भर्खरै :

मित्रकुञ्जको टोलीद्वारा भक्तपुर नगर अवलोकन

मित्रकुञ्जको टोलीद्वारा भक्तपुर नगर अवलोकन

भक्तपुर, ६ जेठ । सोभियत सङ्घ र रसियाबाट उच्च शिक्षा हासिल गरी फर्केका रसिया, चीन, बङ्गलादेश, भारत, मङ्गोलिया र भियतनामका विज्ञहरूको छैटौँ एसियन भेटघाट सम्मेलन नेपालमा आइतबार सम्पन्न भयो ।
मित्रकुञ्जको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरूले आइतबार भक्तपुर नगरको सम्पदा क्षेत्रहरूको भ्रमण गरेका थिए । करिब ५० जनाको अन्तर्राष्ट्रिय विज्ञहरूको भ्रमण टोलीहरूलाई भक्तपुर नगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो । भक्तपुर दरबार क्षेत्र (लायकु) ढोकामा नगरपालिकाको प्रकाशनसहित भादगाउँले कालो टोपी, खादा र परम्परागत नेवारी थैली उपहार प्रदान गरी स्वागत गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूको निर्देशन र सक्रियता, स्थानीय जनताको सहयोग र कर्मचारीहरूको दृढता र कर्तव्यबोधले यहाँको कला, संस्कृति र सम्पदा संरक्षण, अस्पताल र शैक्षिक संस्था निर्माणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विज्ञ विदेशी तथा स्वदेशी पाहुनाहरूलाई स्वागत र भक्तपुर नगर भ्रमणको व्यवस्था गरेकोमा मित्रकुञ्जका नहेन्द्र प्रधानले धन्यवाद दिँदै भक्तपुर नगरपालिकाले विदेशी पाहुनाहरूलाई अवलोकन गराउन लायकको सांस्कृतिक नगरको रूपमा विकास गरिरहेकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा चीन, बङ्गलादेश, मङ्गोलिया र रसियाका टोली नेताहरूले पनि भक्तपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै उपहार प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *