भर्खरै :

भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन

भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन

भक्तपुर, ६ जेठ । नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भनपा–१० बेखालस्थित बेखाल टेबुलटेनिस कभर्ड हलको नवनिर्मित भवनको रिबन काटी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि सुवालले खेलकुद क्षेत्रमा भ्रष्टाचार भइरहेकोमा चिन्ता व्यक्त गर्दै सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कुनै कार्यक्रम नभएको बताउनुभयो । राजनीति कहिल्यै फोहोर नहुने उल्लेख गर्दै उहाँले देश र जनताको इमानदारीपूर्वक राजनीति गर्नेहरु बेइमान व्यक्तिहरूको चरित्र फोहोर भएकोले देशको राजनीति फोहोर भएको बताउनुभयो । राजनीति जनताको सेवा गर्ने अवसर रहेको चर्चा गर्दै उहाँले पुँजीवादी देशमा उत्पादनका साधनहरू सीमित व्यक्तिको कब्जामा रहने र जनताले दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिबाली र बेखालमा गरी ३ वटा कभर्ड हल भएको जानकारी दिँदै भनपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न सफल भएको र हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरू सम्मान गर्दै आएको बताउनुभयो । उहाँले खेलाडीहरू अनुशासित हुनुपर्नेमा जोड दिँदै खेलाडीहरू देश र जनताको हक हित तथा खेल क्षेत्रमा नमुना बनाउन खेलकुद विकासमा सक्रिय भूमिका खोल्नुपर्ने बताउनुभयो । देशको सार्वभौमसत्ता जोगाउन र देशको राजनैतिक विषयमा पनि उनीहरु जानकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्रअनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै कार्य गरिरहेको चर्चा गर्दै खेल शारीरिक तथा बौद्धिक विकासको निम्ति अपरिहार्य भएको बताउनुभयो । उहाँले भक्तपुर नपाले विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूबिच नियमितरूपमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
वाग्मती प्रदेश सभाका सांसद सृजना सैंजुले कभर्ड हल निर्माणले खेल जगतमा नयाँ पुस्तालाई आकर्षण गर्ने बताउँदै खेल मित्रताको लागि हो भन्नुभयो । खेलकुदले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बताउँदै खेलकुद राजनीतिशास्त्र र कूटनीतिशास्त्रसँग पनि जोडिएको छ भन्नुभयो । राज्यले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नसकेको चर्चा गर्दै उहाँले खेलकुद पूर्वाधारमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य सराहनीय रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपालीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै कार्य गरिरहेको ज्वलन्त उदाहरण भएको बताउँदै सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने काम भनपाले अगाडि बढाइरहेको चर्चा गर्नुभयो ।
अखिल नेपाल टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द वैद्यले कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रूपमा विकास गर्न सकिने बताउँदै खेलाडीहरूले समाज परिवर्तनको लागि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुरमा टेबुलटेनिसको लोकप्रियता बढ्दै गएको चर्चा गर्नुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाले हरेक वर्ष उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गर्दै आएको स्मरण गर्दै प्रत्येक वडामा खुला व्यायामशालाको व्यवस्था र नगरभित्रका विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको बन्दोबस्त गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा र भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *