भर्खरै :

१९१७ को मजदुर क्रान्ति – ८

१९१७ को मजदुर क्रान्ति – ८

३० अक्टोबर (१२ नोभेम्बर)
सोमबारको दिन थियो । पेट्रोग्रादको लडाइँ निर्णायक लडाइँ थियो । सारा रुसले पेट्रोग्रादको फैसला हेरिरहेको थियो । एकातिर सोभियतहरूको नयाँ सेना थियो भने अर्कोतिर पुरानो हुकुम थियो । सोभियत सेनाको अर्थ थियो, भर्खरका कलिला लाल रक्षकहरू । तिनीहरूसँग अफिसरहरू थिएनन्, तिनीहरूसँग खास योजना थिएन । तिनीहरूसँग ५ हजार नियमित सेनामात्र थियो । बोल्शेविकपट्टि लागेका तालिम प्राप्त पेट्रोग्राद छाउनीको सेना युङ्करहरूको विद्रोह दबाउनमा लागेको थियो ।
अर्कोतिर तालिम प्राप्त ठुलो सेना, अनुभव प्राप्त अफिसरहरू, बुद्धिजीवीहरू, पुँजीवादी सरकार र साम्राज्यवादी देशहरू थिए ।
विरोधीहरू भन्दै थिए, बोल्शेविकहरूसँग बुद्धिजीवीहरू छैनन् । मन्त्रालयहरूमा कामै भइरहेको छैन । रुस भनेको पेट्रोग्राद एक सहर होइन, पूरै देश हो । तिनीहरू धेरै दिन टिक्दैनन्, तिनीहरू दुस्साहस गर्दैछन् आदि ।
जन कमिसार परिषद्ले गुप्त सन्धिहरू प्रकाशित गर्ने वचन दिएको थियो । तर, त्यस कागतपत्रको जिम्मा लिने कर्मचारी बेपत्ता थियो । भनिन्छ, त्यो कर्मचारी कागतपत्र समेत लिएर बेलायतको दूतावासमा लुकेको थियो ।
नगर ड्युमा मानिसहरूले भरिएको थियो । बोल्शेविकहरूले ड्युमालाई प्रतिक्रान्तिको केन्द्र भनेका थिए । त्यसको जवाफमा मेयर श्रेइदेरले ड्युमा राजनैतिक पार्टीहरूको सङ्गठनमा भाग लिइरहेको छैन, देशमा कुनै राजनैतिक सत्ता नहुँदा नगरपालिका सुव्यवस्थाको केन्द्र र स्वायत्त शासन हो, युङ्करहरूले बोल्शेविकहरूको केन्द्र स्मोल्नीमा टेलिफोन काट्दा विरोध गरेका थिए भन्नेजस्ता कुराहरू गर्दै थिए । बोल्शेविकहरूको विजयले नगर ड्युमाको अध्यक्षको घमण्ड झर्दै तटस्थ देखिदै थियो । बोल्शेविकहरू उनलाई व्यङ्ग्य गर्दै थिए ।
नगर ड्युमाको एक बोल्शेविक सदस्य कोबोजेवले भने, “हामीले ड्युमालाई राजनैतिक सभामा फेर्नु हुन्न भनेर मेयर महाशय भन्नुहुन्छ, तर यहाँ मेन्शेविक वा समाजवादी क्रान्तिकारी भलाद्मीहरू जेजति भन्छन्, त्यो तिनीहरूको पार्टी प्रचारबाहेक केही पनि होइन । …… तपार्इँले जनताको नाममा एक अपिल प्रकाशित गर्नुभएको छ र हामी पनि यसो गर्ने अधिकार राख्छौँ ।”
संवैधानिक प्रजातन्त्रवादी भनिने शोषक पार्टीको एक क्याडेटले राजद्रोहको अपराधीलाई सजाय गर्नुपर्छ र बोल्शेविक सदस्यलाई ड्युमाबाट निकाल्नुपर्छ भन्ने दावा गर्यो । मेन्शेविकहरूले भने कि बोल्शेविकहरूलाई मारकाटको निम्ति उत्तेजित पार्दै छन् । एक जनाले भने, “बोल्शेविकहरूको विरोध गर्नेहरू क्रान्तिविरोधी हुने भए म क्रान्ति र अराजकतामा केही भेद देख्दिनँ ।” त्यस्तै सबै विरोधी पार्टीहरू बोल्शेविक पार्टीको विरोधमा आगो ओकल्दै थिए । तिनीहरूको रिपोर्टअनुसार सारा जनता बोल्शेविकहरूको विरोधमा जाँदै छन्, करेन्स्की नआए पनि बोल्शेविकहरूसँग सरकार चलाउने मानिसहरू नै छैनन् र तिनीहरू आपसमा लड्दै छन् ।
