भर्खरै :

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु

तेहरान, २० मे (एएनआई) । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रेस टीभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरू मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको छ ।”
इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसम (बाक्लो हुस्सु) का कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो ।
इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ । केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन् ।
रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित गरिएको थियो । सीएनएनका अनुसार फुटेजमा ठाडो जङ्गली पहाडमा दुर्घटनामा परेको हेलिकप्टरको निलो र सेतो पुच्छरभन्दा बाहेक सबै भाग जलेको वा क्षतिग्रस्त भएको देखिन्छ ।
दुर्घटनास्थलको सम्भावित दिशा घोषणा भएपछि उद्धार टोली तुरुन्तै तोकिएको स्थानमा गएको भए पनि हेलिकप्टर फेला नपरेको तस्निम न्युजले वर्जेकानबाट जानकारी गराएको हो ।
उत्तरपश्चिम इरानमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति रायसीसहित तीन उच्चपदस्थ सरकारी अधिकारी, एक जना इस्लाम धर्मगुरू र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौ जना सवार रहेको तस्निम न्युजले उल्लेख गरेको छ ।
मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।

इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली, भारत, २० मे (एएनआई) । युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, यूएई, कतार, दक्षिण अफ्रिकालगायत देश र सङ्गठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठुलो क्षति भएको बताउनुभएको छ ।
राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इरानी राष्ट्रपति रायसीको दुःखद निधनले इरानी जनताका लागि ठुलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एक जना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताउनुभएको छ ।
पुटिनले भन्नुभयो, “रायसी एक उत्कृष्ट राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको सम्पूर्ण जीवन आफ्नो मातृभूमिको सेवामा समर्पित थियो ।”
पुटिनद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, “रूसको एक सच्चा मित्रको रूपमा उहाँले हाम्रो देशसँग एक असल छिमेकीको सम्बन्धको विकासमा व्यक्तिगतरूपमा उहाँले अमूल्य योगदान गर्नुभएको थियो ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।
“उहाँको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । “दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।”
भारत र इरानबिच ऐतिहासिकरूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । अमेरिकी प्रतिबन्धका बाबजुद पनि विश्वको प्रमुख अर्थव्यवस्था भारतले इरानबाट धेरै वर्षदेखि ठुलो मात्रामा तेल आयात गर्दै आएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ ।
राष्ट्रपति रायसी र उहाँका साथीहरूको मृत्युप्रति शोक व्यक्त गर्न र इरानको राष्ट्रिय शोकको यस घडीमा ऐक्यबद्धता जनाउन पाकिस्तानले सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । उक्त दिन पाकिस्तानले आफ्नो राष्ट्रिय झन्डालाई आधा झुकाउनेछ शहबाजले ट्वीटरमा लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *