भर्खरै :

वर्गसङ्घर्षले मात्र उत्पीडनमा परेका श्रमजीवी वर्गको मुक्ति सम्भव

वर्गसङ्घर्षले मात्र उत्पीडनमा परेका श्रमजीवी वर्गको मुक्ति सम्भव

२०७९ असार २५ गतेको नयाँ पत्रिकामा ‘फर्किएनन् महाजनको खेत खन्न गएका बृहस्पति’ शीर्षकको एउटा मर्मस्पर्शी समाचार छापिएको थियो । नेपालमा बँधुवा मजदुरहरूले भोग्नुपरेको दुखान्त तस्वीर लेखमा झल्कन्थ्यो । लेखअनुसार बँधुवा कृषि मजदुरी गरिरहेका धनुषा, मिथिला बिहारी २, मथलेश्वरका ४२ वर्षीय बृहस्पति सदा महाजनको खेतमा काम गर्न जाँदा खेतैमा मृत्यु हुन्छ । सदा दलित समुदायको हुनुहुन्थ्यो । चर्को घाममा भोकै काम गरिरहँदा उनको मृत्यु भयो । यो एउटा प्रतिनिधि घटना हो । प्रजातन्त्र र गणतन्त्र आएको यतिका वर्ष बितिसक्दा पनि नेपालमा बँधुवा कृषि मजदुरहरूको अवस्था अझै भयावह छ । बर्सेनि १० देखि १५ जना दलितहरू साहुको खेतमा काम गर्दागर्दै मर्छन् । यसरी मरे पनि मृतकले कहीँबाट क्षतिपूर्ति पाउँदैनन् । आफ्नो जग्गा जमिन नभएका दलितका परिवार अझै पनि बाउबाजेले जस्तै साहुमहाजनको जमिनमा हड्डी खियाउन बाध्य छन् ।
भारत र नेपालमा जाति प्रथाले राम्रै जरा गाडेको छ । माथिल्लो जाति भनाउँदाहरूबाट तल्लो जातिमाथि हुने दमन निर्मम र बर्बर नै छ । भारतमा दलितहरूको अवस्था नेपालमा भन्दा अझ निर्मम छ । भारतका अधिकांश स्थानमा शुद्र जातिलाई उच्च जातिका मानिसले प्रयोग गर्ने कुवा वा इनारबाट पानी भर्ने अनुमति अझै छैन । संविधान, नियम र कानुनले यस्तो कार्यलाई वर्जित गरे पनि व्यवहारमा दलितहरू दमित नै छन् । नेसनल क्राइम रेड्क्रस ब्युरोका अनुसार भारतमा हरेक १६ मिनेटमा एकजना गैरदलितले एकजना दलितविरुद्ध अपराध गर्छ । हरेक दिन चारजना अछुत महिला गैरदलित पुरुषबाट बलात्कृत हुन्छन् । हरेक हप्ता १३ जना दलितको हत्या हुन्छ र ६ जना दलित अपहरणमा पर्छन् । (The Doctor and the Saint–Arundhati Roy)
पहिले पहिले विद्यालयमा शुद्र (दलित) जातिका बच्चाले पढ्न पाउँदैनथे । शुद्र जातिलाई वेद पढ्न र वेदका वाणीहरू सुन्नसमेत वर्जित थियो । शुद्र जातिको छायाँ उच्च जातिको शरीरमा पर्नसमेत हुने थिएन । हिँड्ने बाटोसमेत अलग हुन्थे । यो परम्परामा अहिले केही परिवर्तन त आयो तर केही एकाध व्यक्तिबाहेक उत्पादनका साधनबाट वञ्चित पिँधमा परेको दलित समुदाय अmभैm उठ्न सकेको छैन ।
नेपालमा पनि दलितमाथि हुने अत्याचार उस्तै छ । गाउँघरमा शुद्र जातिले धारामा पानी भरेपछि उच्च जातिकाहरूले शुद्रले कुल्चेको ढुङ्गा पखाल्ने र सुनपानी छर्केर चोखो गराउने प्रचलन अहिले पनि छ । सार्वजनिक स्थलमा दलितहरू अझै अपमानित हुन्छन् । एउटा पशु मान्छेको चुलोमा सहजै पुग्छ तर दलितले अझै घरभित्र प्रवेश पाउँदैनन् ।
उच्च जातिकाहरूले रचना गरेका वेद, पुराण, स्मृतिलगायतका ग्रन्थहरूमा दलितलाई पशुसमान मूल्याङ्कन गरियो । त्यसकै मारमा यो शिल्पी समुदाय परे । वेदमा ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रको बयान गरिएको पाइन्छ । ब्राह्मणलाई कवि, पुरोहित, क्षेत्रीयलाई योद्धा, वैश्यलाई व्यापार–व्यवसाय, कृषि पेसामा संलग्न सामान्य कामदार र शुद्रलाई घरेलु नोकर, दासको रूपमा वर्णन गरिएको छ । जसको कारण हजारौँ वर्षसम्म दलित समुदायमाथि अत्याचार भयो । मान्छे मान्छेबिच भेद सृजना भयो ।
मनुस्मृतिले शुद्र, ढोल, नारीलाई यातनाका भागिदार बनायो । कौटिल्य विष्णुगुप्तले पनि आफ्नो रचनामा शुद्र जातिलाई पशुसमान व्याख्या गरे । उनी भन्छन्, “यदि कुनै शुद्रले ब्राह्मण पत्नीको पवित्रता भङ्ग गर्छ भने उसलाई जिउँदै जलाइन्छ । यदि उसले कुनै ब्राह्मणलाई गाली ग¥यो वा आक्रमण ग¥यो भने उसको दोषी अङग काटिनेछ ।” धर्मशास्त्रको आधारमा शुद्रले वेदको वाणी सुने कानमा सिसा पगालेर हाल्ने, वेदका वाक्य उच्चारण गरे जिब्रो काट्ने, उच्च जातिका मानिसलाई आँखा जुधाएर हेरे आँखा फुटाउने, हात लगाए अङ्गभङ्ग गर्नेसमेतका कठोर नियमहरू बनेका थिए ।
जयस्थिति मल्लको मानव न्यायशास्त्रमा “ब्राह्मणका लागि आफ्ना जातकी स्त्रीबाहेक, क्षेत्रीय, वैश्य र शुद्रा यी तीन जातकी स्त्रीहरू पत्नी बन्न सक्छन् । शुद्र जातकी कन्याका लागि वैश्य, क्षेत्रीय र ब्राह्मण यी तीन जातका बर आफ्नो जातबाहेकका पति बन्न सक्छन् । क्षेत्रीयका निमित्त आफ्नो जातबाहेकका वैश्य र शुद्रा दुई अरू पत्नी हुन सक्छन् । वैश्यका निमित्त आफ्नो जातबाहेकका शुद्रा एक पत्नी हुन सक्छिन् । वैश्य कन्याका आफ्नो जातबाहेकका ब्राह्मण र क्षत्रीय यी दुई पति हुन सक्छन् । क्षेत्रीय कन्याका आफ्नो जातबाहेकको ब्राह्मण एकमात्र पति हुन सक्छन्” भन्ने विभेदकारी नियम छ । शासकहरूको यस्ता कठोर नियमहरूको कारण लामो समयसम्म श्रमजीवी वर्ग समाजको पिँधमा रहन पुग्यो ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा दलित समुदायको जनसङ्ख्या ४१ लाख ५५ हजार ९१७ रहेको छ । यत्रो ठुलो सङ्ख्यामा रहेका दलितहरू आत्मसम्मानका साथ बाँच्न अझै पाउँदैनन् । अधिकांश दलितहरूको आफ्नो जमिन छैन । कतिपय दलित बस्तीमा सडक, बिजुली, खानेपानीको सुविधा अझै पुगेको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहा जिल्लाको बताहा खोलाको खोरिया बस्तीमा बसोबास गरिरहेका दलितहरूले खानेपानीको सुविधासमेत नपाएको समाचार केही दिनअघि प्रकाशित भयो । जङ्गलमा खोरिया खनेर बसेका ती दलितहरूको कुन बेला उठिवास हुने हो ठेगान छैन । यस्तो समस्या देशैभरि छ ।
दलितहरूले सिलाएको कपडा लगाउन हुने, दलितले बजाएको मादलको तालमा नाच्न हुने, दलितको पसिनाले सिञ्चित धर्तीबाट उब्जिएको अन्न खान हुने तर दलित घरभित्र पस्न नहुने, दलितले छोएको खान नहुने अचम्मको संस्कार हाम्रो समाजमा विद्यमान छ, यसलाई तोड्नैपर्छ । यस्तो संस्कारका कारण दलित समुदायका युवाहरू बिदेसिन बाध्य छन् । गाउँघरमा दलितले छोएको नचल्ने तर ती नै छुन नहुने दलितहरू भारत, यूएई, जापानजस्ता देशका पाँचतारे होटेल प्रतिष्ठित सेफ बनेर दुनियाँलाई खुवाइरहेको समाचार छ । यस्तो विषयमा नेपालका शासकहरू गम्भीर हुनु जरुरी छ । उत्पीडनमा परेका जाति, समुदाय तथा श्रमजीवीवर्ग पनि धार्मिक अन्धतामा अल्झिनुको सट्टा माक्र्सले देखाएको वर्गसङ्घर्षको बाटोबाट अघि बढ्नु जरुरी छ । वर्गसङ्घर्षले मात्र उत्पीडनमा परेका श्रमजीवीवर्गको मुक्ति सम्भव छ ।
२०८१ असार २

Leave a Reply

Your email address will not be published. Required fields are marked *