भर्खरै :

डिसेम्बरवादी चेतनाका पछिल्ला ज्योति हर्जेन

डिसेम्बरवादी चेतनाका पछिल्ला ज्योति हर्जेन

३० वर्षे अन्धयुग
जार निकोलस प्रथमले रूसी समाजलाई डिसेम्बरवादीहरूको क्रान्तिकारी प्रभावबाट टाढा राख्न हरसम्भव प्रयास गरे । पुस्तक र पत्रपत्रिका प्रकाशनमा सेन्सरलाई अझ कडा बनाइयो । अनौपचारिक कुराकानीमा समेत डिसेम्बर विद्रोहको सानो सङ्केत दिए वा त्यसप्रति अलिकति सहानुभूति देखाए ठुलो अपराध हुनसक्थ्यो । कैद अवधिभर निर्वासित क्रान्तिकारीहरूलाई लेख्नमा बन्देज लगाइएको थियो । साइबेरियाबाट विद्रोहीहरूले प्रेषित गर्ने परिवारिक चिट्ठीहरू स्थानीय अधिकारी, पश्चिम साइबेरियाको केन्द्र इरकुच्क जिल्ला र राजधानी सेन्ट पिटर्सबर्ग गरी तीन तहको सेन्सरपछि मात्र सम्बन्धित प्रापककहाँ पुग्थ्यो । जार शासनविरुद्ध क्रान्तिकारी विचार राख्ने युवाहरूको निगरानी गर्न जारले राजनीतिक (गुप्ती) प्रहरीको विशेष सुरक्षा विभाग स्थापना गरे । त्यस विभागको घोषित उद्देश्य ‘रूसी राज्यको आधारशिला रक्षा गर्नु’ थियो ।
जार निकोलसको प्रोत्साहनमा अनुदार भारदारहरू राज्यको महत्वपूर्ण अङ्गहरूमा स्थापित हुँदै गए । भूदास प्रथा रूसी राजसंस्था, कुलीनतन्त्र र धार्मिक संस्थाहरूको आर्थिक एवम् राजनीतिक आधारशिला थियो । त्यसकारण, भूदासहरूलाई खानदानीहरूको जमिनसँगै बाँधिराख्नुपर्छ भन्ने मत राख्नेहरू दरबारमा बलिया थिए । डिसेम्बर विद्रोहको दमनपछि सेनामा क्रान्तिकारी भावना कमजोर भइसकेको थियो । त्यसकारण, निकोलस प्रथमको ३० वर्षे शासन (सन् १८२५– १८५५) लाई रूसमा कठोर निरङ्कुशता र अन्धकारको युग मानिन्छ ।
डिसेम्बर विद्रोहका विद्रोहीहरूको मुद्दाबारे सरकारी अनुसन्धान समितिको प्रतिवेदन प्रकाशन भयो । तर, उक्त प्रतिवेदनमा भूदास प्रथा अन्त्य गर्ने, संवैधानिक व्यवस्था स्थापना गर्ने, अनिवार्य सैनिक सेवा छोट्याउने, राज्यकोषमा उच्च अधिकारीहरूको मनोमानी बन्द गर्नेजस्ता विद्रोहीहरूका मूल उद्देश्यबारे केही लेखिएको थिएन । क्रान्तिकारीहरूलाई राज्य र जारविरुद्ध गम्भीर अपराध गर्ने राजद्रोहीमात्र भनिएको थियो । दशकौँसम्म पनि रूसी जनताले डिसेम्बर विद्रोहबारे बुझ्ने एउटैमात्र माध्यम उक्त प्रतिवेदन बनिरह्यो । रूसी जनताको मस्तिष्कबाट डिसेम्बर विद्रोहीहरूको सम्झना धुमिल पार्न वा मेटाउन जार निकोलसले उक्त प्रतिवेदन पुनः प्रकाशन गर्ने अनुमति दिएनन् ।
जार सरकारसँग विद्रोह र विद्रोही युवाहरूसम्बन्धी अनुसन्धानको अप्रकाशित दस्ताबेज थियो । त्यसलाई सरकारले गुप्त राखेको थियो । विद्रोहीहरूसँग क्रान्तिकारी सम्झनाहरू थिए । कठोर निगरानी र सेन्सरका कारण उनीहरूले आफ्नो सम्झनालाई कागजमा उतार्न सकिरहेका थिएनन् । गुप्त समाजका गतिविधि तथा उद्देश्यबारे जानकार र विद्रोहप्रति सहानुभूति राख्ने केही उच्च अधिकारीहरूले पनि आफ्नो बुझाइ बाहिर ल्याउन सक्ने अवस्था थिएन ।
विद्रोहको १२/१५ वर्षपछि कैद सजायबाट मुक्त भएर क्रान्तिकारीहरूले साइबेरियाका विभिन्न गाउँ–सहरमा निर्वासित जीवन बिताइरहेका थिए । उनीहरूलाई युरोपेली रूसमा रहेका आफ्ना परिवार र साथीहरूलाई चिट्ठी लेख्ने छुट दिइएको थियो । तर, ती चिट्ठीमा लेखिएका व्यहोराहरूमाथि कडा निगरानी राखिन्थ्यो । डिसेम्बर विद्रोहको खास उद्देश्यबारे रूसी जनतालाई बताउनु आवश्यक थियो । लेख्ने स्वतन्त्रताको उपयोग गर्दै केही क्रान्तिकारीहरूले गुप्तरूपमा डिसेम्बर आन्दोलनको इतिहास र संस्मरण लेख्न थाले । तर, सन् १८४१ मा गुप्त समाजको इतिहास र उद्देश्यबारे लेखेको अभियोगमा बागी लुनिनलाई दोस्रो कठोर निर्वासनमा पठाइयो । त्यो देखेर अन्य केही क्रान्तिकारीहरूले आफूले लेख्दै गरेका संस्मरणहरू पनि लुकाए वा नष्ट गरे ।
सन् १८५३ मा क्रिमियाको युद्ध सुरु भयो । त्यसमा पराजित भएको पीडाले सन् १८५५ मा जार निकोलसको मृत्यु भयो । नयाँ जार अलेक्सान्दर दोस्रो राजगद्दीमा बसे । रूसमा आर्थिक र सामाजिक सुधार नहुनाले नै बेलायत र फ्रान्सको आधुनिक सेनासँग पराजित हुनुपरेको निष्कर्ष निस्कियो । त्यसैले नयाँ राजाको आगमनसँगै राजनीतिक वातावरण केही खुकुलो बन्यो ।
१८५६ अगस्टमा साइबेरियामा निर्वासित क्रान्तिकारीहरूलाई आममाफीको घोषणा गरियो । त्यतिबेलासम्म उनीहरूमध्ये आधाभन्दा बढी क्रान्तिकारीको साइबेरियामै मृत्यु भइसकेको थियो । युरोपेली रूस फर्केका क्रान्तिकारीहरूमाथि गुप्ती प्रहरीको कडा निगरानी कायमै थियो । डिसेम्बर विद्रोहबारे लेख्ने र प्रकाशन गर्ने छुट उनीहरूलाई थिएन । यसरी विद्रोहको ३० वर्षसम्म पनि सामान्य रूसी जनता सन् १८२५ मा भएको डिसेम्बर विद्रोह कसले र के उद्देश्यले गरेको थियो भन्ने विषयमा झन्डै बेखबर थिए ।
‘ध्रुवतारा’ बुलेटिन
यही अन्धकारको समयमा टाढा बेलायतको लन्डन सहरमा एउटा दियो बल्यो । सन् १८५५ मा ‘ध्रुवतारा’ नामक एक रूसी भाषाको बुलेटिन प्रकाशित भयो । त्यो बुलेटिन ‘स्वतन्त्र रूसी प्रेस’ नामको प्रकाशन संस्थाले गरेको थियो । पहिलो अङ्कमै बुलेटिनमा डिसेम्बर विद्रोहबारे उपलब्ध सूचनाका आधारमा विस्तृत चर्चा गरिएको थियो । गातामा डिसेम्बर विद्रोहपछि फाँसी दिइएका पाँचजना सहिदहरूको आकृति कोरिएको थियो ।
विद्रोहको ३० वर्षपछि रूसी पाठकलाई लक्षित गरी क्रान्तिकारी कोणबाट पहिलोपल्ट डिसेम्बर विद्रोहबारे विस्तृत विवरण प्रकाशित भयो । ‘ध्रुवतारा’ गुप्त बाटोबाट रुसका विभिन्न सहरमा पुग्यो । त्यसले नयाँ पुस्ताका रुसी युवाहरूमा क्रान्तिकारी ऊर्जा थप्ने काम गर्यो । बुलेटिनका सम्पादक रूसी क्रान्तिकारी अलेक्सान्दर हर्जेन थिए । उनी लन्डनमा स्वनिर्वासनमा बसेका थिए । ‘स्वतन्त्र विचार राख्ने रूसी दाजुभाइहरूमा समर्पित’ स्वतन्त्र रूसी प्रेसमा हर्जेनकै लगानी थियो । सो संस्थाको स्थापना सन् १८५३ मा लन्डनमा भएको थियो ।
‘ध्रुवतारा’ बुलेटिनमार्फत हर्जेनले रूसमा रहेका उदारवादी र क्रान्तिकारीहरूलाई डिसेम्बर आन्दोलनबारे सूचना, लेख र संस्मरणहरू पठाउन खुला आह्वान गरे । रूसी पाठकलाई नै लक्षित गरी हर्जेनले क्रान्तिकारी निकोलाई ओगारियोभको सहयोगमा अर्को पत्रिकाको प्रकाशन सुरु गरे । सन् १८५७ देखि ‘ध्रुवतारा’ बाहेक ‘घण्टा’ नामक समाचारमूलक नियमित पत्रिका निस्कियो । स्वतन्त्र रूसी प्रेसलाई रूसको कुनाकुनाबाट चिट्ठीहरू आउन थाल्यो । ‘ध्रुवतारा’ र ‘घण्टा’ ले रूसीहरूको स्मृतिबाट विलुप्त हुन लागेको पहिलो पुस्ताका क्रान्तिकारीहरूको विद्रोहलाई फेरि रूसको घर–घरमा पु¥याइदियो । डिसेम्बर विद्रोहबारे नखुलेका रहस्यका धेरै पाटा बिस्तारै खुल्दै गए । ती क्रान्तिकारीहरूको देशप्रेम, स्वतन्त्रताप्रतिको लगाव, दृढता र त्यागका कथाहरूले नयाँ पुस्ताका रूसी युवाहरूबिच एउटा नौलो क्रान्तिकारी वातावरण सिर्जना गर्यो ।

हर्जेनको कथा
अलेक्सान्दर हर्जेनलाई रूसमा समाजवादी विचार भित्याउने क्रान्तिकारी विचारक मानिन्छ । डिसेम्बर विद्रोहको नेतृत्व गरेका खानदानी युवाहरू फ्रान्सेली क्रान्तिको संवैधानिक व्यवस्था, मानवीय समानता र भ्रातृत्वको भावनाबाट प्रभावित थिए । कानुनीराज स्थापना गरी सबै मानिसलाई आर्थिक उन्नति गर्ने स्वतन्त्रता दिएपछि समाज स्वतः न्यायपूर्ण दिशामा अगाडि बढ्छ भन्ने दृष्टिकोणमा उनीहरू एकमत थिए । फ्रान्सेली क्रान्तिपछि आधा शताब्दीको पश्चिम युरोपेली अनुभवले उदारवादी प्रजातन्त्रले आमजनताभन्दा पुँजीपतिहरूको मात्र सेवा गर्ने कुरा प्रस्ट भइसकेको थियो । बुर्जुवावर्ग (पुँजीपतिवर्ग र मध्यमवर्ग) लाई आम जनताको स्वतन्त्रताभन्दा आफ्नो सम्पत्तिको सुरक्षा प्यारो थियो । सन् १८४८ मा युरोपका विभिन्न देशमा भएका क्रान्तिकारी आन्दोलनहरूको असफलताले यो तथ्य साबित गरिसकेको थियो । डिसेम्बर विद्रोहबाट प्रभावित हर्जेन र ओगारियोभजस्ता युवाहरू समाजवादी विचारकहरूतर्फ आकर्षिक थिए । रूसमा किसान कम्युनहरूको जगमा नयाँ खालको समाजवादी व्यवस्था स्थापना गर्न सकिने हर्जेनको विश्वास थियो । त्यसकारण, हर्जेनलाई रूसमा सन् १८८० को दशकमा विकास भएको नारोदनिक आन्दोलन र त्यसको जगमा विकास भएको सामाजिक क्रान्तिकारी पार्टीका वैचारिक पिता पनि मानिन्छ ।
हर्जेनको जन्म नेपोलियनले रूसमा आक्रमण गर्नुभन्दा केही महिनाअघि १८१२ अप्रिलमा मस्को सहरमा भएको थियो । उनका पिता मस्कोका धनी जमिनदार थिए । माता साधारण जर्मन परिवारबाट आएकी शिक्षित महिला थिइन् । हर्जेनकी आमा खानदानी परिवार थिइनन् । त्यसैले, सानोमा हर्जेनले धेरै हेला र अपमान सहनुप¥यो । यस्तो वातावरणमा उनको मनमा सानैदेखि रूसको सामाजिक व्यवस्थाप्रति नकारात्मक भावना फस्टायो । यद्यपि, उनका पिताले उनको शिक्षामा कुनै कमी आउन दिएनन् । घरमै जर्मन, फ्रान्सेली र रूसी शिक्षकहरूमार्फत हर्जेनले प्रारम्भिक शिक्षा पाए ।
डिसेम्बर विद्रोह हुँदा हर्जेन १३ वर्षका किशोर थिए । विद्रोहबारे घरानियाँ परिवारहरूमा खासखुस हुने परिचर्चाबारे उनी जानकार थिए । घरमा पढाउन आउने शिक्षकहरूमार्फत हर्जेनले रिलेयेभ र पुश्किनका क्रान्तिकारी कविताहरू पढ्ने मौका पाए । उनलाई पढाउने एक फ्रान्सेली शिक्षक फ्रान्सेली क्रान्तिको क्रान्तिकारी धार ज्याकोबिनका समर्थक थिए । तिनै शिक्षकमार्फत हर्जेनले फ्रान्सेली क्रान्तिबारे जानकारी पाए । हर्जेन फ्रान्सेली क्रान्तिबाट प्रभावित थिए । डिसेम्बर विद्रोहका क्रान्तिकारीहरूले जस्तै उनी पनि भूदास प्रथालाई घृणा गर्थे । उनी आफ्नो परिवारको स्वामित्वमा रहेका भूदासहरूसँग असल व्यवहार गर्थे । डिसेम्बरवादी नेताहरू हर्जेनका आदर्श व्यक्तित्व बने । किशोर उमेरमै उनले आफ्नो जीवनलाई उच्च र पवित्र उद्देश्यको निम्ति समर्पित गर्ने सङ्कल्प लिएका थिए । निकोलाई ओगारियोभ उनका मिल्ने साथी थिए । ओगारियोभ पनि हर्जेनजस्तै मस्कोका धनी जमिनदारका छोरा थिए र डिसेम्बर विद्रोहबाट प्रभावित थिए । एक दिन साँझको बेला दुवै किशोर मस्कोको एउटा थुम्कोमा (पछिको लेनिन डाँडा) पुगे । त्यहाँ उनीहरूले आफ्नो सम्पूर्ण जीवन स्वतन्त्रताको लडाइँमा समर्पित गर्ने कसम खाए । त्यो कसम उनीहरूले जीवनभरि पालन गरे ।
१७ वर्षको उमेरमा हर्जेन मस्को विश्वविद्यालयमा प्रकृति विज्ञान विषयमा भर्ना भए । विश्वविद्यालयमा उनले आफूजस्तै क्रान्तिकारी विचार राख्ने युवाहरूको सानो समूह बनाए । सन् १८३० मा फ्रान्सको पेरिसमा भएको जुलाई विद्रोह र वार्सामा भएको पोलियाली विद्रोहको समाचारले उनीहरू उत्साहित बने । विश्वविद्यालय अध्ययनको अन्त्यतिर उनीहरूले रूसमा भर्खरै प्रसार भइरहेको सेन्ट साइमन र चाल्र्स फ्युरिएका समाजवादी विचारहरूबारे जानकारी पाए । फ्रान्सेली क्रान्तिपछि युरोपमा उदारवादी व्यवस्था असफल हुँदै गयो । त्यो व्यवस्थालाई निन्दा गर्दै सेन्ट साइमनले मान्छेले मान्छेलाई गर्ने शोषण निमिट्यान्न पार्नुपर्ने र त्यसको लागि समाजवादी समाज निर्माण गर्नुपर्ने बताए । उनको विचारबाट हर्जेन औधी प्रभावित भए । तर, समाजवादमा राज्यको बलियो भूमिका हुनुपर्ने सेन्ट साइमनको तर्कमा हर्जेन सहमत भएनन् । बरु, चाल्र्स फुरिएले भनेजस्तै व्यक्तिगत अगुवाइ र मजदुरहरूको स्वतन्त्र सहकार्यमा निर्माण हुने आदर्श समाज बढी व्यवहारिक हुने उनको मत थियो । त्यसको बीउ उनले रूसी ग्रामीण क्षेत्रमा चलिरहेको ओब्सचिना (किसान कम्युन) मा देखेका थिए । हर्जेनले फ्रान्स र पोल्यान्डमा भएका विद्रोहको असफलताको कारण खोतले । क्रान्तिकारीहरूले सत्ता प्राप्त गरेर मात्र नपुग्ने बरु समाज परिवर्तनको योजना पनि साथमा हुनुपर्ने उनले अनुभव गरे । हर्जेनको विचारमा रूसमा समाजवाद स्थापना गर्न सबभन्दा पहिला भूदासहरूलाई जमिनदारको खेतमा गरिने बाध्यात्मक श्रमबाट मुक्त गरेर स्वतन्त्र किसान बनाउनुपथ्र्याे । त्यसपछि किसान कम्युनमार्फत सम्पूर्ण किसानलाई जीविकोपार्जन गर्न पुग्ने जमिन बाँड्नुपथ्र्याे । किसान कम्युनहरूमा राज्यको प्रत्यक्ष हस्तक्षेप हुनुहुन्न भन्ने उनको धारणा थियो ।
सन् १८३३ मा हर्जेनले विश्वविद्यालय शिक्षा पूरा गरे । हर्जेनको युवा अध्ययन समूह निरन्तर चलिरह्यो । एक वर्षपछि सो समूह गुप्ती प्रहरीको निसानामा प¥यो । गुप्ती प्रहरीले हर्जेन, ओगारियोभलगायतका क्रान्तिकारी युवालाई ‘सामाजिक सुव्यवस्थाको निम्ति खतरनाक विचार बोक्ने स्वतन्त्र विचारक’ करार गयो । जारविरोधी गतिविधिमा सामेल भएको अभियोगमा उनीहरूलाई टाढाका जिल्लाहरूमा निर्वासित गर्यो । निर्वासनको अन्त्यतिर हर्जेनले द्वन्द्ववादी दर्शनका प्रवर्तक हेगेलका कृतिहरूको अध्ययन गरे । युरोपका वामपन्थी हेगेलवादीहरूले जस्तै हेगेलको द्वन्द्ववादी विचारले क्रान्तिको नौलो बाटो खोलेको हर्जेनले देखे । हेगेलको दर्शन क्रान्तिको बीजगणित हो भन्ने हर्जेनले निष्कर्ष निकाले । यही समयमा जर्मनीमा कार्ल माक्र्स हेगेलको द्वन्द्ववादी दर्शनलाई भौतिकवादी जगमा अड्याउनुपर्ने निचोडमा पुग्दै हुनुहुन्थ्यो । सन् १८४२ मा निर्वासनको आठ वर्ष पुग्यो । हर्जेन सजायमुक्त भए । सरकारले उनलाई राजधानी पिटर्सबर्गमा बस्ने अनुमति दियो । तर, जार निकोलसको स्वेच्छाचारी शासन, गुप्ती प्रहरीको निरन्तर निगरानी र प्रकाशनमा रहेको सेन्सरका कारण उनले त्यहाँ उकुसमुकुस अनुभव गरे । उनले रूसको बसाइँ अर्थहीन बुद्धिविलासमा खेर जाने देखे । पिताको मृत्युपछि पाएको सम्पूर्ण जायजेथा बेचेर सन् १८४७ मा हर्जेन सपरिवार पश्चिम युरोप स्वनिर्वासनमा गए । सन् १८४८ मा युरोपमा क्रान्तिकारी उभार आयो । त्यसबेला उनी पेरिसमा थिए । क्रान्तिको विफलताले उनी वैचारिक अन्योलमा परे । तर, जारको तानाशाहीविरुद्ध सङ्घर्ष गर्ने उनको दृढता कहिल्यै डगमगाएन ।
इटाली, फ्रान्स हुँदै सन् १८५२ मा हर्जेन बेलायतको लन्डनमा स्थायीरूपमा बस्न थाले । त्यहाँ उनले ‘स्वतन्त्र रूसी प्रेस’ को स्थापना गरे । विभिन्न प्रकाशनमार्फत रूसमा जारशाहीविरुद्ध भूदास प्रथाको अन्त्य र समाजवादको पक्षमा जनमत निर्माणमा महत्वपूर्ण भूमिका खेले । ५७ वर्षको उमेरमा सन् १८७० मा पेरिसमा उनको मृत्यु भयो ।
अलेक्सान्दर हर्जेनको सयौँ जन्मदिवसको अवसरमा लेनिनले लेख्नुभएको छ, “हर्जेन खानदानी र जमिनदार वर्गबिच जन्मेका क्रान्तिकारी पुस्ताका एक सदस्य हुन् । डिसेम्बर विद्रोहले उनलाई जगायो । आफ्नो जमानाका उनी महान् विचारक थिए । उनी हेगेलको द्वन्द्ववाद, फायरबाखको भौतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादसम्म पुगेका थिए । तर, ऐतिहासिक भौतिकवादसम्म पुग्नुअगावै उनी रोकिए । त्यसकारण, हर्जेन सन् १८४८ को युरोपेली क्रान्तिको पुँजीवादी चरित्रबारे सचेत भएनन् र क्रान्तिको असफलतापछि वैचारिकरूपमा विचलित बने । त्यसबेला उनी एक प्रजातन्त्रवादी, एक क्रान्तिकारी र एक समाजवादी थिए । तर, उनको समाजवाद त्यसबेला अगाडि आएका अनेकौँ किसिमका समाजवादजस्तै बुर्जुवा र निम्न पुँजीवादी समाजवाद थियो । बुर्जुवा प्रजातन्त्रवादीहरूको क्रान्तिकारी चरित्र स्खलित हुँदै गरेको र सर्वहारा समाजवादीहरूको क्रान्तिकारी चरित्र अझै नछिप्पिसकेको त्यो युगको एक स्वाभाविक पात्र थिए अलेक्सान्दर हर्जेन ।”
लेनिन थप्नुहुन्छ, “हर्जेनले विदेशमा स्वतन्त्र प्रेस खडा गरेर रूसी आन्दोलनलाई महान् सेवा पु¥याए । ‘धु्रवतारा’ ले डिसेम्बरवादी भावनालाई निरन्तरता दियो भने ‘घण्टा’ ले भूदास मुक्तिको झन्डा उँचो फहरायो ।” यसरी शासकहरूले इतिहासको पानाबाटै मेटाउन खोजेको डिसेम्बर विद्रोहलाई रूसी जनतासामु ल्याउन र प्रगतिशील विचार राख्ने कुलीन युवाहरूको भित्री छलफलमा सीमित क्रान्तिकारी आन्दोलनलाई व्यापक जनतामा फैलाउन हर्जेनले महत्वपूर्ण भूमिका खेलेको प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *