भर्खरै :

उच्च अदालतमा असान्जको विजय

उच्च अदालतमा असान्जको विजय

मे २१ गते लन्डनको शाही अदालतसामु उभिएका जुलियन असान्जका जुझारु समर्थकहरू उच्च अदालतको निर्णय सुन्न आतुर थिए । असान्जलाई संरा अमेरिका सुपुर्दगी गर्न नहुने उच्च अदालतको फैसला सुनेपछि भिडमा हर्षोल्लास छायो । अमेरिका सुपुर्दगी गरेको खण्डमा असान्जलाई १७५ वर्ष कैद सजाय हुने थियो ।
असान्जमाथि मुद्दा चलाउन उनलाई अमेरिका सुपुर्दगी गरेको खण्डमा अमेरिकी संविधानको प्रथम संशोधन कानुनअनुसार वाक् स्वतन्त्रताको हक दिइनेछ भनी अमेरिकी सरकारले आश्वासन दिएको थियो । तर, बेलायतका केही वरिष्ठ न्यायाधीशहरूले त्यो आश्वासन स्वीकारेनन् ।
न्यायाधीशहरूले असान्जलाई अमेरिका पठाउनु सुरक्षित हुन्छ–हुँदैन, एक विदेशी नागरिकको रूपमा अमेरिकामा उनीसँग विभेद हुनसक्छ–सक्दैन अथवा अमेरिकी संविधानमा उल्लेख वाक् स्वतन्त्रताको हकबाट उनलाई वञ्चित गरिन्छ–गरिन्न भन्ने विषयमा स्पष्ट हुन पूर्ण सुनुवाइमा जाने आदेश दिए ।
अदालती बहसमा असान्जका वकिलहरू एड फिट्जेराल्ड र मार्क समर्सले उच्च अदालतको अघिल्लो इजलासले निवेदन गरेको अमेरिकी सरकारको आश्वासन अत्यन्त अस्पष्ट हुनाले त्यसमाथि भर पर्न नसकिने तर्क राखेका थिए ।
फिट्जेराल्डले न्यायाधीश जोन्स्टन र डेम भिक्टोरिया शार्पलाई अमेरिकी सरकारको वक्तव्य ‘अस्पष्ट र अपुग’ भएको बताए ।
अमेरिकाका कठोर सरकारी वकिल मानिने जेम्स लेविसले त्यस तर्कलाई काट्न कुनै प्रयास गरेनन् । उनले अदालतलाई असान्जलाई प्रथम संशोधन कानुनअनुसार अपिल गर्ने अधिकार हुने कुरा मात्र राखे । तर, अमेरिकी सरकारले त्यो हक दिने नै छ भनी उनले दाबी गर्न सकेनन् । उनको अनुहार पापीहरूलाई पृथ्वीमै स्वर्ग पाउनुपर्छ भन्ने ‘अधिकार’ त छ तर त्यो प्रदान नै गरिनेछ भन्ने ग्यारेन्टी भने छैन भनी घोषणा गर्ने व्यक्तिको जस्तो देखिन्थ्यो ।
हुन पनि लेविसले प्रथम संशोधन कानुनप्रतिको अमेरिकी सरकारको प्रतिबद्धता दुनियाँभरका सबै मानिसका लागि होइन भनी स्पष्ट सङ्केत गरे । ‘घटना विदेशी भूमिमा भएको, राष्ट्रिय सुरक्षाका विषयहरू जोडिएको र प्रतिवादी विदेशी नागरिक भएको खण्डमा’ त्यो कानुन लागु नहुन सक्नेप्रति उनले ध्यान आकृष्ट पारे । यति लम्बेतान कुरा गर्नुभन्दा ‘जुलियन आसन्जजस्ता अभियुक्तको हकमा’ भनेको भए पुगिहाल्थ्यो ।
न्यायाधीशहरूले कुरा बुझिहाले । २० मिनेटको विश्रामपछि उनीहरूले असान्जलाई यी सबै कुरा पूर्ण सुनुवाइमा लाने अनुमति भएको आदेश दिए । यसरी उनको मुद्दा अझै पनि बेलायती अदालतमा चलाइरहने र उनलाई तत्काल अमेरिका सुपुर्दगी गर्नबाट रोकिने भयो ।
संरा अमेरिका असान्जका वकिलहरूलाई प्रथम संशोधनको आत्मबचाउको प्रावधान उपयोग गर्नबाट रोक्न चाहन्छ । किन ? कुरा स्पष्ट छ । त्यो प्रावधान उपयोग गर्न पाएको खण्डमा उनीहरूले अमेरिकी कारबाही वाक् स्वतन्त्रताको हनन हुने, साथै अफगान र इराक युद्ध एवम् ग्वान्टानामो कारागारको कठोर व्यवस्थाबारे विकिलिक्सले खुलासा गरेका तथ्यहरू सर्वसाधारण जनताको हितमा रहेको तर्क गर्ने निश्चित छ ।
छोटकरीमा, असान्जका वकिलहरूले विकिलिक्स सार्वजनिक हितको पत्रकारितामा संलग्न थियो भन्ने तर्क राख्नेछन् । यो तर्कले असान्जमाथि अमेरिकाले लगाएका आरोपहरू खण्डन गर्न पर्याप्त हुनेछ । सन् १९१७ को अमेरिकाको सुराकी कानुनलाई पहिलोचोटि एक पत्रकारविरुद्ध प्रयोग गरेर अमेरिकाले असान्जलाई गुप्तचर पुष्टि गर्न खोज्दै छ ।
अमेरिकी गुप्तचर संस्था सीआइएका पूर्वप्रमुख माइक पोम्पेओले विकिलिक्स ‘गैरसरकारी, आक्रामक, गुप्तचर निकाय’ हो भनी आरोप लगाउनुको तात्पर्य यही हो ।
असान्जको मुद्दामा अमेरिकाले ठुलो जोडबल लगाउनुको कारण यही हो । संरा अमेरिकाले खोज पत्रकारितालाई गुप्तचरीको रूपमा पुनः परिभाषित गर्न सकेको खण्डमा उसले आफ्नो सुराकी कानुनलाई विदेशमा पनि विस्तार गर्दै लग्नेछ । उसले कुनै पनि गैरअमेरिकी पत्रकारलाई आफ्नो देशबाहिर जुनसुकै देशमा प्रकाशित भएको सामग्रीका लागि पनि मुद्दा हाल्नेछ । संसारको जुनसुकै कुनाको पत्रकार पनि अमेरिकाको चङ्गुलबाट जोगिन सक्ने छैन ।
यसले गर्दा सुरुदेखि नै असान्जको मुद्दा अत्यन्त राजनीतिक मुद्दा बन्न पुगेको छ । त्यसकारण, पनि असान्जबारे बेलायतमा भएको पछिल्लो फैसला राजनीतिक हुनसक्ने सम्भावना धेरै छ ।
राष्ट्रपति बाइडेनले असान्जको मुद्दामा आफ्नो सरकारले पकड गुमाउन सक्ने विषयमा पहिल्यै सङ्केत गरेका छन् । डोनाल्ड ट्रम्पले मुक्तिवादी सोचका आफ्ना दक्षिणपन्थी समर्थकको मन जित्न बेलाबखत असान्जप्रति सहानुभूति देखाउँदै आएका छन् । असान्ज अमेरिका लगे त्यो अलोकप्रिय कदम हुने कुरा झन्झन् स्पष्ट हुँदै छ । बाइडेन र ट्रम्प दुवै यस्तो पाइला चाल्न चाहन्नन् किनभने राष्ट्रपतिको चुनाव आँगनमै छ ।
त्यसैले यो नोभेम्बरभन्दा अगाडि असान्जलाई एटलान्टिक सागर पार गराएर अमेरिका पु¥याउनुपर्ने विषयमा ठूलो राजनीतिक दबाब नपरेको हुनसक्छ । त्यसैले बेलायती अदालतलाई अझ केही समय असान्जलाई बेलायतमै झुलाउन दिनु बाइडेनको न्याय मन्त्रालयको लागि हानिकारक हुनेछैन ।
बेलायती उच्च अदालतको निर्णय त्यो हदसम्म नियोजित थियो वा थिएन अर्को पाटो हो । तर, अमेरिकी पराजय आफैमा तर्कसङ्गत छ ।
अदालतमा जेम्स लेविसको अस्वाभाविक हडबडले निश्चय नै अभियोजक पक्षले मुद्दामा रुचि नै नगुमाएको भए पनि कम्तीमा आफ्ना तर्कबल गुमाएको स्पष्ट भएको छ ।
अब कम्तीमा पनि अमेरिकी सरकारले अर्को कानुनी पहाड उक्लिनुपर्ने भएको छ ।
त्योभन्दा महत्वको कुरा बेलायती अदालतको पछिल्लो फैसलाका कारण असान्ज र उनको समर्थनमा चलिरहेको अभियानले अझ बढी समय पाएको छ । अमेरिकी मनोबल कमजोर भइरहेको र असान्जप्रतिको समर्थन बढिरहेको बेला अमेरिकी शासकहरूको व्यापक राजनीतिक चाहना तथा अदालती प्रक्रियाका आवश्यकताबिच अन्तर्विरोध देखापरेको छ ।
प्रेस स्वतन्त्रताका अभियन्ताहरूलाई समय चाहिएको थियो । अदालतको निर्णयले जुलियन असान्जलाई बेल्मार्शको कठोर कारागारमा छैटौँ वर्ष थुनिने मूल्य चुकाएरै सही ती अभियन्ताले थप समय पाएका छन् ।
अभियन्ताहरूले थप समय पाउनुको अर्थ असान्जको रिहाइका लाथि थप दबाब सिर्जना गर्न सक्नु हो । अस्ट्रेलिया सरकार र जर्मन चासलरले यसअघि नै असान्जको रिहाइको माग गरिसकेका छन् । ल्याटिन अमेरिकाका धेरै नेताले पनि असान्जको पक्षमा आवाज उठाइसकेका छन् । बेलायत, युरोप र अमेरिकामै विरोध चुलिँदै छ ।
अदालतबाहिर सक्रिय अभियन्ताहरू प्राप्त थप समयलाई असान्जको अमेरिका सुपुर्दगी खारेज गराउने लडाइँमा उपयोग गर्न प्रतिबद्ध देखिन्छन् ।
(एमआर अनलाइनबाट । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *