यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशका विदेशी दलालहरू, ठुलठुला उद्योगपति र व्यापारीहरू समाजवादी अवधारणा या व्यवस्थाबाट तर्सिनु अस्वाभाविक होइन । कतिपय दलका नेताहरूलाई समाजवादउन्मुख अवधारणा पनि मन परेको थिएन । उनीहरू समाजवादी सिद्धान्त या अवधारणाकै कारण निजी क्षेत्र तर्सिरहेको बताउँछन् । उनीहरूले समाजवादी नीतिका कारण नर्सिङ क्याम्पसहरू धेरै डुबेको, निजी क्षेत्रलाई निरुत्साहित गर्ने, जेल हाल्ने, डर देखाउने, धम्काउने वातावरण सिर्जना भएको भन्न भ्याए । कुनै नक्कली या व्यवहारतः पुँजीपतिवर्गको पक्षपोषण गर्ने कम्युनिस्ट भनिने नेताहरूको कमीकमजोरीको कारण भएको अस्तव्यस्त, अन्योल र सङ्कटलाई आधार मानेर समाजवादी सिद्धान्त नै गलत हुन्छ भन्नु दृष्टिदोष हो । समाजवादी अर्थ नीति लागु होला निजी क्षेत्रको लगानी डुब्ला भनेर चिन्ता व्यक्त गर्नु कतिको न्यायोचित होला ?
सरकारले संविधानमा उल्लेख भएअनुसार समाजवादउन्मुख समाजमा रुपान्तरण गर्ने नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो; तद्नुसार बजेट आउनुपथ्र्यो । समाजवादउन्मुख राज्य बनाउन सरकारले क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्छ; देश र जनताको दैनिक जीवनसँग गाँसिएका ठुलठुला कलकारखाना, संस्थान सामाजिकीकरण या राष्ट्रियकरण गर्नुपर्छ । खानेपानी संस्थानहरू निजीकरण गर्नु ठीक होइन । नेपाली नागरिकले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनुपर्छ । समतामूलक समाज निर्माणको लागि नेपाली नागरिकको सम्पत्तिको सीमा निर्धारण गरिनुपर्छ । राज्यको संरचनामा जनसङ्ख्याको आधारमा मजदुर र किसानको सहभागिता हुने व्यवस्था हुनुपर्छ । यस दिशामा जाने काम न नेका सम्मिलित माओवादी सरकारले ग¥यो न त एमाले सहभागी भएको माओवादीको सरकारले ग¥यो । त्यो काम एमालेको नेतृत्वमा बनेको सरकारले पनि गरेन ।
समाजवादी व्यवस्थामा निजी क्षेत्रले लगानी गर्न पाउँदैन† निजी क्षेत्रले व्यापार, व्यवसाय गर्न पाउँदैन भन्ने होइन । समाजवादी व्यवस्थामा त राष्ट्रिय पुँजीपतिवर्गलाई स्थान दिन्छ, विदेशी दलाल या विदेशी पुँजीपतिवर्गलाई होइन । देशमा जनताका लागि आवश्यक कलकारखाना, उद्योगहरू राष्ट्रिय पुँजीपतिवर्गलाई स्थान दिनुपर्ने कुरा कम्युनिस्ट पार्टीले उठाइरहेको विषय भुल्नु हुँदैन । पछाडि पारिएका क्षेत्र तथा शोषितपीडित जनतालाई अगाडि बढाउन अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्ने र व्यक्तित्व विकासमा समान अवसर दिनुपर्ने कुरा के गलत हो ? स्थानीय तहलाई विकेन्द्रीकरण र स्वायत्तता प्रदान गर्ने, देशको ५० प्रतिशत बजेट स्थानीय तहमार्फत विकास निर्माण गर्न दिने, सबै नागरिकलाई रोजगारको सुनिश्चितता दिने र योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था गर्ने कुरा के गलत हो ?
समाजवादी देशमा अरु दल खोल्न पाउँदैन या अरु दललाई निषेध गर्छ भन्ने कुरा पनि होइन । समाजवादी देशमा व्यक्तिलाई भन्दा समुदाय या सामूहिक कुरालाई जोड दिनु स्वाभाविक हो । नर्सिङ कलेज बन्द हुनु, विश्वविद्यालयमा विद्यार्थी घट्नु या विदेशी विश्वविद्यालयहरू चल्नुको कारण कम्युनिस्ट सिद्धान्त र विचार होइन । समाजवादी देशमा त झन् यस्ता नर्सिङ, मेडिकल, विश्वविद्यालयहरूलाई प्राथमिकता दिइएको हुन्छ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई शिक्षाको देश त्यसै भनिएको होइन । त्यहाँ शिशु स्याहार केन्द्र र शिशुशालाहरू हजारौँ हजार छन् । प्रजग कोरियामा सांस्कृतिक, वैचारिक र औद्योगिक क्रान्ति गरेर देशले विकास गरेको हो । चीन आज संसारकै विकास भएको देशमा गनिन्छ ।
हो, देशमा राजनीतिक अस्थिरता छ; अराजकता बढ्दो छ । भ्रष्टाचार र अनियमितता बढेको छ । जसको तरबार उसको दरबार भनेझैँ देशको या सार्वजनिक सम्पत्ति व्यक्तिले कब्जा गर्दै छ । समाजवादी देशमा यस्तो गर्न दिँदैन, गर्न पाउँदैन । मुलुक समृद्ध बनाउने या ध्वस्त बनाउने भन्ने कुरा शासकहरूको हातमा हुन्छ । अतः हरेक दलका नेताहरू आदर्शवान्, चरित्रवान हुनुपर्छ । नेताहरूको नैतिकतामा ¥हास भयो र जसरी भए पनि कमाउने प्रवृत्ति भयो भने देश बन्दैन । अहिले देशमा भाँडभैलो भइरहेको छ; अस्तव्यस्त भइरहेको छ; देश झन्झन् परनिर्भर हुँदै गइरहेको छ । यसको कारण समाजवादी सिद्धान्त र मान्यता होइन, दलगत र व्यक्तिगत स्वार्थ हो या पुँजीवादी बन्दोबस्त नै हो ।
Leave a Reply