भर्खरै :

क्युवाली समाजवादी व्यवस्थाबारे अध्ययन गोष्ठी

कैलाली, २९ जेठ । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नं २ पुरानो भन्सार तिलकेताल र वडा नं ४ बोराडाँडीमा क्युवाली पूर्वराष्ट्रपति एवं क्युवाली कम्युनिस्ट पार्टीका पूर्वप्रथम सचिव राउल क्यास्ट्रोको ९३ औँ जन्मदिनको अवसरमा क्युवाली समाजवादी व्यवस्थाका बारेमा अध्ययन गोष्ठी कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीतिको उद्देश्य देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु हो भन्नुभयो ।
क्युवामा समाजवादी व्यवस्था ल्याउनका लागि फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उहाँले ६० वर्षदेखि क्युवाले अमेरिकी नाकाबन्दीको सामना गरिरहेको प्रस्ट पार्नुभयो । क्युवा बढी डाक्टर उत्पादन गर्ने देश भएकोले संसारका धेरै देशहरूमा उपचारमा सहयोग गरिरहेको प्रस्ट पार्दै उहाँले नेपालमा २०७२ सालका भूकम्प पीडित र घाइतेको क्युवाली डाक्टरले निःशुल्क उपचार गरेको हामीले बिर्सेका छैनौँ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले एमसीसी, नागरिकता विधेयक, एसपीपी, अरुण, अरुण तेस्रोजस्ता राष्ट्रघाती सन्धि सम्झौताको विरोध गरेको उल्लेख गर्दै उहाँले हाम्रो उद्देश्य जनताको प्रजातन्त्र हँुदै समाजवाद र साम्यवादमा पुग्ने हो भन्नुभयो । यस्तो आदर्श व्यवस्था ल्याउनको लागि सम्पूर्ण किसान र मजदुर राजनीतिमा लाग्नुपर्छ उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका सचिव गगनबहादुर थापामगरले नेपालमा अहिले पुँजीवादी व्यवस्था भएकोले जनताले दुःख पाइरहेको प्रस्ट पार्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्ने सरकारको आयु छोटिँदै छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका कैलाली सदस्य नन्दा रानाले वर्गीय मुक्तिबिना महिला मुक्ति सम्भव हुँदैन भन्नुभयो । महिलालाई शिक्षा र रोजगारी दिन समाजवादी व्यवस्था ल्याउनुपर्ने आवश्यक भएको उहाँले बताउनुभयो ।
धनगढी उपमहानगरपालिका वडा नं २ पुरानो भन्सार तिलकेतालमा करिस्मा रामजालीको संयोजकत्वमा ४ सदस्यीय सम्पर्क समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *