भर्खरै :

विद्यालयहरूको विकास नै देशको विकास हो

विद्यालयहरूको विकास नै देशको विकास हो

भक्तपुर, २७ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई बुद्धिजीवीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न भक्तपुर नगरपालिकाले गरिब विद्यार्थीहरूलाई शैक्षिक ऋण र छात्रवृत्ति उपलब्ध गराई उच्च शिक्षा प्रदान गर्ने नीतिअनुरूप अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपलहरूको भेलामा उहाँले नगरभित्रका विद्यालयहरू भक्तपुर नगरपालिकाको नीतिअनुसार अगाडि बढ्नुपर्ने र कमजोर विद्यालयको शैक्षिक स्तर माथि उकास्न थप मेहनतका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालयका प्रतिनिधिहरू समावेश गरी भक्तपुर नपाले शैक्षिक भित्तेपात्रो निर्माण कार्य सम्पन्न गरिसकेको बताउँदै नपाद्वारा प्रकाशित भित्तेपात्रोअनुसार विद्यालयले आफ्ना शैक्षिक क्रियाकलापहरूलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
बाहिर जिल्लाबाट अध्ययन अध्यापनका लागि आएका शिक्षक र विद्यार्थीमाझ भक्तपुरबारे सकारात्मक सन्देश प्रवाह गर्नु हाम्रो कर्तव्य भएको बताउँदै विद्यालयको विकास देशको विकास हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका विद्यालय सञ्चालनको आफ्नै इतिहास भएको बताउँदै शिक्षकहरूले जागिर खाने मानसिकताले भन्दा विद्यार्थीको भविष्य बनाउने उद्देश्यले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका शाखा अधिकृत साधुराम फुँयालले शाखाको वार्षिक योजनाबारे अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा संयुक्त परीक्षा समितिका संयोजक रोशनराज तुईतुई र आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले नगर शिक्षा ऐन, शैक्षिक पात्रो, बिदा कटौती, पाठ योजना, मूल्याङ्कन प्रणाली, शिक्षक सरुवा, स्थानीय पाठ्यक्रम आदिबारे आफ्ना जिज्ञासाहरू राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *