यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल–भारतबिच २००७ साल साउन १६ (३१ जुलाई, १९५०) मा शान्ति तथा मैत्री सन्धि भयो । उक्त सन्धिको धारा ७ मा ‘बसोबास, सम्पत्ति खरिद, व्यापार र वाणिज्यमा सहभागिता वा आवतजावतका लागि एकअर्काका नागरिकलाई राष्ट्रिय व्यवहार गर्ने’ उल्लेख छ । यो नेपालको सार्वभौमिकतामाथि भारतीय विस्तारवादको हस्तक्षेप निम्त्याउने असमान सन्धि हो । यसकै आधारमा भारतीय नागरिकलाई राष्ट्रिय व्यवहार गरिए ठुलो जनसङ्ख्या भएको भारतबाट सानो भूगोल र जनसङ्ख्या भएको नेपालमा मानिसहरूको अनियन्त्रित प्रवेश भई नेपालको स्वतन्त्रता र सार्वभौमिकता नै गुम्ने खतरा रहन्छ ।
यो सन्धिको धारा ८ मा ‘यसअघि नेपाल र बेलायती भारतबिच भएका सम्पूर्ण सन्धि, सम्झौता, स्वीकारपत्र र कबुलियतनामा खारेज हुने’ उल्लेख छ । यो धाराअनुसार नेपाल र बेलायती भारतबिच भएको सन् १८१६ को सुगौली सन्धि पनि खारेज हुन्छ । सुगौली सन्धि खारेज भएपछि नेपाली भूमि पनि फिर्ता हुनुपर्ने हो । तर, नेपालका अहिलेसम्मका शासकहरूले नेपाली भूमि फिर्ता लिने आँट गरेनन् । नेपाली जनता भारतीय एकाधिकार पुँजीको चङ्गुलमा फस्दै छन् । शासक दलहरू भारतीय एकाधिकार पुँजीको गुलामी गर्दै छन् । नेपाली युवा त्यसको प्रतिकार गर्न सङ्घर्षमा उत्रनु आवश्यक छ ।
बेलायतको उपनिवेशबाट मुक्त भएको भारतले विगत लामो समयदेखि योजनाबद्धरूपमा नेपालका दलाल शासकहरूलाई फुटाउने, जुटाउने र आफ्नो स्वार्थअनुकूल काम गराउन सत्तामा पु¥याउने गर्दै आएको छ । भारतले ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि मिच्नुका साथै नेपालको प्राकृतिक स्रोत साधनसमेत कब्जा गर्दै छ । नेपालका दलाल शासकहरूमार्फत देशघाती नागरिकता विधेयक पारित गराई नेपाललाई सिक्किमीकरणको दिशामा लाँदै छ । सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट नेपाली जनताले दिनप्रतिदिन दुव्र्यवहार खेप्दै छन् । केही वर्षअगाडि मात्र आफ्नो सिमानाको रक्षार्थ आवाज उठाएका नेपालका सपुत कञ्चनपुरका गोविन्द गौतमलाई भारतीय विस्तारवादले गोली हानेर हत्या गर्यो । दार्चुलामा महाकाली नदी तर्दै गर्दा तुइन काटिदिएर जयसिंह धामीको हत्या गर्यो भने भारतले महाकाली नदीमा धामीको शव खोज्नसमेत दिएन ।
भारतीय विस्तारवादले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालको सीमा क्षेत्रको कोसीदेखि पश्चिम तराईसम्म सडकजस्तो बाँध र तटबन्ध बनाएको छ । रौतहटको बैरगनिया (गौर सीमापारि) मा भारतीय विस्तारवादले बनाएको बाँध तथा हालसालै निर्माण गरेको सैन्य सडकको कारण वाग्मती र लालबकैयाको पानी थुनिएर नेपाली भूमि गौरको बस्ती बर्सेनि डुबानमा पर्छ । गण्डक ब्यारेजको नहरको कारण नवलपरासीमा नेपाली भूमि डुबानमा पर्छ । सीमा क्षेत्रका लाखौँ नेपालीको उठिवास हुँदै छ भने सुख्खायाममा नेपाली भूमि सिँचाइबाट वञ्चित हुनुपरेको छ ।
खुला सीमाको कारण भारतीय एकाधिकार पुँजीले नेपाली बजार नियन्त्रण गरेको छ । नेपालको सडकमा पनि भारतीय सवारी साधनहरूको रजगज छ । नेपाली सवारी साधन भारतीय भूमिमा सहजै जान पाउँदैन तर भारतीय सवारी साधन नेपाली भूमिमा निर्वाध रूपले आवतजावत गर्छन् । नेपाली व्यवसायीहरू नाङ्लो पसलेमा रूपान्तरण हुँदै छन् । खुला सीमाकै कारण नेपाली कृषकहरू नक्कली मल, बीउबाट पनि ठगिएका छन् भने नेपाली कृषि उत्पादन पनि विस्थापित हुँदै छ । नेपाली भूमिमा ताजा तरकारी मनग्य उत्पादन गर्न सकिन्छ । तर, सरकारले भारतबाट विषादीयुक्त फलफूल, तरकारी भित्याएर नेपाली कृषकलाई डुबाउँदै छ र नेपाली जनताको स्वास्थ्यमाथि पनि खेलबाड गर्दै छ ।
खुला सीमाको कारण नेपाली बालबालिका तथा किशोर किशोरीहरू लागूपदार्थको दुव्र्यसनीमा फस्दै छन् । नेपाली चेलीहरूलाई भारतको विभिन्न सहरहरूमा जबरजस्ती यौन व्यवसायमा लगाइँदै छ । नेपालीहरूलाई भारतीय र नेपाली दलालहरूको गिरोहले जबरजस्ती वा ललाइफकाई मिर्गौला, मुटु, कलेजो, आँखालगायतका अङ्ग निकालेर बेचबिखन गरी ज्यानैसमेत लिँदै छन् । नक्कली फेसबुक पेजमार्फत नेपालीहरूको मृत्यु भएको र सम्पर्कमा कोही नभएकोले दाहसंस्कार समेत गरिदिएको पोस्ट गर्ने घटनाहरू पनि बढ्दै छन् । नेपाली कामदार युवाहरूको निम्ति भारत चिहानघाटजस्तै हुँदै छ । तर, यस्तो गम्भीर विषयमा पनि नेपाल सरकारलाई चासो छैन ।
रोजगारको निम्ति भारत गएका लाखौँ नेपाली युवा भारतीय नागरिकबाट हेपिने, ठगिने र बेपत्ता हुने क्रम बढ्दो छ । विशेषगरी कर्णाली प्रदेशको दैलेख, कालीकोट, जुम्ला, जाजरकोट लगायतका जिल्लाहरूबाट श्रमको लागि भारत गएका धेरै नेपाली युवा भारतमै बेपत्ता भएका छन् । यसरी बेपत्ता भएकाहरूको तथ्याङ्क नेपाल सरकारसँग छैन ।
खुला सीमाबाट नेपालमा विभिन्न धर्मको समेत प्रचार हुँदै छ तथा सांस्कृतिक अतिक्रमण पनि बढ्दै छ । सांस्कृतिक अतिक्रमणको कारण नेपालको समाज खल्बलिँदै छ । नेपाली भूमिमा गुप्तचरी, ठगी, चोरी, हत्या, अपहरण, लुटपाट जस्ता जघन्य अपराधका घटना समेत बढेको पाइन्छ । यसकारण, नेपाल–भारतबिच रहेको खुला सीमा बन्द गर्नु जरुरी छ ।
स्रोत : द युथ बुलेटिन,
२०८१ जेठ
Leave a Reply