समाजवादी क्रान्तिकारी पार्टीको ‘रक्षा समिति’ गुप्तरूपले षड्यन्त्र गर्दै थियो । तिनीहरू करेन्स्की, युङ्कर र क्याडेटरलाई उचालेर बोल्शेविकहरूलाई खतम गर्न चाहन्थे । फेरि तिनीहरू भन्थे, बोल्शेविकहरूले किसानहरूको समर्थन प्राप्त गर्न हाम्रो कार्यक्रम चोरेका हुन् । यो पूरै बेइमानी हो । संविधानसभालाई पर्खनुपर्छ आदि ।
उता स्मोल्नीमा पनि बोल्शेविकहरूको बैठक भइरहेको थियो । बैङ्कहरूले बोल्शेविकहरूलाई पैसा दिन मानिरहेका थिएनन् । यसकारण, लेनिनले राष्ट्र बैङ्कलाई बारुदले उडाइ दिने र निजी बैङ्कको ढुकुटी पनि खोल्न आदेश दिनुभयो । कज्जाकहरू क्रास्नोये सेलोबाट पनि हट्दै छन्, पूल्कोबामा चर्को लडाइँ हुँदै छ, मस्कोको स्थिति पेट्रोग्रादको स्थितिमा निर्भर छ, लडाइँको मोर्चाहरूमा शान्ति र भूमिको विज्ञप्तिले राम्रो असर पारेको छ, आदि रिपोर्ट त्रोत्स्कीले दिँदै थिए ।
भूमि कार्यक्रमबारे लेनिनले बोल्नुभयो, “तिनीहरूको भूमि, कार्यक्रम हामीले चोरेको आरोप लगाइँदै छ…. यदि कुरो यस्तै हो भने हामी तिनीहरूको अगाडि टाउको झुकाउँछौँ । हाम्रो निम्ति कार्यक्रम धेरै राम्रो छ ।”
एकपछि अर्को नेता, सिपाही, मजदुर र किसान उठेर बोल्थे, वादविवाद गर्थे । घाइते सिपाही र मानिसहरू आउँथे, जान्थे र बैठक चल्दै थियो । उता लडाइँमा चर्काचर्की चलिरहेको थियो ।
पेट्रोग्रादको बाहिरी फेराको कोलपिनो, ओबूखोभो, पुल्कोबो र त्रोस्नोये सेलो भन्ने ठाउँमा अस्थायी सङ्गठनहरू २९ अक्टोबर वा ११ नोभेम्बरमा मात्रै बनाइएको थियो । तितरवितर भएका सिपाहीहरूका दलहरू त्यतैतिर मिल्न गइरहेका थिए । सिपाही, लालरक्षकहरू, ब्यारेकका रेजिमेन्टहरूको केही भाग, पैदल सिपाहीहरू, घोडचढी सिपाहीहरू, तोप हान्ने दल, मजदुरहरू र सबै प्रकारका जनताका दलहरू त्यहाँ भेला भए । ती खुकुलोरूपले सङ्गठित जनसमूहका दलहरूलाई बोल्शेविकहरूले स्वागत गर्थे र तिनीहरूलाई लड्ने ठाउँ तोकिदिन्थे । तिनीहरू आफै आफ्ना दलका कमान्डरहरू चुन्थे । यसप्रकार पुरानो व्यवस्थालाई पल्टाउन चाहने र नयाँ युगलाई ल्याउन चाहने व्यापक जनसमूहको इच्छा एक भयो । शत्रुहरूदेखि रिसाएका ती जनता लडाइँको निम्ति तयार भएर बसेका थिए ।
१२ नोभेम्बर दिउँसो ३ बजे गोलाबाजी सुरु भयो । कज्जाकहरूको साहस घट्दै थियो । क्रास्नोये सेलोमा करेन्स्कीको एक दूत आएर गोलाबारी बन्द गर्ने एक प्रस्ताव दियो । प्रस्तावअनुसार गोलाबारी बन्द नगरे ‘निर्णायक’ कार्य गर्ने धम्की दिइएको थियो । बोल्शेविकहरूले त्यस दूतलाई करेन्स्कीले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने जवाफ दिए । क्रास्नोये सेलो र पूरा इलाकामा बत्ती निभाइएको थियो र पादरीहरू जनतालाई धर्मको नाममा बोल्शेविकहरूको विरोधमा भड्काउँदै थिए ।
राति करेन्स्कीले क्रान्तिकारी सेनालाई फेरि आत्मसमर्पण गर्न प्रस्ताव पठायो । करेन्स्कीले फेरि गोलाबारी गर्यो । बोल्शेविकहरूले पनि त्यसको जवाफ दिए । कज्जाकहरूले जनतामाथि हमला गर्न थाले । बस के थियो । जनता लड्न तयार थिए । स्थानीय सोभियत र कारखानामा मजदुरहरूले आवश्यक हातहतियार र सामान पु¥याएकै थिए । माझीहरूले शत्रुहरूमाथि अचुक निशाना लगाएर गोली हान्न थाले । अनि अचानक चारैतिरबाट सबैले एकैचोटि हमला सुरु गरिहाले । लडाइँको केही ज्ञान नभएका साधारण मजदुरहरूले पनि लड्नमा खप्पिस सम्झिएका कज्जाक घोडचढी सिपाहीहरूमाथि धावा बोल्न थाले, कज्जाकहरूको घोडाको लगाम समातेर तिनीहरूलाई नै घोडाबाट खसालेर पछारे । यसप्रकार जनताको ठुलो सङ्ख्याको आँधी बेहरीजस्तो चर्को हमलाले शत्रु सेना तर्यो । कज्जाकहरू तोप छोडेर भागे । बोल्शेविकहरूले धेरै परसम्म तिनीहरूलाई लखेटे र ११–१२ बजे सम्ममा त्साइस्कोये सेलो नगर र सरकारको ठुलो रेडियो स्टेसन जनताकै कब्जामा रह्यो । त्साइस्कोयेको रेडियो स्टेसनले तुरुन्तै सबै सोभियतहरूलाई रेडियो सन्देश पठायो । लडाइँमा माझी, सिपाही र लाल रक्षकहरूले ठुलो साहस देखाएका थिए ।
पुल्कोबोले सैनिक स्टाफबाट राति २ बजेर १० मिनेट जाँदा स्मोल्नीको बैठकमा एक समाचार पठायो । समाचारमा भनिएको थियो, “३०–३१ अक्टोबरको रात इतिहासमा सदा अङ्कित रहनेछ । क्रान्तिको राजधानीको विरोधमा क्रान्तिविरोधी सेनाबाट धावा बोल्ने करेन्स्कीको कोसिस निर्णायकरूपले विफल गराइयो । पुँजीपतिवर्गले क्रान्तिकारी सेनालाई अलग गर्ने कोसिस गरेको थियो । करेन्स्की कज्जाकहरूको शक्तिबाट त्यसलाई टुक्राउन चाहन्थ्यो । ती दुवै योजना दयनीयरूपले विफल भयो ।” करेन्स्की एक माझीको भेषमा भाग्यो ।
३१ अक्टोबर (१३ नोभेम्बर)
फिनल्यान्ड पुग नपुग १०० वर्षदेखि रुसको प्रभावमा थियो । त्यहाँको संसद्मा समाजवादीहरूको बहुमत थियो । करेन्स्कीले त्यस संसद्लाई भङ्ग गरेको थियो । त्यसको विरोधमा फिनल्यान्डका रेलका मजदुरहरूले देशव्यापी हडताल गरेका थिए । पेट्रोग्रादमा बोल्शेविकहरूको विजयले राजधानी हेलसिङ्कीको सोभियत र बाल्टिक सागरको जाहजी सेनाको केन्द्रीय समिति (त्सेन्त्रोबोल्ट) दुवैले सोभियत गतिविधिलाई दबाउने आदेश दियो । त्यहाँ बोल्शेविकहरूको राम्रो प्रभाव पर्न थाल्यो ।
मस्कोमा पनि सोभियत सैनिकहरूले टेलिफोन र आकाशवाणी केन्द्र कब्जा गरेका थिए । त्यसबेला सोभियतहरूको पक्षमा १० हजार छाउनीका सिपाहीहरू र केही लालरक्षकहरूमात्र थिए । उता अस्थायी सरकारको पक्षमा ६ हजार युङ्करहरू, २–३ हजार कज्जाकहरू र दुई हजार श्वेत रक्षकहरू थिए । मस्कोको केन्द्र र क्रेमलिन दरबार युङ्करहरूको हातमा लियो । त्यसको चारैतिर सोभियत सिपाहीहरू एक हुन कोसिस गर्दै थिए । तर, युङ्करहरूले बोल्शेविकहरूमाथि अचानक हमला गरेर टेलिफोन अड्डा र आकाशवाणी फेरि आफ्नो हातमा लिए र सोभियत सिपाहीहरूलाई गोली हान्दै थिए । पछि सोभियत सिपाहीहरूले पनि मस्को ड्यूमा भवन, मेजिस्ट्रेट अफिस, पाँचतारे होटल (मेट्रापोल होटल), ठुलठुलो बैङ्क र ठुलठुला व्यापारीहरूको पसल र गोदामहरूमा गोलाबारी गर्न थाले । मस्कोको स्थिति पेट्रोग्रादको घटनाले निर्णय गर्दथ्यो । पेट्रोग्रादको विजयले मस्कोमा राम्रो प्रभाव पर्नु स्वाभाविक थियो । पेट्रोग्रादको विजयको खबरले दक्षिणी रुसको क्रिमियाको सेभास्तोपोल (Sevastopol) बन्दरगाहमा जहाजी सेना र माझीहरू मिलेर सैनिक सोभियतले शासन आफ्नो हातमा लियो ।
पेट्रोग्रादको दक्षिणमा रहेको नोभ्गोरोद (Novgorod), मस्कोको दक्षिणपूर्वमा बोल्गा नदीको किनारामा रहेको सरातोभ (Saratov) भन्ने नगरमा पनि सोभियतको पक्षमा सङ्घर्ष चर्कँदै थियो । मस्कोको पूर्वको एक सहर कजान (Kazan) र भिनित्सामा पनि स्थिति त्यस्तै थियो । बुल्गेरिया र अरु ६० वटा मोर्चाहरूबाट सिपाहीहरूका प्रतिनिधिहरू पेट्रोग्राद आएर सोभियतलाई समर्थन र शुभकामना दिए ।
तर, अड्डा र बैङ्कहरू, छाउनी र मुख्य मुख्य ठाउँहरू कब्जा गरेर पनि बोल्शेविकहरूले राम्रो काम गर्न सकिरहेका थिएनन् । बुद्धिजीवी, कर्मचारी र प्रतिक्रियावादी पार्टीहरूको प्रभावमा परेका मजदुरहरूले क्रान्तिलाई असहयोग गरेको हुँदा विजयको खुसीको समयमा पनि बोल्शेविकहरूलाई पिर परिरहेको थियो । माझी, सिपाही, सेना, लालरक्षक, मजदुर र किसानहरूले ती ठाउँहरू कब्जा गरे । तर, तिनीहरूलाई टाइप गर्न आउँदैनथ्यो र एकै औलाले एक एक अक्षर खोजी खोजी टाइप गर्नुपर्दथ्यो । लिथो (गेस्नर) काम गर्न आउँदैनथ्यो । यसकारण, तिनीहरू सिक्न कोसिस गर्दै थिए । टेलिफोनको काम आउँदैनथ्यो, सिक्दै थिए । त्यस्तै बैङ्कका ठुलठुला खाता हेरेर तिनीहरू जिल्ल परेका थिए । विदेशसँगको सम्पर्कको निम्ति तिनीहरूलाई अनुवाद गर्न आउँदैनथ्यो । तर, पनि बोल्शेविकहरू स्थितिलाई सम्हाल्न खोज्दै थिए ।
१४ नोभेम्बर
अरु ठाउँमा जस्तै मस्कोमा पनि व्यापारी, कालाबजारी, पुँजीपति, जमिनदार, सैनिक अफिसर, राजनीतिज्ञ, शिक्षक, विद्यार्थी, साधारण पेसाका मानिस, पसले, कर्मचारी, कम्पनीहरूका दलालजस्ता मानिसहरू क्रान्तिको विरोधमा थिए । साधारण, मजदुर, माझी, निराश नभएका सिपाहीहरू, खेताला मजदुर र सा¥है थोरै बुद्धिजीवीहरू बोल्शेविक र क्रान्तिको पक्षमा थिए ।
मस्कोको नगर ड्युमा युङ्कर र प्रतिक्रियावादी विचारका विश्वविद्यालयका छात्र स्वयंसेवकहरू (श्वेत रक्षकहरू) को कब्जामा थियो । नगर ड्युमाको मेयर र सभापतिले नै नागरिक सुरक्षा समिति र सैनिक गतिविधिको काम सम्हालेका थिए । नगरको सेनाको कमान्डर रियाब्त्सेब थिए । उनी प्रजातान्त्रिक स्वभावका थिए । उनी सैनिक क्रान्तिकारी समितिको विरोध नगरी तटस्थ रहन चाहन्थे । तर, नगर ड्युमाले उनलाई क्रेमलिन कब्जा गर्न भन्यो । तिनीहरूले उनलाई त्यहाँ बोल्शेविकहरूले गोली वर्षाउने आवश्यकता देख्दैनन् भनेर मनाएका थिए । बोल्शेविकहरूले क्रेमलिनमाथि आक्रमण गरे ।
१३ र १४ नोभेम्बर दुई दिन मस्को बोल्शेविकहरूको कब्जामा रह्यो । युङ्कर र श्वेत रक्षकहरूले शान्ति सम्झौता गरेपछि तिनीहरूलाई जान दिइयो । यसप्रकार रुसको पुँजीवादको अन्तिम गढ क्रेमलिनमाथि बोल्शेविकहरूले विजयको झन्डा फहराइदिए ।
१५ नोभेम्बर
१५ नोभेम्बरको दिन पेट्रोग्रादमा अस्थायी सरकारको अस्तित्व समाप्त भयो । लेनिनले एक बैठकमा भन्नुभयो, “हुकुमको काम भर्खर सुरु भयो ।” देशको विभिन्न ठाउँबाट विजय र समर्थनको समाचार पुग्दै थियो । तर, पार्टीभित्र वैचारिक सङ्घर्ष चर्कँदै गयो । अखिल रुसी रेल मजदुर युनियनको कार्यकारिणी समिति क्रान्तिविरोधी एक केन्द्र बनेको थियो । तिनीहरू ‘सबै क्रान्तिकारी पार्टीहरूको संयुक्त सरकार’ बनाउन चाहन्थे । त्यसमा क्रान्तिमा हारेका मेन्शेविक र समाजवादी क्रान्तिकारी पार्टीका प्रतिनिधिहरू पनि सामेल गराउन चाहन्थे । लेनिन र पार्टीको केन्द्रीय समिति अखिल रुसी रेल मजदुर युनियनको कार्यकारिणी समिति (भिक्जेल) सँगको वार्तालाई ‘युद्धको निम्ति एक कूटनैतिक पर्दा’ को रूपमा मात्रै लिनुहुन्थ्यो । त्यसको अर्थ हो, वार्ता चलाउने तर नझुक्ने, वार्ता चालु राख्ने, विरोधमा जान नदिने, वार्ता चलाउने र युद्धमा विजय पाउने । तर, पार्टी केन्द्रीय समितिका दुई जना सदस्य कामेनेभ र सोकोलनिकोभले वार्तामा लेनिन र केन्द्रीय समितिको निर्णय विपरीत रेलवे युनियन (भिक्जेल) को मागहरूलाई स्वीकार गरे ।
१५ नोभेम्बरको दिन त्यही विषयलाई लिएर पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । बैठकले लेनिनको प्रस्तावअनुसार त्यस सम्झौतालाई अस्वीकार गर्यो । प्रस्तावमा भनिएको थियो, “सोभियत हुकुमको सिद्धान्तलाई नछोडेसम्म बोल्शेविक सरकारको नीति फेर्ने कुरै आउँदैन ।” ‘संयुक्त समाजवादी सरकार’ गठन गर्ने प्रस्तावहरूलाई बैठकले ‘क्रान्तिको हडताल भाड्ने’ अर्थात् ‘क्रान्तिविरोधी’ घोषणा गर्दै प्रस्तावलाई अस्वीकार गर्यो ।
बोल्शेविकहरू राजधानीमा आफ्नो नियन्त्रण कायम गर्न सफल भए, तर सरकार स–साना प्रशासनिक कार्य पनि चलाउन सकिरहेका थिएनन् । तिनीहरूले पुरानो प्रशासन यन्त्रलाई चलाउन सकेनन् । तिनीहरूसँग राम्रा राम्रा लेखक र भाषण दिने कार्यकर्ताहरू थिए, प्रशासकहरू थिएनन् ।
विदेश मन्त्रालयका कर्मचारीहरूले मन्त्रालयको ढोकाभित्रैबाट बन्द गरेका थिए । जबरजस्ती ढोका खोलियो, तर सबै कर्मचारीहरूले राजिनामा दिए । परराष्ट्रमन्त्री त्रोत्स्कीले कागतपत्र राख्ने ठाउँको साँचो माग्दा साँचो दिएनन् । साँचो नदिँदा ताला फोर्न कालिगड बोलाइँदा बल्ल साँचो दिए । तर, पहिलेको सहायक परराष्ट्रमन्त्री नेरातोक गुप्त कागतपत्र लिएर भागिसकेको थियो ।
श्रममन्त्री उल्यात्रिकोभ मन्त्रालय पुग्दा कर्मचारीहरूले उनलाई मन्त्री बस्ने कोठा पनि देखाएनन् । जाडो थियो, तर आगो बाल्ने कर्मचारीसमेत थिएन । जनकल्याण मन्त्री अलेक्सान्द्रा कोल्कोन्ताई मन्त्रालय जाँदा कर्मचारीहरू हडतालमा थिए । सहरका सबै लुला–लङ्गडा, बिरामी र भोकाहरूको भिड लाग्यो । हडताली कर्मचारीहरूलाई पक्राउ गरेर साँचो लिइयो । तर, खोलेर हेर्दा सबै पैसा भूतपूर्व मन्त्री काउन्टेस पानिनाले लिएर हिँडेको थाहा पाइयो । उनी पक्राउ पर्दा संविधानसभाले नभनी पैसा दिन अस्वीकार गर्यो । बुद्धिजीवी बोल्शेविकविरोधीहरू थिए । यसकारण, कृषि, खाद्य, अर्थ र अन्य मन्त्रालयहरू पनि हडतालमा थिए । तिनीहरू खाली भड्काउने र बिगार्ने काम गर्दै थिए ।
बैङ्कका कर्मचारीहरूले सोभियत सरकारलाई पैसा दिन अस्वीकार गरे । तर, प्रतिक्रियावादीहरूको ‘रक्षा समिति’ लाई पैसा दिइरहेको थियो । बैङ्क कब्जा गर्दा बहीखाता लुकाउने र हडतालमा बसिदिए । अर्थ मन्त्रालयका कर्मचारीहरूले विदेश व्यापारको बहीखातामै आगो लगाए । खाद्य संस्थान र नगरपालिकाका कर्मचारीहरूले पनि हडताल गरे र सबै ठाउँमा बोल्शेविकहरूको ‘स्वायत्तताको अधिकार हनन गर्यो’ भनेर तार पठाए । राजधानीमै रसद–पानी समाप्त हुँदै थियो तर ‘अखिल रेलवे मजदुर युनियन’ को कार्यकारिणी समिति (भिक्जेल) ले अन्न, कोइला र दाउरा र अन्य आवश्यक सामान बाहिर लैजान अस्वीकार गर्दै थियो । विरोधी पत्रिकाहरूले बन्दोबस्त गर्न नसक्ने सरकार भनेर हेला गरी जथाभावी लेख्दै थिए ।
एकातिर यस्तो नियन्त्रणको कमी थियो भने पार्टी र सरकारभित्रै चर्काचर्की थियो । अरु समाजवादीहरूलाई पनि सरकारमा सामेल नगराएकोमा केही नेताहरू पार्टी केन्द्रीय समितिबाट राजीनामा गर्ने धम्की दिँदै थिए । विरोधी पार्टीहरू आपसमा मिलेर एक अर्कै सरकार बनाउने षड्यन्त्र गर्दै थिए ।
विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *