भर्खरै :

गलत सिद्धान्त र विचार बोक्ने दलले क्रान्ति नगर्ने

माक्र्सवादका मूलभूत सिद्धान्तलाई नमान्नु र यसको सार्वभौम सत्यलाई नकारात्मकरूपले हेर्नु या कार्यान्वयनतर्फ नलागी अर्कै बाटोमा लाग्नु संशोधनवाद हो । संशोधनवाद पुँजीवादी विचारधाराकै एक हाँगा हो । संशोधनवादीहरू समाजवाद र पुँजीवादबिच रहेको भिन्नतालाई अस्वीकार गर्छन् । यस अर्थमा उनीहरू समाजवादका पक्षपाती होइनन् । यसकारण, उनीहरू पुँजीवाद या पुँजीवादी व्यवस्थाको प्रशंसा गर्छन्; लोकतन्त्र नै सर्वोत्कृष्ट व्यवस्था हो; यसको विकल्प छैन भनी बखान गर्छन् । सरकारमा रहेका एमाले र माओवादी त्यही बाटोमा लागेका छन् । अवसरवादी र संशोधनवादी भएकै कारण उनीहरूले कम्युनिस्ट आन्दोलन छोडे, समाजवादी विचार छोडे, पुँजीवादी व्यवस्थाको सरकारको नेतृत्व गर्न उनीहरू सिद्धान्त र विचार पनि बन्धक राख्न पुगे । संशोधनवादी र अवसरवादीहरू मुखमा र कागजमा मात्र माक्र्सवादी देखिए । यो यथार्थमा जनतामाझ गरिएको झूटको राजनीति हो; त्यो एक प्रकारको बेइमानी हो ।
पार्टीको विधानमा माक्र्सवाद र लेनिनवाद पार्टीको मार्गनिर्देशक सिद्धान्त माने पनि उनीहरू वास्तवमा भौतिकवाद र द्वन्द्ववादको विरोध गर्छन्† समाजवादी सिद्धान्त र विचारको विरोध गर्छन् या बेवास्ता गर्छन् या कमजोर पार्छन् । उनीहरू पुँजीवादी व्यवस्थाभित्र रहेर, पसेर देशमा समाजवाद स्थापना गर्ने या बिनासङ्घर्ष समाजवादी क्रान्ति गर्ने कुरा फुक्छन् । यो अर्को उनीहरूको झूटको राजनीति हो । सच्चा कम्युनिस्टहरूले आफ्नो राजनीतिक उद्देश्य र दृष्टिकोण भुल्दैनन् । उनीहरू आफ्नो उद्देश्य पूरा गर्न हरपल लागिरहन्छन्; जनतामाझ पुगिरहन्छन्; राजनीतिक ज्ञान बाँड्छन् र जनतालाई सचेत र सङ्गठित गर्छन् । सङ्गठित शक्ति र सङ्घर्षविना देशमा परिवर्तन सम्भव छैन । २०३६, २०४६ र २०६२/६३ सालको जनआन्दोलन यसको दृष्टान्त हो । नेपालको सन्दर्भमा अहिले समाजवाद र पुँजीवादबिच वैचारिक सङ्घर्ष भइरहेको छ । अतः कम्युनिस्ट पार्टीले समाजवाद र पुँजीवादबिचको भेदबारे जनतामा जानकारी दिनैपर्छ । सरकारमा रहेको कम्युनिस्ट भनिने दलका नेता, मन्त्री र सांसदहरूले त्यो काम गरिरहेका छैनन् । पुँजीवादको पक्षपोषण गर्ने दलका नेताहरू, पुँजीवादी व्यवस्थामा रमेर सङ्घर्षको कुरा गर्ने नेताहरू कम्युनिस्ट होइनन् । उनीहरूले समाजवादी सिद्धान्त र विचार भुलेका छन्; छोडेका छन् ।
क्रान्तिकारी पार्टी हो होइन मुखले होइन व्यवहारले थाहा हुन्छ । क्रान्तिकारी पार्टी भनेको जनताको पथप्रदर्शक हुनुपर्छ† गलत बाटोमा लाग्ने, सिद्धान्त र विचार भुल्ने दलले क्रान्ति गर्दैन या क्रान्तिको बाटो रोज्दैन । क्रान्तिको बाटो नरोज्नुका अनेक कारणहरूमध्ये दलको नेतृत्व गर्ने, दलका केन्द्रीय सदस्यहरू, मन्त्री र सांसदहरू पुँजीपति, जमिनदार, शोषक, सामन्त, जालीफटाहा, कमिसनखोर, भ्रष्टाचारी, कालाबजारी, अनियमित गरेर आय आर्जनमा लाग्नु पनि हो । शत्रुहरू आफूखुसी सत्ता छोड्दैनन्; जहाँ कुचो पुग्दैन, त्यहाँको कसिङ्गर आफै बिलाउँदैन । देशमा शोषक, सामन्त, जमिनदार, प्रतिक्रियावादी, जालीफटाहाहरू पनि भएको हुँदा समाज वर्गमा विभाजित छ भनिएको हो । वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य हुन्छन् । यसकारण वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ भनिएको हो ।
चिनियाँ नेता माओ त्सेतुङले भनेका थिए, क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना, माक्र्सवाद–लेनिनवादी सिद्धान्तविना शत्रुलाई पराजित गर्न सक्दैन । सरकारमा गएका कम्युनिस्ट भनिने दलहरूको अन्तिम उद्देश्य नै पुँजीवादी व्यवस्थामा रहेर सुधार गर्नु रहेको छ; स–साना सुधारलाई नै उनीहरू परिवर्तन ठान्छन् र समाजवादउन्मुख कार्य भएको उद्घोष गर्छन् । यो गलत विचार हो । कम्युनिस्टप्रति आस्था र विश्वास राख्ने भन्ने तर, परिवर्तनको निम्ति सङ्घर्ष आवश्यक छैन भनी बोध गर्ने दलका नेताहरू सच्चा कम्युनिस्ट होइनन् भन्ने कुरा व्यापक जनताले बुझ्नु जरूरी छ । कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहेका दललाई जनताले छान्नुपर्छ, त्यस्तो दलप्रति समर्थन र ऐक्यबद्धता जनाउनुपर्छ । देशमा परिवर्तन गर्ने र नगर्ने कुरा जनताकै हातमा हुन्छ । नेमकिपा जनतालाई राजनीतिक चेतना जगाउने, सचेत र सङ्गठित गर्ने अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *