प्रतिनिधिसभाको लागि भक्तपुर क्षेत्र नं १ मा निर्वाचित हुनुभएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका जनताले बधाई ज्ञापन गरिरहेका छन् । शुक्रबार बिहान सुडालको रातोपाटीमा आयोजित एक कार्यक्रमबीच स्थानीय जनताले उहाँलाई अभिनन्दन गरे । सो क्रममा स्थानीय जनताप्रति आभार व्यक्त गर्दै सांसद सुवालले देश र जनताको पक्षमा कानुन बनाउने र शासक दलहरूले प्रस्तावमा ल्याउने जनविरोधी कानुनको विरोधमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कथित वामपन्थीहरूको बहुमतले देशमा आमूल परिवर्तन सम्भव नभएको भन्दै शासक दलहरू भारतको स्वार्थमा संविधान संशोधन गर्न लाग्ने विषयमा सजग हुनुपर्ने धारणा राख्नुभयो । सुवालले सङ्कीर्ण राष्ट्रवाद र अन्धराष्ट्रवादले देशलाई सही दिशामा नलाने चर्चा गर्दै चुनावमा मतदान गरेरमात्र जनताको कर्तव्य पूरा नहुने बताउनुभयो । नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेशसभा १ का उम्मेदवार नीरज लवजूले चुनावमा जनतालाई खसी बोकाझैं पैसामा किन्ने राजनीतिक दलहरूले जनताको अपमान गरेको विचार राख्नुभयो । उहाँले भ्रष्टाचार गरेको पैसा खर्च गरेर चुनाव जित्ने राजनीतिक दललाई जनतालाई सजाय गर्ने विचार राख्दै भन्नुभयो,‘नेमकिपाले अंगालेको राजनीतिक संस्कारमा जनतालाई किनबेच गर्ने छुट छैन ।’ रामभक्त सुकुमनीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू र नेपाल क्रान्तिकारी किसान सङ्घका केशव तिमिल्सिनाले पनि बोल्नुभएको थियो । बधाई ज्ञापन कार्यक्रमकै सिलसिलामा बिहीबार छालिङमा विजय जुलुस तथा सभा सम्पन्न भयो । छालिङको पकुनेपाटीबाट सुरू भएको विजय जुलुस विभिन्न गाउँबस्ती हुँदै वडा कार्यालय भवन पुगेर सभामा परिणत भएको थियो । विजय जुलुसको क्रममा ठाउँ–ठाउँमा स्थानीय जनताले सांसद सुवाललाई स्वागत अभिनन्दन गरेका थिए ।
Leave a Reply