भर्खरै :

हँसाउन र रुवाउन सफल ‘भष्मे’ डन

मनले खुशी हुने मान्छेहरुको सुख धनले लुट्ने गर्छ । अहिले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘ज्ञ’ समूहको तेस्रो प्रस्तुति नाटक ‘हरियो ढुङ्गा’ मा निचुले र उनका साथीहरुको जीवनमा यस्तै भइरहेको छ । समूहले यसअघि ‘अ मिड समर सपना’ र ‘जयमाया आफ मात्र लेखापानी आइपुगी’ मञ्चन गरेको थियो । नेपाली वाङ्मयका एक चर्चित कविएवं कथाकार उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’मा समाविष्ट ‘हरियो ढुङ्गा’ कथालाई निर्देशक सुनिल पोखरेलले परिकल्पना र निर्देशन गरेका छन् ।
नेपालको विशेषतः पूर्वी क्षेत्रमा विद्यमान भुटानी शरणार्थी समस्या र तिनै शरणार्थीहरुको जीवनको वरिपरि नाटक घुमेको छ । सन् १९९० को दशकमा भुटानमा जातीय दङ्गा भड्किन थालेपछि नेपालीभाषी भुटानी नागरिकहरु शरणार्थीको रुपमा नेपालको पूर्वी झापा, मोरङमा शरण लिन आइपुगेका थिए । लाखौंको संख्यामा विस्थापित भुटानी शरणार्थीहरुको समस्या नेपालको निम्ति चुनौतिको विषय बनेको थियो । सन् २००७ मा संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले नेपालका भुटानी शरणार्थीहरुलाई अमेरिका, अष्ट्रेलिया, नर्वे, क्यानडालगायतका तेस्रो मुलुकमा पुनर्वासको व्यवस्था गरेको कुरा पनि यहाँ स्मरण गर्न आवश्यक छ ।

नाटकमा रतुवा खोलाको बगरमा गिट्टी कुटेर आफ्नो जीविकोपार्जन गरिरहेका शरणार्थीहरुको क्याम्पको दृश्य छ । शरणार्थी शिविरमा एउटै परिवारका सदस्यजस्तै भई बसेका भुटानी शरणार्थीहरु आफ्नै देश भुटानमा फर्कन पाइने आशमा बसेका हुन्छन् । तर दिनरात नभनी पसिना चुहाएर कुटेको गिट्टी सबै रतुवा खोलाको बाढीले बगाएपछि उनीहरुसंग विदेश जानुबाहेकको अर्को कुनै विकल्प बाँकी हुँदैन । अन्त्यमा शिविरमा संगै सुखदुःख बाँडेर बाँचिरहेका दाजुभाईहरु कोही अमेरिका, कोही अष्ट्रेलिया त कोही क्यानडामा पुनर्वासको निम्ति विदा हुन्छन् र शिविरमा सन्नाटा छाउँछ । नाटक यहि सेरोफेरोमा केन्द्रीत छ ।
रतुवा खोलाको बगरमा गिट्टी कुटेरै जीविकोपार्जन गर्ने एक पात्र हो, निचुले । गिट्टीको निम्ति ढुङ्गा बटुल्दै जाँदा हरियो ढुङ्गा भेट्टाएपछि निचुलेको परिवार र शिविरमा अर्कै परिस्थिति बन्दै जान्छ । एउटा घडिको निम्ति झगडा गरिरहने क्रममै दुर्घटनावश निचुलेको कान्छो छोरो बैदारेको मृत्यु हुन्छ र उसको हत्या आरोपमा जेठो छोरो हल्दारे जेल पर्छ । स्वास्नी र छोरी सक्कली पनि भुटान फर्कने आश्वासनमा दलालको फन्दामा परी भारतको कोठीमा बेचिन्छन् । रतुवा खोलाको बाढीले कुटेर बेच्न ठिक्क पारेको गिट्टी बगाइदिँदा शिविरका अरु पनि बाध्य भएर विदेशतिर लाग्छन् । अन्तमा शिविरमा निचुले, काल्साङ, लाक्पा र सुस्ते मात्र बाँकी हुन्छन् । कुनैदिन भुटान फर्किन पाइने आशमा उनीहरु फेरी रतुवा खोलामा गिट्टी कुट्न थाल्छन् र फेरी कुनै अर्को ‘हरियो ढुङ्गा’ नभेटियोस् भनी भगवानसंग प्रार्थना गर्दै बस्छन् ।

नाटकमा कलाकारहरुको अभिनय सशक्त छ । नेपाली चलचित्र ‘पशुपतिप्रसाद’मा ‘भष्मे’ डनको रुपमा नाम कमाएका विपिन कार्कीले नाटकमा निचुलेको भुमिका निभाएका छन् । उनको ‘निचुलेपन’ प्रशंसनीय छ । बोली राम्रोसंग प्रस्ट नखुलेका निचुले दर्शकलाई कतै पेट मिचिमिचि हँसाउन त कतै क्वाँ क्वाँ रुवाउन सफल छन् । निचुलेसंगै सुस्ते, काल्साङ, लाक्पा, बैदारे, सक्कलीको अभिनयपनि प्रसंशायोग्य छ । नाटकले दर्शकलाई एकक्षण पनि आखाँ झिमिक्क गर्न दिँदैन । दर्शकको ध्यान खिचिरहन निर्देशक र कलाकार दुवै सफल देखिन्छन् । नाटकका बीचबीचमा प्रयोग गरिएका गीत र पात्रहरुको नाचगानले दर्शकहरुलाई ‘ड्रामाटिक रिलिफ’ दिन्छ । सुस्ते, बैदारे, पण्डित पात्रहरुले दर्शकहरुलाई मनोरञ्जन दिन्छन् । यसले नाटकलाई एकोहोरो हुनबाट जोगाएको छ । समग्रमा भुटानी शरणार्थीहरुको सामाजिक, आर्थिक र मनोवैज्ञानिक चित्रण गर्न नाटक सफल छ । देश हराएका मान्छेहरुको कथा सुन्न इच्छुक हुनुहुन्छ भने एकपटक अवश्य ‘हरियो ढुङ्गा’ खोज्दै बत्तीसपुतलीको शिल्पी थिएटरमा पुग्नुहोला ।
– रमेश प्रजापति, भक्तपुर











Leave a Reply

Your email address will not be published. Required fields are marked *