भर्खरै :

विस्थापित शिक्षकहरूको समस्याबारे नपाको ध्यानाकर्षण

भक्तपुर नगरपालिकाको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनोटको लागि भइरहेको सुझाव सङ्कलनमा विस्थापित शिक्षकहरूले केही शैक्षिक सुझाव पेस गरेका छन् ।
शैक्षिक सुझाव भनिएको छ, जनताप्रति समर्पित भक्तपुर नगरपालिकाले हरेक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनोटको लागि नगरवासी जनताको रायसुझाव सङ्कलन गरिरहेको छ । यो स्वागतयोग्य छ । जनताको चाहनाबमोजिम जनताको सेवा गर्न भक्तपुर नगरपालिका सदा प्रतिबद्ध रहेको कारण नेपालभरका स्थानीय सरकारहरूमध्ये अग्रस्थानमा रहिआएको छ ।
हाम्रा अग्रजले नयाँ पुस्तालाई अविश्वास, कुसंस्कार कुरीतिलगायत अन्धकारबाट टाढा राखी ज्ञानको ज्योति दिलाउन सरकार र प्रशासनसँग लडेर पाटी, द्योछेँबाट सुरु भएका थुप्रै सार्वजनिक तथा सामुदायिक विद्यालयमा ईसीडी, बाल विकास केन्द्र, किन्डर गार्डेन तथा मन्टेश्वरी शिशु स्याहारका कक्षा सञ्चालन गरे तापनि हाल विद्यार्थीको अभावमा आफ्नो अस्तित्व जोगाउन मुस्किल भएका छन् ।
यस्तो अवस्थामा पुराना शिक्षकहरू अवकाश र निवृत्त भइसकेपछि विद्यालय सञ्चालनमा बाधा र अप्ठ्यारो आउनु स्वाभाविक हो । रिक्त दरबन्दीमा शिक्षक सेवा आयोगकै नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिई विशेषज्ञ शिक्षक छनोट समितिको सिफारिसमा विद्यालय व्यवस्थापन समितिको स्वीकृत निर्णयबाट हामी करार शिक्षकमा नियुक्ति भएका हौँ । यसरी नियुक्ति भइसकेपछि विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधाको तलबमा अधिकतम ३५ प्रतिशतसम्म कटौती गरी आएका छौँ । साथै विद्यालयको समत्न्दा अघि र पछि अतिरिक्त समय विद्यालयको प्रगतिका लागि योगदान दिँदा आज समुदायका पुराना विद्यालयहरूमा भौतिक तथा शैक्षिकस्तर सुधारिएको हो । आज शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक करारको ठाउँमा पदस्थापन भई आउँदा हामी शिक्षकलाई करार भनी विस्थापित गरियो । यसले गर्दा हामी शिक्षकहरूको घरपरिवार र बालबच्चाहरूको लालनपालनलगायत सामाजिक समस्याहरू आइरहेका छन् ।
चालु आ.व. २०८०/८१ को बजेट एवम् नीति तथा कार्यक्रममा प्रस्तुत ‘स्वयंसेवक शिक्षक’ को व्यवस्थासम्बन्धी बुँदालाई नयाँ आव अर्थात् नीति तथा कार्यक्रम २०८१/८२ ले मूर्त रूप दिई विस्थापित भएका शिक्षकहरूलाई प्राथमिकता दिई हामीहरूको मनोबल उच्च बनाउन र घरपरिवारको सामाजिक व्यवहारको समस्यालाई सहज बनाउन आवश्यक पहल वा व्यवस्थापन गरी स्वयंसेवक शिक्षकमा पदस्थापन गरिदिन र अध्यापन गरेको विद्यालयमा दरबन्दी रिक्त भएमा त्यहाँ पनि विशेष ग्राह्यता दिनुहुन विनम्र अनुरोध गर्दै यो सुझाव दिएका हौँ ।
आशा छ, यो सुझावलाई आसन्न नगर सभा वा परिषद्को लागि आवश्यक विषयको रूपमा मनन गरी आवश्यक प्रक्रिया वा पहल गर्ने हाम्रो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *