भर्खरै :

कामरेड शोभा हाम्रो मनमा बाँचिरहनुहुनेछ

कामरेड शोभा हाम्रो मनमा बाँचिरहनुहुनेछ

कस्तो अपत्यारिलो ! कमरेड शोभा प्रधानको भौतिक शरीरले बिदा लिएको पनि दुई वर्ष भइसकेछ ! यद्यपि, उहाँको भौतिक उपस्थिति अब सम्भव छैन भन्ने विश्वास गर्न हाम्रा मनहरू अझै तयार छैनन् । सायद केही मृत्यु यस्तै गह«ुँगो हुन्छन्, केही जीवन मृत्युपछि पनि यसरी नै बाँचिरहन्छन् । कामरेड शोभा हाम्रो मनमा बाँचिरहने त्यस्तै नाम हो ।
कामरेड शोभा प्रधानले बोक्नुभएको क्रान्तिकारी विचार, सिद्धान्त र जीवनदर्शन, उहाँले हिँड्नुभएको बाटो र देखाउनुभएको मार्गले उहाँलाई अविस्मरणीय बनायो । उहाँको जीवन सङ्घर्ष, सुकर्म र योगदानहरूले उहाँ हाम्रो निम्ति प्रेरणाको स्रोत बन्यो । उहाँको सङ्घर्ष, भोगाइ र असल व्यवहार हाम्रो निम्ति मार्गदर्शन बन्यो ।
कामरेड शोभा प्रधानको व्यक्तित्वका अनेक आयामहरू छन् । तमाम आयामहरूमा उहाँ सफल र अनुकरणीय बन्नुभयो । उहाँ नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) की जीवनसङ्गिनी, बिजुक्छेँ परिवारकी बुहारी, छोराहरूका स्नेही आमा, बहिनीहरूका प्रिय दिदी, देवर–बुहारीका आदरणीय भाउजू अनि एक सुपुत्री मात्र होइन सिङ्गो परिवारको खम्बा हुनुहुन्थ्यो । उहाँ अनुशासित पार्टी कार्यकर्ता एवम् जुझारु महिला कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ असल शिक्षिका तथा सहयोगी स्वभावकी धनी हुनुहुन्थ्यो । महिला कार्यकर्ताहरूका अभिभावक हुनुहुन्थ्यो । यसर्थ उहाँको अभाव परिवार, पार्टी, विद्यालय, समाज र महिला आन्दोलनलाई नै दुखेको छ ।


कामरेड शोभाको जीवनका थुप्रै आयाम र अमिट प्रभावहरू उजिल्याउने क्रममा वागीश्वरी माध्यमिक विद्यालय र कलेज परिवारले असार ८ गते उहाँको ‘दोस्रो स्मृतिवर्ष परिशिष्टाङ्क’ प्रकाशित ग¥यो । उहाँले करिब ४ दशक निरन्तर शिक्षा सेवा गर्नुभएको विद्यालयबाट अपार मायासहित प्रकाशित यस परिशिष्टाङ्कले उहाँलाई चिनाउनेछ । उहाँको जीवनसङ्घर्ष र योगदानहरूलाई नयाँ पुस्तासँग सक्षात्कार गराउने र सदा जिवित राख्ने अन्य प्रकाशनहरू पनि छन् । नेपाल क्रान्तिकारी महिला सङ्घले प्रकाशित गरेको ‘स्मृतिमा कामरेड शोभा’ र ‘कामरेड शोभा प्रधान’, ