भर्खरै :

चरेलीमा गाडी नचल्दा स्थानीय समस्यामा

फाइल फोटो
भक्तपुर, १४ पुस । भक्तपुरको उत्तर–पूर्व यातायात सेवा समितिले चाँगुनारायण नगरपालिका वडा नं ७ साविक बागीश्वरी गाविसको भक्तपुर–मुहानपोखरी–चरेलीसम्मको बाटोमा गाडी नचलाउँदा स्थानीय जनता समस्यामा परेका छन् । नियमित यातायातको सुविधा नहुँदा विशेषतः स्थानीय किसान, विद्यार्थी र व्यवसायी समस्यामा परेका हुन् । २०७० सालबाट उत्तर पूर्वी यातायात सेवा समितिले गाडी चलाउँदै आएको सो बाटोमा २०७२ सालको भुकम्पपश्चात सेवा झण्डै ठप्पै भएको हो । स्थानीय जनताले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरे पछि पटक–पटक गरी केही दिन गाडी चले पनि हाल त्यहाँ यातायात सेवा पूर्णतः बन्द भएको स्थानीय मुरारी अधिकारीले बताउनुभयो ।
मुहानपोखरीबाट माथि जङ्गल क्षेत्र भएकाले विशेषतः बिहानी कक्षा पढ्न जाने विद्यार्थी, दुध बजार पु¥याउने व्यवसायी र कृषि उत्पादन बजार पु¥याउने किसानहरु यातायात सेवा नहँुदा मार्कामा परेका हुन् । जङ्गलमा बँडेलले दुःख दिने गरेको स्थानीयहरुको भनाइ छ ।
‘पटक पटक हामीले यातायात सेवा सञ्चालनको लागि पहल ग¥यौं । तर परिणाम निकाल्न नसक्दा जनतालाई समस्या परेको छ ।’, अधिकारीले भन्नुभयो ।
उत्तर पूर्व यातायात सेवा समितिले भक्तपुर–नगरकोटको बाटोमा भने गाडी सञ्चालन गर्दै आएको छ । उत्तर पूर्व समितिसँग पुग्दो गाडी नहुनु, सो बाटोमा सोचेजस्तो आम्दानी नहुनु र समय–समयमा त्यहाँ हुने विवाद झगडाका कारण पनि यातायात समितिले गाडी चलाउन चासो नदिएको एक जना यातायात व्यवसायीले भन्नुभयो ।
गाडी सुविधा सुचारु नभएको विषयमा स्थानीय जनताले पटक–पटक प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गरिसकेका छन् । तर प्रजिअसामू गाडी चलाउन हस्ताक्षर गरेर आउने तर केही दिन गाडी चलाएर फेरि सेवा ठप्प गर्ने व्यवसायीको व्यवहारको पुनरावृत्तिले स्थानीय जनता हैरान भइसकेका छन् ।
विगतमा बाटो साँधुरो र असजिलो भए पनि हाल मुहानपोखरीदेखि चरेलीसम्मको बाटो राम्रो भइसकेको छ । तर व्यवसायी स्थानीय जनताप्रति जिम्मेवार नबनिदिंदा समस्या परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *