‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
आणविक युद्ध र हतियारको डर देखाएर शान्ति भङ्ग गर्दै संसारलाई तर्साउने साम्राज्यवादी संरा अमेरिकाको पतन अवश्यम्भावी छ । संसारका न्यायप्रेमी, शान्तिप्रेमी र देशभक्त जनता अमेरिकी साम्राज्यवादी नीतिको विरोधमा एकजुट हुँदै छन्; त्यसको विरोधमा प्रदर्शन गर्दै छन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा मात्र होइन आफ्नै देशका जनतालाई पनि दुःख दिइरहेको अमेरिकी साम्राज्यवादको अन्त्य हुनुपर्ने मागसहित संसारका जनता आन्दोलित छन् । हरेक ठाउँमा मनपरी गर्दै, कुल्चँदै अघि बढिरहेको अमेरिकी साम्राज्यवाद संसारबाट एक्लिँदै छ । अमेरिकी आक्रमण, हस्तक्षेप र दबाबको विरोधमा एसियाली, अफ्रिकाली र ल्याटिन अमेरिकी जनताको बढ्दै गएको आन्दोलन कसैले रोकेर रोक्न सकिँदैन । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएझैँ एक्काइसौँ शताब्दी साम्राज्यवादको अन्त र समाजवादको युग हुनेछ ।
संसारका न्यायप्रेमी जनता शान्ति चाहन्छन् । शान्ति नचाहने, स्वाधीन र सार्वभौम देश र जनतालाई बम खसालेर खरानी पार्ने युद्ध पिपासुहरूको विरोधमा संसारमा जनमत बढ्दै छ । संरा अमेरिका र उसको पछि लाग्ने साम्राज्यवादी र पुँजीवादी पिछलग्गूहरू हतियार बिक्री गर्न युद्ध निम्त्याउँछन्; देश देश जुधाएर आफू सधैँ अमेरिका प्रथम हुने जाल रच्छन्; जाल रचिरहेका छन् । संरा अमेरिकाले युक्रेनलाई हतियार र आर्थिक सयोग गरेर रुसविरुद्ध युद्ध छेडेको हो; इजरायलले प्यालेस्टिनमा बम वर्षा गरेर प्यालेस्टिन सहर नै ध्वस्त पार्दै छ । अमेरिकी संसद्ले नै हतियार सहयोग गर्ने निर्णय गरेर संसारका जनतालाई आतङ्कित पार्दै छ । अमेरिकाले संसारमा गरिरहेको यही आतङ्कले गर्दा संसारका शान्तिप्रेमी, न्यायप्रेमी, देशभक्त र समाजवादी पक्षधर देशका शासक र जनता आन्दोलित भएका छन् । यसको ज्वलन्त उदाहरण अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनमा बम खसालेर प्यालेस्टिन ध्वस्त बनाएपछि, ४० हजारभन्दा बढी प्यालेस्टिनी जनतालाई खरानी बनाएपछि अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलियालगायत संसारका लाखौँ लाख जनताले अमेरिका र इजरायलको विरोध गर्नु हो ।
सहर ध्वस्त गर्दै नरसंहार गर्ने उक्त बर्बरतापूर्ण आक्रमण र हमलाको विरोधमा संसारका जनता एक थोपा रगत र सास रहुञ्जेल लडिरहने छन् । सङ्घर्ष सफल या विजय नहोउञ्जेल आन्दोलन रोकिने छैन । कुनै दिन साम्राज्यवादी देशहरूको हार भए पनि या विश्वबाट एक्लिए पनि साम्राज्यवादीहरू फेरि पनि मरेको सर्पको पुच्छर चलिरहन्छ भनेझैँ प्रतिशोध गर्न फेरि फेरि अनेक षड्यन्त्र बुनिरहन्छन् भन्ने कुरा व्यापक जनताले बुझ्नुपर्छ† संसारका समाजवादीहरू सधैँ चनाखो भइरहनुपर्छ । अहिले चीनले विश्वमा शान्ति छर्दै, विकासमा साथ दिँदै विश्वका देश र जनताको विश्वास जित्दै छ । चीन संसारको शक्तिशाली, सुदृढ, सम्पन्न देश बन्दै छ । यही चिन्ताले अमेरिका छटपटिँदै छ । चीनले गरेको प्रगति रोक्न र संसारमा आफ्नो प्रभुत्व कायम राख्न अमेरिकाले व्यापार युद्ध गरेको हो; अरु देशलाई उचालेर देश–देशबिच युद्ध गराउने जाल बुन्दै छ । अमेरिकाले ताइवानलाई उचालेर चीनविरोधी गतिविधि गर्ने र ताइवानी जनता र सरकारलाई चीनको विरोध गराउन हतियार र आर्थिक सहयोग गर्ने काम गरिरहेको छ भारतलाई हातमा लिएर भारत–चीनबिच द्वन्द्व गराउने काममा पनि अमेरिकाले षड्यन्त्र बुनिरहेको छ । देशभक्त, शान्तिकामी जनतालाई सताउने साम्राज्यवादी देशको नरसंहारविरुद्ध क्रान्तिकारी र देशभक्त जनता अवश्य उठ्नेछन् । रुसमा जारले र चीनमा च्याङ काइ शेकले क्रान्तिकारी जनतामाथि गरेका अनेक अत्याचारविरुद्ध रुस र चीनका क्रान्तिकारी जनता लडे र देशलाई स्वाधीन बनाए । उनीहरू समाजवादी देश बनाउन सफल भए । चिनियाँ जनताका नेता अध्यक्ष माओ त्सेतुङले त्यतिबेलै भन्नुभएको थियो, “साम्राज्यवाद धेरै समयसम्म टिक्नेछैन; अमेरिकी साम्राज्यवादले गरेका सबै आक्रमण र अत्याचारको विरोधमा संसारका जनता उठ्नेछन् र आक्रमण र अत्याचार खतम गर्नु संसारका न्यायप्रेमी जनताको अभिभारा हो ।” त्यो दिन साँच्चै अहिले नजिकिँदै छ । समाजवादका शक्तिहरू साम्राज्यवादका शक्तिहरूभन्दा बढ्ता शक्तिशाली हुँदै छन्; पूर्वेली हावाले पश्चिमी हावालाई जितिरहेको छ । क्युवामाथि भइरहेको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने सवालमा पनि अमेरिका एक्लिएको छ । यसरी आक्रामक, शान्तिविरोधी र नरसंहारकारी देश संसारबाट एक्लिँदै छ; संसारका जनता उसको विरोधमा उत्रेका छन् । यो साम्राज्यवादी देश अमेरिकाको पतनको सङ्केत हो ।
Leave a Reply