भर्खरै :

अन्धराष्ट्रवाद र बडा राष्ट्र अहंकारवाद फासीवादकै रुप

भक्तपुर, १ पुस । प्रतिनिधिसभाको लागि भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई चाँगुनारायण नपाका विभिन्न वडाहरुमा स्थानीय जनताले अभिनन्दन गर्ने क्रम चालु छ । शनिबार बिहान चाँगुनारायण नपाको वडा नं ७ बागीश्वरीमा स्थानीय जनताले विजय जुलुस र सभा आयोजना गरी सांसद सुवाललाई सम्मान व्यक्त गरे ।
धाँजुत्वबाट बाजागाजा सहित शुरु भएको विजय जुलुस बागीश्वरी हेल्थपोष्ट पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारमा गएका राजनीतिक दलहरुले थे्रसहोल्ड जस्तो अप्रजातान्त्रिक बन्दोबस्त लादेर नेपालको प्रजातन्त्रलाई कमजोर बनाएको विचार व्यक्त गर्नुभयो ।
उहाँले संसदमा सांसदहरुले उठाएका जनपक्षीय मुद्दालाई सरकारले तदारुकताका साथ लागु गर्नुपर्ने विचार राख्दै जनताका समस्याहरु इमान्दारीका साथ संसदमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्धराष्ट्रवाद र बडा राष्ट्र अहंकारवाद फासीवादकै रुप भएको धारणा राख्दै उहाँले भारतमा मोदी नेतृत्वको फासीवादी शासनले त्यहाँका कामदार जनतामाथि दमन गरिरहेको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ का लागि नेमकिपाका उम्मेदवार नीरज लवजूले कथित वामपन्थी गठबन्धनको सरकारले संविधा संशोधन प्रस्ताव पारित गराउन खोजे उनीहरुबीचको गठबन्धन भारतीय शासक वर्गकै योजनामा बनेको ठहर हुने बताउनुभयो । उहाँले देशहित विपरीतको संविधान संशोधन प्रस्तावविरुद्ध फेरि पनि जनताले सडक र सदनमा सङ्घर्ष गर्नुपर्ने समय आउन सक्ने बताउनुभयो ।
अर्जुन काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका नारायणबहादुर दुवाल, बाबुकाजी नाय्जू, रामबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
शनिबार नै चाँगुनारायण नपाको वडा नं ९ ताथलीमा पनि विजय जुलुस तथा सभा भयो । ब्रम्हायणीबाट सयौं युवाहरुको सहभागितामा शुरु भएको जुलुस ताथलीका विभिन्न स्थानमा पुगेर नेमकिपाका केन्द्रीय सचिव तथा नवनिर्वाचित सांसद प्रेम सुवालले स्थानीय जनतालाई मादल चिन्हमा मतदान गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो ।
सो क्रममा ठाउँ ठाउँमा स्थानीय जनताले पुष्पमाला र दही मुछेको टिका लगाई सुवालको स्वागत गरेका थिए ।
फैढोकामा आयोजित सभामा सभासद् सुवालले जनताका न्यायपूर्ण मुद्दाको पक्षमा लड्न आफू सधैं तत्पर रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *