भर्खरै :

प्रजग कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

प्रजग कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

हनोई, २० जून (एएफपी) । प्रजग कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ ।
नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।
यसअघि, नेता पुटिनले प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । किमले युक्रेनविरुद्ध रुसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
वासिङ्टन र उसका सहयोगीहरूले प्रजग कोरियाले युक्रेनयुद्धका लागि रुसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् ।
बुधबार २४ वर्षमा प्रजग कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’ लाई आफूले इन्कार नगरेको बताउनुभएको थियो । पुटिनले भन्नुभयो, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौँ ।”
प्रजग कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज बुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् ।
नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा घनिष्ठ मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *