सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी निर्धारित थियो । बैठक बिहान ११ः३२ बजे सुरू गरियो । नेकाका सांसदहरूले गृहमन्त्री लामिछानेप्रति सङ्केत गर्दै सभामुखको अगाडि पुगेर ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी ठगलाई कारबाही गर’, ‘जबरजस्ती गर्न पाइँदैन’, ‘संसदीय मर्यादा कायम गर’, ‘गुन्डागर्दी बन्द गर’ आदि नारा लगाए । राप्रपा, जसपा नेपाल (उपेन्द्र), लोसपा (महन्थ), राजमो (चित्रबहादुर केसी) का सांसदहरू पनि आफ्ना स्थानमा उभिए र नेकालाई साथ दिए । सभामुख देवराज घिमिरेले प्रम पुष्पकमल दाहालद्वारा संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुने हुँदा नेकाका सांसदहरूलाई आफ्ना स्थानमा बस्न आग्रह गर्नुभयो । नेकाको नारा चालु रहेको हुँदा बिहान ११ः४३ बजे बैठक १५ मिनेटको लागि स्थगित गरियो ।
अपराह्न १२ः१२ बजे बैठक पुनः सुरू भयो । नेकाका सांसदहरू आफ्ना स्थानमा पुनः उभिए । सभामुखले प्रम दाहाललाई संसद्को विश्वास लिने प्रस्ताव पेस गर्न समय दिनुभयो । नेकाका सांसदहरू सभामुखको अगाडि पुगेर नारा लगाए । सभामुखको निर्देशनअनुसार मर्यादापालकहरूले प्रम दाहाललाई रोस्ट्रममा पुग्ने सुरक्षा प्रदान गरे । मर्यादापालक प्रहरी पनि सयौँको सङ्ख्यामा थिए ।
प्रम दाहालले पहिलो पटकको विश्वासको मतमा नेका र एमालेसमेतको २६८ मत पाएको, दोस्रो पटकको विश्वासको मतमा नेकासहितको १७२ मत पाएको, तेस्रो पटक एमालेसमेतको १५७ मत पाएको उल्लेख गर्दै चौथो पटक पनि विश्वासको मत पाउने अपेक्षा गर्नुभयो । प्रम दाहालले जसपा नेपाल उपेन्द्र यादवले आफूलाई दिएको विश्वासको मत फिर्ता लिएपछि संसद्को समर्थन प्राप्त गर्न प्रस्ताव पेस गरेको उल्लेख गर्नुभयो ।
सभामुखले प्रम दाहालको प्रस्तावमा छलफल गर्न एक घण्टाको समय निर्धारित गरेको जानकारी दिनुभयो र छलफलमा बोल्न चाहनेहरूको नाम दलीय आधारमा प्राप्त भएको उल्लेख गर्नुभयो ।
एमालेका विष्णु पौडेलले पर्दा भित्रबाट सरकार परिवर्तनको प्रयास भएको माकुरोको जालोको रूपमा च्यातिएपछि संसद्मा नेकाको अवरोधको प्रतिक्रिया देखिएको बताउँदै एमालेले प्रम दाहाललाई समर्थन गर्ने उल्लेख गर्नुभयो ।
नेकाको संसद् अवरोध लोकतन्त्रविपरीत र बचकना भएको उल्लेख गर्दै एमालेका पौडेलले प्रमलाई विश्वासको मत दिएर राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुखले अन्य राजनीतिक दलका सांसदहरूलाई प्रमको प्रस्तावबारे बोल्न समय दिनुभएन र सोझै प्रम दाहाललाई संसद्मा उठेका प्रश्नको जवाफ दिन समय दिनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बोल्नको लागि हात उठाउँदै सचिवालयका कर्मचारीहरूको ध्यानाकर्षण गराउनुभयो । कर्मचारीहरूले सभामुखलाई सांसद सुवाल बोल्न तयार भएको सूचना दिनुभयो । तर, सभामुखले सांसद सुवाललाई बोल्न समय दिनुभएन र प्रम दाहाललाई जवाफ दिन लगाउनुभयो ।
नेकाका सांसदहरूको नारा चालु थियो । प्रम दाहालले नेकालाई सङ्केत गर्दै नारा लगाएको धेरै गलत भएको आरोप लगाउँदै आफूले नेकालाई पटक पटक साथ दिएको तर नेकाले आफूलाई विश्वासको मत प्राप्त गर्न अवरोध गरेको हुँदा नेकाले धेरै चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
सभामुखले ५ मिनेट घण्टी बजाई मत विभाजन गराउनुभयो । प्रम दाहालको प्रस्तावको पक्षमा १५७, विपक्षमा शून्य र तटस्थमा १ मत परेको थियो । पक्षमा एमाले, एकीकृत समाजवादी, जसपा (अशोक राई), नाउपा, आम जनता पार्टी (प्रभु) साह), स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलसमेतको मत परेको थियो । जनमत (सीके राउत) ले विपक्षमा बसे पनि प्रस्तावको समर्थनमा मत दिएको थियो । एमाले, माओवादीले प्रदेश २ मा जनमतलाई मुख्यमन्त्री दिने तयारी गरेको समाचार छ । सांसद सुवालले प्रस्तावमा ‘मत दिन्न’ पक्षमा मत दिनुभयो । बहुदल र गणतन्त्रको ३५ वर्षको अवधिमा सरकार र प्रमुख प्रतिपक्षीको स्थानमा पालैपालो बसेका नेका, एमाले, माओवादीलगायत पार्टीबाट देश र जनताको हितमा एउटा उल्लेखनीय काम नभएको हुँदा नेमकिपाले ‘मत दिन्न’ पक्षमा मत दिएको थियो । जसपा नेपाल यादव नेतृत्वको पार्टीबाट फुटेका जसपा अशोक राईका ७ जना सांसदलाई प्रमको प्रस्तावमा मत हाल्न दिन नहुने उजुरी यादव पक्षले सर्वोच्चमा दर्ता गराएको थियो । सो मुद्दाको फैसला नआउँदै प्रम दाहालले हतारहतार विश्वासको मत लिएको देखियो । प्रतिनिधिसभाको बैठक जेठ ८ गते बिहान ११ बजे बस्नेछ ।
प्रमुख विपक्षीको नारा लागिरहेको बेला संसद्को कारबाही यस अगाडि पनि बढेको थियो । नेका र माओवादीको सरकारले एमसीसी सम्झौता संसदको बहुमतबाट पारित गराउँदा एमाले माधव नेपालसहित सांसदहरूको निष्काशन माग गरिरहेको थियो । संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्नेजस्तो हुने पुनः पुष्टि भयो ।
आज आरोप–प्रत्यारोपमा लागेको नेका, एमाले र माओवादीको गतिविधि कुनै पनि क्षणमा बदलिने सम्भावना छ । दुई महिनाअघि नेका र माओवादी एकातिर थिए भने एमाले, रास्वपा र राप्रपा अर्कोतिर थिए । सिद्धान्तहीन निर्वाचन गठबन्धनबाट आएका शासक पार्टीहरूको सत्ता गठबन्धनमा कुन पार्टी कोसँग मिल्ने हो अनुमान बाहिर होइन ।
प्रम दाहालले विश्वासको मत पाएसँगै सङ्घमा नाउपाका रञ्जिता श्रेष्ठ पुनः मन्त्री हुने र प्रदेश २ मा सिके राउतको पार्टीका मुख्य मन्त्री हुने ढोका खुलेको समाचार छ । यदि यो ढोका खुलेन भने प्रम दाहालले छिट्टै पाँचौँ पटक विश्वासको मत लिनुपर्ने वा राजीनामा दिएर घर बस्नुपर्ने हुन्छ । पहिलो दल नेका र दोस्रो दल एमालेको असक्षमताको कारण माओवादीको हातमा सरकारको नेतृत्व पुगेको बताउनेहरू पनि धेरै छन् । केही दिनअघि नेकासँग मिलेर उपेन्द्र यादव र माधव नेपालसमेत पालैपालो प्रधानमन्त्री हुने तयारी गरिएको थियो । उपेन्द्र यादवको पार्टी फुटेपछि उपेन्द्र र माधवको प्रधानमन्त्री हुने प्रयास माकुरोको जालोजस्तै च्यातिएको एमालेको दाबी रहेको छ ।
Leave a Reply