भर्खरै :

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग–व्यवसायीसँग राय–सुझाव सङ्कलन

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग–व्यवसायीसँग राय–सुझाव सङ्कलन

भक्तपुर, २८ जेठ । भक्तपुर नपाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि सोमबार भक्तपुरका पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग–व्यवसायीहरूसँग राय—सुझाव सङ्कलन गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रको विकासमा बाह्य र आन्तरिक पर्यटकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देशको स्थायी विकासको लागि आन्तरिक पर्यटन प्रवद्र्धन र चलायमान बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन क्षेत्रबाट सबै उद्योग–व्यवसायीलाई लाभ पुग्ने नीतिअनुसार भक्तपुर नपाले काम गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले नगरवासीहरूको रचनात्मक सल्लाह र सुझावले नगरलाई अझ व्यवस्थित र आकर्षक नगरको रूपमा विकास गर्न टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित उद्योग–व्यवसायीहरूले परम्परागत गरगहना संरक्षण र प्रचारको पहल गर्नुपर्ने, भक्तपुरमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउने नीति आवश्यक भएको, पर्यटन शुल्क वृद्धि गर्न सकिने, पर्यटकीय स्थलहरू वरपर पार्किङ व्यवस्थापन, कर सङ्कलन प्रविधिमैत्री हुनुपर्ने र करको दायरा बढाउनुपर्ने, उत्कृष्ट उद्योगी सम्मान, दाफा भजन र बाजा मर्मतबारे नयाँ पुस्तालाई तालिम दिनुपर्ने, सार्वजनिक शौचालय व्यवस्थित गर्नुपर्ने, छाडा कुकुरको व्यवस्थापन गर्नुपर्ने, टौमढी र दत्तात्रयमा २४ सै घण्टा सवारी प्रवेश निषेध गरिनुपर्ने, ‘जुजु–धौ’ को गुणस्तर मापनको लागि अनुगमन गर्नुपर्ने, भक्तपुरका फल्चा तथा डबलीहरूमा स्थानीय सङ्गीत, भजन, कला, कौसल, नृत्यको दैनिक वा साप्ताहिक प्रदर्शन गरी भक्तपुरलाई जीवन्त बनाउनुपर्ने, भक्तपुर जिल्लाभित्र नाप तौल कार्यालय खोल्नुपर्ने, किराना तथा खाद्यसम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरूको लागि स्थानीय स्तरबाटै खाद्य अनुज्ञा पत्र वा प्याकेजिङ अनुमति पत्र उपलब्ध गराउनुपर्ने, परम्परागत घरेलु उद्योगलाई निःशुल्करूपमा दर्ता गर्ने व्यवस्था हुनुपर्नेलगायतका सुझावहरू राखेका थिए ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भटराई र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समिति, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, पर्यटन व्यवसायी, भक्तपुर साङ्गीतिक समाज, भक्तपुर जुजु धौ व्यवसायी सङ्घ, जुजु धौ व्यवसायी, भक्तपुर मनि एक्सचेन्ज, होटल व्यवसायी, भक्तपुर खाद्य किराना पसल सङ्घ, रेडिमेड व्यापार सङ्घ, माटाका भाडा बनाउने, होटल एसोसिएसन अफ भक्तपुर, घरेलु व्यवसायी, सुनचाँदी व्यवसायी सङ्घ भक्तपुर, खाद्य व्यवसायी, सौन्दर्यकला व्यवसायी, चिउरा व्यवसायी, हस्तकला व्यवसायीलगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *