भर्खरै :

४८ घण्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम पाएको रोग के हो ?

  • असार १०, २०८१
  • डा. शेरबहादुर पुन
  • विचार
४८ घण्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम पाएको रोग के हो ?

पछिल्लो केही दिन यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ४८ घण्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम पाएको रोगको चर्चा चुलिएको छ । खासगरी जापानमा यो रोग फैलिएको समाचारसँगै यो रोगप्रति विश्वको चासो ह्वात्तै बढेको छ । भर्खरै कोभिड–१९ को दलदलबाट निक्लेको अवस्थामा यस्तो घातक सङ्क्रमण बढ्नु आफैमा चिन्ताको विषय हो । धेरैको मनमा के यो नयाँ सङ्क्रमण/रोग हो ? यसका लक्षणहरू के–कस्ता हुन्छन् ? यसको जोखिममा कस्ता/कुन समूहमा पर्दछ ? यो कसरी फैलिन्छ ? के यसको उपचार सम्भव छ ? जापानमा नै किन बढिरहेको छ ? के यो सङ्क्रमण नेपालमा पनि होला ? भन्ने जस्ता जिज्ञासा र प्रश्नवाचक चिह्नहरू खडा भइरहेका छन् ।

के यो नयँँ सङ्क्रमण/रोग हो ?
यो नयाँ सङ्क्रमण भने होइन । यो रोगलाई ४८ घण्टे ’मासु खाने ब्याक्टेरिया’ उपनाम दिए पनि यसलाई एसटीएसएस अर्थात् ‘इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम’ भन्ने गरिन्छ । समूह ’ए’ इस्ट्रेपटोकोक्कस (जीएएस) ब्याक्टेरियालाई एसटिएसएसको कारक मानिन्छ । यो पहिले नै स्थापित/पहिचान भइसकेको ब्याक्टेरिया हो । एसटीएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो । तर, पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले विश्वको ध्यान हाल यो सङ्क्रमणप्रति आकृष्ट भएको हो ।

यसका लक्षणहरू कस्ता हुन्छन् ?
ज्वरो/जाडो लाग्ने, मांशपेशीका/जिउ दुख्नु र वाकवाक/बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरू हुन् । तर बिरामीमा एकपछि अर्को द्रुतगतिमा रक्तचाप घट्ने, धड्कन र श्वासप्रश्वासको गति बढ्ने अनि रगतमा यसको टक्सिन (विषाक्त पदार्थ) फैलन गइ मुख्य अङ्गहरू जस्तै मिर्गौला, कलेजो, फोक्सोजस्ता मुख्य अङ्गहरूमा अवरोध÷क्षति हुने (मल्टि–अर्गान फेलर), अचेत हुने (शक) र मृत्यु हुने गर्दछ ।
त्यस्तै यसले शरीरका कोषिका/तन्तुलाई क्षति/मृत (निक्रोसिस) गराउँदछ । यसकारण, पनि यसलाई ’मासु खाने ब्याक्टेरिया’ को उपनाम दिइएको हो । अचेत र मल्टी–अर्गान फेलर भएको अवस्थामा आक्रामक उपचारका बाबजुत अधिकांश बिरामीको मृत्यु ४८ घण्टाभित्र हुने गर्दछ । यसको मृत्युदर औसतमा ३० प्रतिशत देखिएको छ । वृद्ध उमेर, दीर्घ रोग, ढिलो रोगको पहिचान मृत्युदर बढ्नुका मुख्य कारकहरू मानिन्छ ।

यसको जोखिम कुन समूह/कस्ता अवस्थाकालाई हुन्छ ?
जापानको ‘नेसनल इन्स्टिच्युट अफ इन्फेकसियोस डिजिज’ का अनुसार (सन् २०१८ देखि २०२२ सम्मको तथ्याङ्कअनुसार) एसटीएसएसको मृत्युदर २३ प्रतिशत देखिन्छ भने मृत्यु विशेष गरेर ज्येष्ठ नागरिक (६० वर्षमाथिका) र दीर्घ रोग भएकालाई देखिन्छ । तर सन् २०२३ को जुलाई यता ५० वर्षमुनि उमेर समूहमा पनि यो सङ्क्रमण बढेको भनिएको छ । यद्यपि यसको जोखिम कुनै पनि उमेर समूहकालाई हुन सक्दछ । त्यस्तै छालामा चोटपटक वा सङ्क्रमणको कारणले घाउ भएको अवस्थामा पनि एसटीएसएसको जोखिम बढ्ने गर्दछ ।

यो कसरी फैलिन्छ ?
सामान्यतय समूह ‘ए’ इस्ट्रेपटोकोक्कस (जीएएस) विशेषतः सङ्क्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । बोल्दा, खोक्दा वा हाँछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ । सङ्क्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि सङ्क्रमण सर्न सक्दछ । केही अनुसन्धानहरूले पारिवारिक सदस्य र अस्पताल कर्मचारीबिच यो ब्याक्टेरिया फैलिएको देखाएका थिए ।

के यसको उपचार सम्भव छ ?
यसको उपचार सम्भव छ तर यसको लागि सङ्क्रमणको शीघ्र निदान र एन्टिबायोटिक जति सक्दो चाँडो प्रयोग अनिवार्य हुनुपर्दछ । यसको पहिचान रगत, घाउलगायत शरीरका विभिन्न तरल पदार्थको जाँच गरेर पत्ता लगाउन सकिन्छ ।

जापानमा नै किन बढिरहेको छ ?
यसको सटिक उत्तर भने छैन । जापान विकसित, व्यवस्थित र सफाइको मामलामा अग्रस्थानमा रहेको देश हो । तर, पनि एसटीएसएसका केशहरू बर्सेनि बढ्दै जानुको कारण थाहा नहुँदा स्वास्थ्यमा चुनौती थपिएको छ । समूह ‘ए’ इस्ट्रेपटोकोक्कस (जीएएस) ब्याक्टेरियासम्बन्धी भइरहेको थप अनुवांशिक अध्ययनको नतिजाले यो ब्याक्टेरिया फैलनुको रहस्य पत्ता लगाउन मद्दत मिल्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
के यो सङ्क्रमण नेपालमा पनि होला ?
माथि नै उल्लेख गरिसकेअनुसार यो सङ्क्रमण नौलो नभएकोले नेपालमा हुनसक्छ । समूह ‘ए’ इस्ट्रेपटोकोक्कस (जीएएस) ब्याक्टेरियासम्बन्धी विभिन्न अध्ययन/अनुसन्धानहरू नेपालमा पनि भएका छन् । तर, अनुवांशिक स्तरमा भने खासै काम गरेको देखिँदैन । जसले गर्दा हाल जापानमा देखिएको जस्तै ‘जीन क्यारी’ गरेको/गर्ने समूहका समूह ‘ए’ इस्ट्रेपटोकोक्कस (जीएएस) ब्याक्टेरिया छ/छैन भनिहाल्ने अवस्था छैन । तर, जापानमा ४८ घन्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम पाएको रोग बर्सेनि बढ्दै जाँदा नेपालले पनि अनुवांशिक स्तरमा ब्याक्टेरियाको पर्याप्त अनुसन्धान गरी जोखिमको आकलन गर्दै सम्भावित प्रकोपलाई रोक्ने योजना बनाउन आवश्यक देखिन्छ ।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *