भर्खरै :

सभ्य र सुसंस्कृत समाज बनाउन सबै जिम्मेवार हुनु आवश्यक

यो सङ्घीय लोकतान्त्रिक व्यवस्था पुँजीवादी व्यवस्था हो । यो पुँजीवादी व्यवस्थाले समाजवाद ल्याउँदैन । यो पुँजीवादी व्यवस्थाको नेतृत्व कम्युनिस्ट भनिने दलका नेताहरूले गरेका छन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको यो सरकारले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार कुनै नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन । तर, पनि शासकहरू बजेटलाई समाजवादउन्मुख भएको बताउँछन् । कम्युनिस्ट भनिने सबै दलहरू समाजवादी गणतन्त्रका पक्षधर हुन्छन् । कम्युनिस्टहरू सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र विस्तारवादविरोधी हुन्छन् । उनीहरू साम्राज्यवाद र विस्तारवादको पिछलग्गू हुँदैनन् । देश र जनताप्रति जिम्मेवार हुनुपर्ने शासकहरू सरकारको वरिपरि घुमेर, भागबन्डामा अल्झिएर, सत्तामुखी राजनीतिमा टाँसेर देश उँभो लाग्दैन । कम्युनिस्टहरू विदेशी दलालको विरोध गर्छन् । कुनै दलको सिद्धान्त र विचार देखाउने दाँत होइन; त्यो त व्यवहारमा लागु गर्ने पद्धति हो । तर, आज आफूलाई ठुला भनिने कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार सानो काम पनि गर्न सकेनन् ।
कम्युनिस्ट भनिने सबै दलहरूले साँच्चै कम्युनिस्ट भएर काम गरेका भए, सबैले सिद्धान्त र विचार प्रचार गरेका भए जनता छिट्टै प्रशिक्षित हुनेछन्; समाजवादी विचारबाट प्रभावित हुनेछन् । कम्युनिस्टहरू पुँजीवादको पक्षपोषण गर्दैनन्; पुँजीवादी व्यवस्थाको जगमा मल जल हाल्दैनन् । बरु पुँजीवादी व्यवस्था फाल्न कम्युनिस्टहरू लाग्छन् । तर, विडम्बना ! ठुला भनिने कम्युनिस्टहरू पुँजीवादी व्यवस्थामा रहेर रमाउन चाहन्छन्; सेवा सुविधा लिन चाहन्छन्; पुँजीवादी व्यवस्थाबाटै देशमा समाजवाद ल्याउने फुक्छन् । एमालेले फुकेको त्यो बखान अब सत्तासीन माओवादीहरूले गर्न थालेका छन् । अहिले एकीकृत समाजवादीले महाधिवेशनको सन्दर्भ जोडेर समाजवादी बाटो आफ्नो दलको उद्देश्य रहेको बतायो । हरेक दलले दलको उद्देश्य पूरा गर्न फुक्ने मात्र होइन गरेर देखाउने हो या व्यवहारमा लाने प्रयास गर्नुपर्ने हो ।
पुँजीवादी व्यवस्थामा रमेर देशमा समाजवाद स्थापना हुँदैन । सत्ताको भागबन्डामा लागेर समाजवादी गणतन्त्र स्थापना हुँदैन । देश र जनताको सेवामा जुट्नुपर्ने कम्युनिस्टहरू आ–आफ्नो कमाइमा व्यस्त छन् । देश र जनताका पक्षमा सेवा गर्ने नेताहरू, नीति निर्माण गर्ने मन्त्री र सांसदहरू संसद्को बैठकमा बस्दैनन्; उपस्थित भएका नेता, मन्त्री र सांसदहरू आफ्नो कुरा कुर्सीलाई सुनाउन बाध्य छन् । उनीहरू संविधानमा उल्लेख भएको समाजवादउन्मुख अवधारणालाई लागु गर्ने प्रयत्न गर्दैनन् । यहाँ त शासकहरूले अपराधलाई राजनीतीकरण र जनताको राजनीतिलाई अपराधीकरण गरिरहेका छन् । यसकारण, सबभन्दा पहिले आफ्नो खोटो सोच बदल्नुपर्छ । खराब समाज बदल्न असल विचार राख्ने चिन्तकहरू आवश्यक हुन्छ । यसका निम्ति देशका सबै दलहरू लाग्नुपर्छ; जुट्नुपर्छ । समाज सभ्य र सुसंस्कृत बनाउन हामी सबै जिम्मेवार हुनुपर्छ ।
देशका शासकहरू प्रतिपक्षमा बस्दा सरकारको खुब आलोचना गर्छन्† यो गरेन, त्यो गरेन भनी विरोध गर्छन् । सरकारको खोइरो खन्ने दल सरकारमा गए पनि खासै केही गर्दैन । अनि अर्काे प्रमुख विपक्षले फेरि सरकारको खोइरो खन्छ । यो पालैपालो सरकारमा गएर सेवा सुविधा लिने काम सत्तारुढ सबै दलले गरिरहेका छन् । मन्त्रालय बजेट विनियोजनबारे संसद्मा छलफल चालु छ । सांसदहरूले बजेटको कमी कमजोरी औँल्याउँदै बजेटमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । तर, सरकार सुनेको सुन्यै गर्छ । सांसदहरूले दिएका राम्रा राम्रा सल्लाह र सुझाव पनि सत्तासीन दलका नेताहरू स्वीकार्दैनन् । गल्ती या कमजोरी सुधारेर अघि बढे पो देशको विकास हुन्छ । यो प्रजातान्त्रिक र गणतान्त्रिक देशमा सल्लाह–सुझावको कदरै हुँदैन । सरकारले जे ल्याएको हो, त्यही सबै ठीक सम्झेर प्रक्रिया अघि बढाउँछ । अन्य दलले दिएको सुझाव आत्मसात गरेको भए देशमा कहिले पनि देशघाती, जनविरोधी सन्धि सम्झौता हुनेछैन; जनविरोधी नीति निर्णय हुनेछैन । भागबन्डा र सत्तामुखी राजनीति छोडेर देश र जनताप्रति समर्पित भएर राजनीति गरे देश र जनताको सेवा र विकास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *