भर्खरै :

सरकारको करनीतिले मुद्रण उद्योगीहरू विस्थापित हुने स्थिति

सरकारको करनीतिले मुद्रण उद्योगीहरू विस्थापित हुने स्थिति

भक्तपुर, ८ असार । नेपाल मुद्रण उद्योग महासङ्घका अध्यक्ष विष्णु तिवारीको प्रमुख आतिथ्यमा भक्तपुर मुद्रण उद्योग सङ्घको सातौँ र आठौँ साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष विष्णु तिवारीले उद्योगीहरूबिच अस्वस्थ प्रतिस्पर्धा हुनुलाई सही मान्न नसकिने भएकोले निश्चित मापदण्ड बनाएर समान दररेट बनाई कार्य गर्दा सबैलाई फाइदा हुने विचार राख्नुभयो । नेपाल सरकारले विदेशमा मुद्रण भई आएका सामग्रीहरूमा कर छुट दिने तर स्वदेशी मुद्रण उद्योगी व्यवसायीहरूले प्रयोग गर्ने कच्चा पदार्थहरूमा करवृद्धि गरिनु स्वदेशी मुद्रण उद्योगको हितमा नभएको उल्लेख गर्दै उद्योगीहरू विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
नेपाल मुद्रण उद्योग महासङ्घका पूर्वअध्यक्ष माधव केसीले स्थानीय निकायसँग समन्वय गरी कार्य गर्नुपर्ने सुझाउनुभयो ।
नेपाल मुद्रण उद्योग महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष अजय वादे श्रेष्ठले हरेक समितिको कार्यकालमा समस्याहरूको मात्र पहिचान हुनु तर त्यसको समाधानका लागि कुनै ठोस पहल नहुनु नै मूल समस्या भएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबञ्जारले मुद्रण उद्योगीहरू सङ्गठित भई एकाकार हुनु सकारात्मक भएको बताउनुभयो ।
काभ्रे, काठमाडौँ, ललितपुर जिल्लाका मुद्रण सङ्घका अध्यक्षहरूले शुभकामना मन्तव्य राख्नुभयो ।
सोही दिन नै भएको बन्द सत्रमा सङ्घका सचिव निकेश वैद्यले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शिरिष सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
भक्तपुर मुद्रण उद्योग सङ्घका अध्यक्ष विश्वराम दुवालको अध्यक्षतामा रहेको कार्य समिति भङ्ग गरी विधान याकामीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *