भर्खरै :

का. शोभा प्रधानको दोस्रो स्मृतिसभा सम्पन्न

का. शोभा प्रधानको दोस्रो स्मृतिसभा सम्पन्न

भक्तपुर, ८ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको दोस्रो स्मृतिसभा शनिबार सम्पन्न भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शोभा प्रधानको क्यान्सर उपचारका सन्दर्भहरू उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “२०५६ सालमा शोभा मिसको स्तन क्यान्सरको पहिचान हुँदा टिचिङ अस्पतालका डाक्टरहरूले नेपालमै उपचार सम्भव छ भनेपछि आधा रोग निको भएजस्तै भयो । रोगीको उपचारमा डाक्टर र नर्सहरूको अभिमुखीकरण निकै महत्वपूर्ण हुने अनुभव भयो ।
अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो, “समाजलाई बुझेका डाक्टरहरूले रोगीको सेवा गर्न सक्दछन् ।”
“नेपालमा केही डाक्टरहरू फाइदाका लागि औषधि कम्पनीहरूको पछि लाग्ने गरेको तथ्य टिठलाग्दो छ । डाक्टरहरू औषधिको गुणस्तरबारे सचेत हुनुपर्छ । त्यतिमात्र होइन बिरामीलाई महिनौँसम्म एउटै औषधिले निको नभएपछि विशेषज्ञ डाक्टर भेट्ने र आवश्यक उपचारको निम्ति सुझाउनुपर्छ”, उहाँले मार्गनिर्देश गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “हरेक घरमा एक जना स्वास्थ्यकर्मी हुनुपर्छ । नत्र सरकार या राज्यसँग नडराउने हामी रोगसँग डराउनुपर्ने स्थिति रहन्छ ।”
उहाँले थप्नुभयो, “अहिले पनि ज्येष्ठ नागरिकहरू अस्पताल आउँदा नातिनातिनासँग आउन्स् भन्ने गरेको छु । नेपाली भाषा जान्ने र अलि अङ्ग्रेजी पनि बुझेको पुस्तालाई उपचार र औषधिसम्बन्धी बुझ्न सजिलो हुन्छ ।”
२०७२ सालको भूकम्पमा क्युवाली चिकित्सक टोलीले भूकम्प पीडितको उपचारमा पु¥याएको सेवाबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले सरकारले ती ४९ जना चिकित्सक टोलीलाई कीर्तिपुरको एक अस्पतालमा लुकाइ राखेर भूकम्प पीडितको सेवा गर्नबाट टाढा राख्न खोजेको बताउनुभयो । ती चिकित्सक टोलीले स्वयम्सेवक बनी भूकम्पले भत्केका संरचनासमेत पन्छाउन तयार रहेको स्मरण गर्दै उहाँले रोगीको मात्र नभई समाजकै सेवा गर्न तयार स्वास्थ्यकर्मी तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
समाजवादी देश क्युवाका चिकित्सकहरूले ग्यास्ड्राइटिक्स या अन्य रोगका लागि अनावश्यक मात्राका औषधिहरू प्रयोग नगरेको स्मरण गर्दै अध्यक्ष रोहितले कतिपय नेपाली डाक्टरहरूले आफ्नो निजी फाइदाको लागि महिनौँसम्म एउटै कम्पनीको एउटै औषधि दिइरहेको कारण पनि रोगको सही पहिचान हुन नसकेको तथ्य बताउनुभयो ।
वरिष्ठ चिकित्सक प्रकाश सायमीले २०५६ सालमा शोभा प्रधानको स्तन क्यान्सरको शल्यक्रिया गर्दा नेपालमा औँलामा गन्न मिल्ने सङ्ख्यामा मात्र नेपाली शल्य चिकित्सक भएको बताउनुभयो ।
“एकजना शल्य चिकित्सकले दिनको ४/५ वटा शल्यक्रिया गर्नुपर्ने समय थियो, त्यो । आज त झन् क्यान्सर रोगी बढेको छ । विशेषगरी महिलालाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको खतरा बढ्दो छ”, उहाँले थप्नुभयो ।
डा. सायमीले आजभोलि जीवनशैली र खानपिनमा पश्चिमको प्रभाव अर्थात् पश्चिमीकरणको कारण नेपालमा क्यान्सर रोगीको बढेको विश्लेषण गर्नुभयो ।
“अत्यन्त पत्रु खानाको निरन्तर सेवन, महिलाले ३० वर्षपछि बच्चा जन्माउने, मोटोपन समयमै पहिचान नहुनु, उपचारमा हिच्किचाउनुले पनि क्यान्सर रोग लाग्ने सम्भावना बढ्छ”, उहाँले भन्नुभयो ।
अतिथि डाक्टर सरोज धितालले अत्यन्त भावुक भई शोभा भाउजूलाई सम्झनुभयो ।
क्यान्सर लागिहाले पनि उच्च आत्मबलका साथ लड्ने कुरा शोभा भाउजूबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“मान्छेहरू सामान्य रूघाखोकी र दुर्घटनाले पनि मर्छन् । त्यसकारण रोग लागेपछि आत्तिने होइन, जीवनको उज्यालो पक्षको निम्ति लड्ने हो”, उहाँले भन्नुभयो ।
अर्का अतिथि चिकित्सक डा. सुदिप श्रेष्ठले शोभा भाउजूले नेपालमै स्तन क्यान्सरको उपचार गरी स्वस्थ भई २० वर्षसम्म समाजको सेवामा लाग्नुभएको उल्लेख गर्दै रोग लाग्नेहरूको भन्दा निको भएर समाजको सेवा गर्नेहरूको बारेमा बढी प्रचार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेमकिपाका अध्यक्ष भइकन पनि नेपालमै आफ्नो श्रीमतीको उपचार गराएर नेपाली चिकित्सकहरूलाई हौसला दिएको खुशी व्यक्त गर्दै भन्नुभयो, “धेरैजसो राजनीतिक दलका नेताहरू सामान्य रोगमा पनि उपचारको लागि विदेश जानुलाई प्राथमिकता दिन्छन्† तर, सर्वसाधारण गरिब जनतालाई महँगो उपचार गराउन बाध्य पार्छन् ।”
उहाँले विभिन्न प्रकारका क्यान्सरको कारण र निदानको उपायबारे चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त सभामा कवयित्री सुलोचना मानन्धर, स्रष्टा समाज नेपालका सुशीला कर्माचार्य, क्यान्सर अस्पतालका डाइरेक्टर स्वरूपा श्रेष्ठले शोभा प्रधानसँग जोडिएका सम्झनाहरू राख्नुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका सचिव सुलोचना छ्वाजु र सदस्य गङ्गा वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *