रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
यतिबेला नेपाल मजदुर किसान पार्टीको वडा र नगर सम्मेलनहरू भइरहेका छन् । सम्मेलन नयाँ नेतृत्व चयन गर्ने विधि र प्रक्रिया हो । सम्मेलनले गलत व्यक्तिलाई नेतृत्वमा पु¥यायो भने त्यसले पार्टीलाई दीर्घकालीन असर पार्नेछ । यसर्थ, पार्टी विधान र अनुशासनलाई पालना गर्ने तथा पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने सक्षम साथीहरूलाई नेतृत्वको जिम्मेवारी दिनु अहिलेको आवश्यकता हो ।
पार्टी सङ्गठनभित्र विभिन्न प्रकारका सदस्यहरू रहन्छन् । कोही कोही साथीहरू प्रकाशमा आउन रुचाउँछन् । पार्टी नेतृत्वले ‘एउटै टोकरीमा सबै अण्डा राख्न नहुने’ कुरा बारम्बार सम्झाइरहँदा पनि केही साथीहरू त्यसलाई बेवास्ता गर्छन् । राम्रा राम्रा कार्यकर्ताहरूलाई सम्पत्तिझँै सुरक्षित राख्नुपर्छ भन्ने बुझ्दैनन् । त्यस्ता कार्यकर्ताहरू जुलुसको अग्रपङ्क्तिमा बस्ने, मञ्चमा भाषण गर्न अघि सर्र्नेे र कार्यक्रमहरूमा फोटोमा आउन रुचाउने गर्छन् । पार्टीले त्यसो नगर्न निर्देशन दिँदा पनि हाकाहाकी उल्लङ्घन गर्न पछि पर्दैनन् । दिइएको महत्वपूर्ण जिम्मेवारीलाई तुच्छ ठानेर अरूका प्रकाशनहरूमा लेखहरू छापेर चर्चामा आउन खोज्छन् । पार्टीले दिएको जिम्मेवारी पूरा नगर्ने क्षमता भएका ती साथीहरूलाई कसरी राम्रो र असल कार्यकर्ता मान्न सकिन्छ ?
हाम्रा केही साथीहरू धनी परिवारमा जन्मेकै कारण उनका सन्तानहरूलाई शत्रुझँै व्यवहार गर्छन् । त्यो राम्रो होइन । को के हो भन्ने कुरा उसको व्यवहार र साथ सङ्गतबाट थाहा हुन्छ । सामन्त वा धनी परिवारमा जन्मनेबित्तिकै सामन्त हुने भए विश्व सर्वहारावर्गका महान् गुरु एङ्गेल्स कम्युनिस्ट पार्टीको नेता बन्न सम्भव हुने थिएन । त्यसो त नेमकिपाका अध्यक्ष रोहित स्वयम् धनी परिवारमा जन्मेर पनि कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहनुभएको छ । साथै उहाँ सिद्धान्तअनुसारको व्यवहार गर्ने इमानदार, कर्तव्यनिष्ठ र देशभक्त कम्युनिस्ट नेताको पर्याय बन्नुभएको छ ।
किसान परिवारमा जन्मेर व्यापार व्यवसायका कारण छोटो समयमा आर्थिकरूपमा सम्पन्न भएका साथीहरू पनि छन् । सम्पत्तिकै कारण उनीहरू आफूलाई माथिल्लो दर्जाका ठान्छन् । तिनीहरू पार्टी निर्माणका लागि दुःख गरेका साथीहरूलाई हेला र घृणाको भावले हेर्न पनि पछि पर्दैनन्् । २–४ वटा घर, महँगा गाडी, ठाउँ ठाउँमा घडेरी जोड्न पाएको र छोराछोरीहरू महँगा विद्यालय र कलेजमा पढाउन सकेकोमा उनीहरू जीवनको सफलता ठान्छन् । उनीहरू नेपाल मजदुर किसान पार्टीका अगुवाहरूले मोहियानी हक संरक्षण, बाली काट्ने आन्दोलन र भर्पाई आन्दोलन गरेका कारण जग्गामा आधा हक सुरक्षित भएबाट आर्थिक सुधार भएकोबारे बुझ्ने कोसिस गर्दैनन् । नेमकिपा नभएको भए भक्तपुरका जनताको जीवन स्तर आजको अवस्थामा पुग्न सम्भव थिएन ।
त्यसो त किसानका धेरै छोराछोरीहरूले डाक्टर, इन्जिनियर र अन्य धेरै विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेका छन् । यी सबै राजनैतिक कार्यकर्ताहरूको योगदानका फल हुन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले २०५६ सालमा १५ वर्षभित्र ‘एक घर एक स्नातक’ को घोषणासँगै भनपाले ख्वप कलेजहरू खोल्यो । घर घरमा स्नातक र स्नातकोत्तरहरू भए । शैक्षिकरूपमा आमूल परिवर्तन भयो । पार्टी नेतृत्व, कार्यकर्ताहरू र जनताबिचको एक मनको एकताले नै यो सम्भव भएको हो ।
कतिपयले त पार्टी नीतिअनुसार नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरू नै ‘आफ्नो दिमागको उपज’ भन्दै फलाक्ने र बहुलापन पनि देखाए । ख्वप कलेजहरू स्थापनाका विषयमा शून्य जानकारी भएका तर तलब खाएर काम गरेकाहरू नै समय समयमा त्यसरी बर्बराउने गरेका हुन् । तिनीहरू हजारौँ जनताको योगदानलाई अवमूल्यन गर्न खोज्दै छन् ।
अहिले वर्ग शत्रु र मित्र छुट्याउन पनि असहज हुँदै छ । पहिले जग्गा धनीहरूले किसानलाई जग्गाबाट निष्कासन गर्न खोज्दा सबै किसानहरू एक भएर जमिनदारको विरुद्ध सङ्घर्ष गर्थे र मोहियानी हक सुरक्षित गर्थे । तर, अहिले धनी किसान परिवारले नै अर्को किसानलाई जग्गाबाट निष्कासन गर्न खोजेका थुप्रै उदाहरणहरू छन् । पहिले जग्गा धनीले मोही निष्कासन गर्दा गलत हुन्थ्यो भने अहिले त्यही काम किसान परिवारले गर्दा कदापि उचित हुनसक्दैन । त्यसैले, गलत कामविरुद्ध आन्दोलन गर्ने सङ्घर्षशील भावना कायम राख्नुपर्छ । वर्ग शत्रु र मित्र जात र पेसाले होइन उसको कामको आधारमा छुटिन्छ ।
केही साथीहरू चुनावको बेला खुबै खट्छन् तर अरू बेला भने निष्कृय बस्छन् । उनीहरू नेमकिपाको सङ्घ र प्रदेशमा ४—५ सीट बढी र स्थानीय तहमा २–४ वटा पालिकाहरूमा जित्न पाए हुन्छ भन्ने सोच राख्छन् र चुनाव परिणामपछि कम स्थानमा जितेकोमा निराशा व्यक्त गर्छन् । पार्टीले चुनावलाई हार–जितभन्दा वर्गसङ्घर्षको रूपमा प्रयोग गर्दै आएको भन्ने उनीहरू बुझ्दैनन् । पुँजीवादी व्यवस्थामा निर्वाचनमा पैसाको खोला बगाउने, गुण्डा र प्रशासनको दुरूपयोग गर्ने, भोजभतेर गर्ने र झूटा आश्वासन दिएर जनतालाई भ्रममा पारेर चुनाव जित्नेबारे पनि बुझ्दैनन । नेमकिपाले समाजवादी आन्दोलनलाई अगाडि बढाउन प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार चुनावलाई उपयोग गर्दै आएको भन्नेबारे सबै साथीहरूले बुझ्नु आवश्यक छ ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा धम्क्याएर करोडौँ चन्दा उठाउने क्रममा भक्तपुरका केही व्यापारीलाई पनि ४०–५० लाखसम्म चन्दा दिन माओवादीहरूले दबाब दिएका थिए । ती धनाढ्य व्यापारीहरू माओवादीको डरले ४—५ लाखसम्म चन्दा दिन तयार पनि थिए । नेमकिपा समर्थक भन्ने बुझेपछि माओवादीले चन्दा माग्ने आँट गरेनन् । तर, आश्चर्यको कुरा त्यस्ता व्यापारीहरूले नेमकिपाको पार्टी सम्मेलन वा कार्यक्रममा २—४ हजार चन्दा दिन पनि दाँतबाट पसिना बगााउनुजत्तिकै गा¥हो माने । त्यस्तालाई कुन दृष्टिले हेर्ने ?
पश्चिम नेपालका दैलेख, कालीकोट, जुम्लालगायतका नेमकिपाका कार्यकर्ताहरूले माओवादीसँग धेरै पटक सैद्धान्तिक सङ्घर्ष गरे । माओवादीलाई सहयोग नगरेकै कारण पार्टी कार्यकर्ताका परिवारले धेरै दुःख पाए । माओवादीको कुटपिट र धम्की नपाएको घर नै छैन कि जस्तो लाग्छ । तापनि, उनीहरूको गलत नीतिको आलोचना गर्न नेमकिपाका कार्यकर्ताहरू कहिल्यै पछि परेनन् । बन्दुकको भाषा मात्र बुझ्ने सैद्धान्तिकरूपमा कमजोर माओवादीहरू नेमकिपाका वैचारिकरूपमा खारिएका कार्यकर्ताहरूसित सैद्धान्तिक बहसमा टिक्न सकेनन् । अन्ततः दैलेख जिल्लामा नेमकिपाका नेता, कार्यकर्ता र शुभचिन्तकहरूबाट चन्दा नउठाउनु भनी माओवादीले लिखित निर्देशन नै जारी गर्नुपर्यो । बन्दुकको शक्तिभन्दा विचारको शक्ति कति सशक्त र बलियो हुँदो रहेछ भन्ने त्यो एक उदाहरण हो ।
पार्टीलाई आवश्यक परेको बेला केही आर्थिक सहयोग गरेको आधारमा पार्टी नै आफैले चलाएको जस्तो व्यवहार गर्नेहरू पनि नभएका होइनन् । अझ पार्टीलाई सहयोग गरेबापत पार्टीले के दिन्छ भन्ने सोच्नेहरू पनि छन् । त्यो उचित होइन । पुँजीपति र सामन्तहरूले एमाले र माओवादीलाई चुनावको बेला र अरू बेला करोडौँ सहयोग गरेबापत पार्टी केन्द्रीय सदस्य, सांसद, मन्त्री, उपकुलपति, राजदूत वा अन्य पदमा पु¥याए । ती पार्टीहरू अहिले कम्युनिस्ट विचारबाट विमुख भए र घोषित वा अघोषितरूपमा पुँजीवादी पार्टी साबित भए ।
लामो समय पार्टीमा काम गरेको, उमेरले जेठो र विभिन्न आन्दोलनहरूमा जेल परेको आधारमा चुनावमा आफू योग्य भएको कसैले सोच राख्छन् भने त्यो पनि उचित होइन । २०६३ सालमा संसद् पुनःस्थापनापछि पार्टीले केही साथीहरूलाई पुनःस्थापित संसद्मा मनोनीत गरेर पठाए । पश्चिमका केही कार्यकर्ताहरूले असन्तोष व्यक्त मात्रै गरेनन्, पार्टी नै परित्याग गरे र माओवादी वा अन्य पार्टीमा लागे । लामो समय पार्टीमा काम गर्नु, दुःख भोग्नु, उमेरले ज्येष्ठ हुनु मात्रै योग्यता हुनसक्दैन । सैद्धान्तिक र वैचारिक परिपक्वता महत्वपूर्ण कुरा हो । हरेक कार्यकर्ताले आफूलाई पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि सम्हाल्न सक्ने गरी सैद्धान्तिक र वैचारिकरूपले तयार राख्नुपर्छ ।
पार्टी अनुशासन कडा भएको कारण पार्टी सङ्गठन विस्तार हुन नसकेको तर्क गर्नेहरू पनि छन् । उनीहरू पार्टीले खुकुलो नीति अपनाउनुपर्ने र सबैलाई अटाउनुपर्ने सुझाव दिन्छन् । कम्युनिस्ट पार्टी धार्मिक, जातीय र क्षेत्रीय पार्टी होइन । कम्युनिस्ट सिद्धान्तबारे अध्ययन गरेका, अनुशासित कार्यकर्तालाई मात्रै सदस्य बनाउनु उचित हुन्छ । पार्टी ठुलो बनाउने नाउँमा जोसुकैलाई पार्टी सदस्य बनाइयो भने पार्टी ठुलो बन्न सक्छ तर कम्युनिस्ट पार्टी नरहन सक्छ ।
कतिपय हाम्रा साथीहरू सरकारी कार्यालयमा भए ठीक समयमा हाजिर हुने तर पार्टी काममा भन्ने समयलाई बेवास्ता गर्ने गर्छन् । समयको परिपालना पनि पार्टी सदस्यको अनुशासनको एक महत्वपूर्ण पक्ष हो । समयलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने धेरै कुराहरू बिग्रिन सक्छ । पार्टीका हरेक कामलाई ठीक ठीक समयमा गर्ने बानी बसाल्नु अति आवश्यक छ । पञ्चायत कालमा कहिलेकाहीँ भित्तेलेखन, पर्चा छर्ने, जुलुस गर्ने वा कोणसभा गर्नेजस्ता पार्टी गतिविधिहरू सबै ठाउँमा एकै समयमा हुन्थे । कहिलेकाहीँ ढिला कारण धेरैले दुःख पाएका उदाहरणहरू पनि छन् ।
केही स्वदेशी वा विदेशी विश्वविद्यालयहरूबाट स्नातकोत्तर वा विद्यावारिधि गरेर बसेकाहरू पार्टीको तर्फबाट उपकुलपति, राजदूत बन्ने इच्छा राख्छन् । त्यस्ताहरू नेमकिपाबाट आफ्नो इच्छा पूरा हुने नदेखेपछि अर्को पार्टीतर्फ लाग्छन् । त्यस्ता केही कथित बुद्धिजीवीहरूले नेमकिपा छाडेको इतिहास पनि छ । उनीहरू अवसरवादीहरू हुन् । आफ्नोमात्र हित सोच्ने बुद्धिजीवीहरूबाट पार्टीको हित हुनसक्दैन ।
विभिन्न नकारात्मक घटनाबाट शिक्षा लिँदै पार्टी विकास र विस्तारको निम्ति आआफ्नो योग्यता र क्षमताले भ्याससम्म योगदान गर्नु हरेक पार्टी कार्यकर्ताको कर्तव्य र जिम्मेवार हो ।
Leave a Reply