यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भनिन्छ, मानिसको मृत्यु दुई प्रकारको हुन्छ । एक प्रकारको मानिसको मृत्यु पहाडभन्दा पनि ग¥हुङ्गो हुन्छ भने अर्को प्रकारको मानिसको मृत्यु प्वाँखभन्दा हलुुङ्गो हुन्छ । जुन मानिसले आफ्नो व्यक्तिगत सुख सुविधा त्यागेर समाज र देशको परिवर्तनको लागि ठुलो योगदान दिन्छ त्यस्तो मानिसको मृत्यु पहाडभन्दा गह्रुँगो हुन्छ । जुन मानिसले समाज र देशको लागि योगदान गर्दैन आफ्नो व्यक्तिगत स्वार्थबाट एक पाइला बाहिर टेक्दैन आफ्नो र परिवारको मात्र सुख र स्वार्थ हेर्छ त्यस्ता मानिसको मृत्यु प्वाँखभन्दा हलुङ्गो हुन्छ ।
सङघर्ष नै जीवन हो, जीवन नै सङघर्ष हो भन्ने विचारलाई हृदयमा राखेर व्यक्तिगत स्वार्थ सुख, सुविधालाई त्यागेर समाज, देशको लागि अथक लागेका स्वर्गीय प्रधान एक क्रान्तिकारी शिक्षक एवं नेपाली क्रान्तिकारी महिला सङ्घका जुझारु नेतृ तथा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)की जीवन सङ्गिनी हुनुहुन्थ्यो । उहाँ महिला दिदीबहिनीहरूका बिच परिचित एवं सङघर्षशील महिला हुनुहुन्थ्यो । जीवनमा अनेक सुख—दुःख, अनेक साना—ठुला सङ्कट, समस्या र चुनौती आउन सक्छ । त्यसको सामना गर्ने तागत हामीमा हुनुपर्छ । क्लारा जेटकिन, रोजा लक्जेम्वर्ग, याङकाई हुई, अन्नालुइ स्ट्रङजस्ता क्रान्तिकारी लडाकुहरूको उदाहरण दिँदै विश्वको महिला मुक्ति र वर्गीय मुक्तिको लागि सङ्घर्षको विकल्प छैन भन्ने विचार उहाँ राख्नुहन्थ्यो ।
उहाँ महिलाहरू घरको चुलोचौकामा मात्र सीमित भएर बस्नुहुँदैन† समाज परिवर्तन र स्वतन्त्रताको लागि सङ्घर्षमा लाग्नुपर्ने विचार महिला दिदीबहिनीहरूको बैठक, भेला, सभा सम्मेलनलगायतका विभिन्न कार्यक्रमहरूमा राख्नुहुन्थ्यो ।
सादा जीवन उच्च विचारका धनी, दुःखमा आत्तिनु हुँदैन सुखमा मात्तिनु हुँदैन भन्ने विचार राख्ने शोभा प्रधान जीवनको सङर्घषदेखि कहिल्यै थाक्नु भएन । उहाँ नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय पदाधिकारी हुनुहुन्थ्यो । शिक्षक आन्दोलनको क्रममा काठमाडौँ प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा उहाँसहित अन्य शिक्षकहरू पक्राउमा परेका थिए । उहाँ हिरासतभित्र हुने विभेदको विरोध गर्नुहुन्थ्यो । उहाँ देशका शोषित पीडित महिलावर्गको मुक्ति, न्याय र स्वतन्त्रताका लागि लडिरहेका विश्वका महिलाहरूको समर्थन र सहयोग गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रवादी भावना राख्नुहुन्थ्यो । पुँजीवादी र साम्राज्यवादी देशले विश्वका स्वतन्त्रता चाहने देश र जनतामाथि हुने विभेद, दमनको विरोधमा आफू पनि लाग्ने र अरु महिला दिदीबहिनीहरूलाई पनि लाग्न हौसला दिनुहुन्थ्यो ।
शिक्षणको क्रममा कुनै समस्या आउँदा समाधानका उपाय बताएर उहाँ हौसला दिनुहुन्थ्यो । काम गर्दै जाँदा हुने कमी कमजोरी औँल्याएर उहाँ आलोचना गरेर सही बाटोमा लान सहयोग गर्नुहुन्थ्यो । आफ्ना विद्यार्थीहरूलाई सक्षम, अनुशासित, इमानदार र देशभक्त नागरिक तयार गर्नु उहाँ आफ्नो दायित्व सम्झनुहुन्थ्यो । त्यसैले उहाँ आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई पढाइ सँगसँगै व्यक्तित्व विकास, देशभक्तिको भावना, समाज र देशप्रतिको आफ्नो जिम्मेवारीका बारेमा ज्ञान दिने गर्नुहुन्थ्यो ।
पूर्वशिक्षक शोभा प्रधान आफ्नो देशका शोषित पीडित जनता र देशमाथि भइरहेको अन्याय, अत्याचार, हस्तक्षेप र आक्रमणको विरोधमा लाग्ने उहाँ सङ्घर्षशील हुनुहुन्थ्यो । सङ्घर्षको बाटोमा अगाडि बढिरहेका उहाँ अरुलाई सान्त्वना दिनृुहुन्थ्यो ।
आफूलाई लागेको रोग अरु दिदीबहिनीहरू कसैलाई नलागोस् भनी स्वास्थ्य शिविरहरू राख्न उहाँले पहल गर्नुभयो । स्वास्थ्य शिविरहरूबाट धेरै दिदीबहिनीहरू सचेत भए र बचे । महिला सङ्घले यस्तो कदमलाई जारी राख्नु आवश्यक छ । यसले जनताको ठुलो सेवा हुनेछ ।
उहाँ एक देशभक्त, क्रान्तिकारी महिला पनि हुनुहुन्थ्यो । उहाँ महिला आन्दोलन, शिक्षक आन्दोलन र राजनीतिक आन्दोलनमा सक्रिय सहभागी भएर देशमाथि भएको कुनै विदेशी हस्तक्षेप, अन्याय, अत्याचार र आक्रमणको विरोध गर्नुहुन्थ्यो ।
जसरी विश्व सर्वहारावर्गका महान् गुरु कार्लमाक्र्सलाई कम्युनिस्ट घोषणापत्रलगायतका रचना अध्ययन, अनुसन्धान गर्न, दुःख पीडाको आँसु पिएर अर्धाङ्गिनी जेनी माक्र्सले साथ, सहयोग र माया दिनुभयो, जीवन सङ्गिनी याङकाइ हुईले देशका सामन्तवाद, पुँजीवाद, साम्राज्यवादी जापान, अमेरिकालगायतका देशसँग लडेर चीनमा जनवादी गणतन्त्र चीन स्थापना गर्न माओलाई साथ, सहयोग र माया दिनुभयो, जीवनसङ्गिनी नेतृ नादेज्दा क्रुप्सकायाले सोभियत सङ्घमा समाजवादी व्यवस्था स्थापना गर्न सन् १९१७ को सशस्त्र क्रान्ति सफल पार्न लेनिनलाई जीवनभर साथ दिनुभयो, त्यस्तै जीवन सङ्गिनी शोभा प्रधानले नेपालमा जनताको प्रजातन्त्र, समाजवाद स्थापना गर्न पार्टी बिजुक्छेँलाई जीवनको अन्तिम घडीसम्म साथ, सहयोग र माया दिनुभयो ।
भक्तपुर नगर पञ्चायतले शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माण, जनतालाई राजनीतिक चेतना दिन जनताको निःस्वार्थ सेवा गरेको सहन नसकेर नेमकिपालाई समूल नष्ट गर्न २०४५ सालमा राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको थियो । त्यस काण्डमा पार्टी अध्यक्ष रोहितलगायत धेरै नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाइएको थियो । त्यो षड्यन्त्रलाई चिर्न र जनताबिच उदाङ्ग्याउन उहाँले सङ्घर्ष गर्नुभयो । उहाँले वर्गशत्रुहरूको गाली, दुव्र्यवहार, दुःख पीडासँग लड्नुभयो । उहाँले कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ प्याकुुरेल, दमननथ ढुङ्गाना, सुवासचन्द्र नेवाङजस्ता कानुनविद्, हृषीकेश शाह, मथुराप्रसाद श्रेष्ठजस्ता मावअधिकारवादीहरू, गोविन्द वियोगीजस्ता वरिष्ठ पत्रकारहरूकहाँ गएर षड्यन्त्रबारे सत्यतथ्य कुराको जानकारी दिनुभयो । महिला दिदीबहिनीहरूले उक्त षड्यन्त्रको विरोधमा सबै बन्दी नेता तथा कार्यकर्तालाई रिहा गराउन मसाल जुलुस गरे । भक्तपुरलगायत देशका विभिन्न जिल्लामा नेमकिपाका नेता तथा कार्यकर्ता, समर्थकहरूले पुलिस खोरमा अमानवीय, पासविक यातना पाएका थिए । उहाँ बिजुक्छँेलाई भेट्न नख्खु जेल जानुुहुन्थ्यो । नेता बिजुक्छँेले शोभालाई मायाको पत्र दिनुहुन्थ्यो । त्यही पत्र सँगालेर ‘जेलका चिठीहरू’ भन्ने पुस्तक आज हामीले पढ्न पायौँ । आखिर अत्याचारी पञ्चायत सरकार अरुलाई फसाएर सिध्याउन खनेको खाल्डोको षड्यन्त्रको जालोमा आफै फसेर अन्त्य भयो । गिरफ्तारमा परेर जेल जीवन बिताइरहेका नेमकिपाका सबै कार्यकर्ता, समर्थक २०४६ वैशाख ५ गते रिहा भए ।
यसरी शोभा प्रधान महिला दिदीबहिनीहरूको सङघर्षका प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँको भावना र विचार पूरा गर्न हामी लागेमा उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।
Leave a Reply