भर्खरै :

बजेट संसद्मा प्रस्तुत हुन्छ कि अध्यादेश जारी हुन्छ ?

बजेट संसद्मा प्रस्तुत हुन्छ कि अध्यादेश जारी हुन्छ ?

काठमाडौँ, १३ जेठ । बिहान ११ बजे निर्धारित प्रतिनिधिसभाको बैठक अपराह्न १२ बजे सुरु गरियो । नेकाका सांसदहरूले आ–आफ्नो स्थानमा उभेर बैठक अवरोध गर्नुभयो । प्रमुख विपक्षीको तर्फबाट राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछाने विपक्षीमा हुँदा छानबिन समितिको पक्षमा लागेको तर सत्ता पक्षमा पुगेपछि छानबिन समितिको विपक्षमा लागेको उल्लेख गर्दै सहकारीको रकम ज्वाइँको नामबाट कृष्णसार रेष्टुराँमा लगानी गरेका राप्रपाका सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएजस्तै सरकारले उस्तै काममा संलग्न गृहमन्त्री लामिछानेमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
संसद् अवरोधमै अर्थमन्त्री वर्षमान पुनले बैठकमा आर्थिक सर्भेक्षण २०८०।८१ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१ पेस गर्नुभयो ।
आव २०८०।८१ को नीति–कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले आफ्नो संशोधन फिर्ता नलिने जानकारी गराउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी आफ्नो स्थानमा उभिएर नेकाको संसद् अवरोधलाई साथ दिनुभयो । उहाँले सहकारी ठग रवि लामिछानेलाई सत्ता पक्षले काखी च्यापेकोमा विरोध गर्दै आफ्नो संशोधन बैठकमा प्रस्तुत नगर्ने जानकारी गराउनुभयो ।
एमालेका विष्णु पौडेल र माओवादीका जनार्दन शर्माले नीति–कार्यक्रमलाई समर्थन गर्नुभयो । रास्वपाका स्वर्णिम वाग्लेले नेकाको संसद अवरुद्धप्रति खेद प्रकट गर्नुभयो ।
जसपा (अशोक) का सांसद वीरेन्द्रप्रसाद महतोले देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुगेको बताउनुभयो ।
नेकपा (एस) ले नीति–कार्यक्रममा नबोलेको हुँदा प्रश्न खडा गरिएको छ ।
संसद्को कार्य तालिकाअनुसार जेठ १५ गते अपराह्न १ बजे संयुक्त बैठकमा अर्थमन्त्री पुनले आव २०८१।८२ को बजेट पेस गर्नुहुनेछ । सोही दिन अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
बैठक लगत्तै नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष केपी ओलीको कार्यकक्षमा भेटघाट गर्न पुग्नुभयो । नेका–माओवादीको समीकरणको बेला एक वर्ष प्रधानमन्त्री पाउने अपेक्षामा रहेका माधव एमाले–माओवादीको समीकरणपछि बेठेगान हुनुभएको हो । संसद्मा ओली–माधवको अलग भेट पहिलो भएको हुँदा जेठ १५ अघि माधवलाई प्रधानमन्त्रीको प्रत्याभूति पाउने वा नेकपा एसको प्रधानमन्त्री दाहाललाई दिइएको समर्थन फिर्ता हुनेबारे थप चर्चा छ । बिहान प्रम दाहालले नेका सभापति देउवा निवास पुगेर छलफल गरे पनि सहमति नजुृरेको बताइन्छ ।
रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउने एजेन्डासहित संसद अवरोधमा लागेको नेका पछि हट्ने र जेठ १५ गते संसद्मा बजेट प्रस्तुत हुने बताउनेहरू पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *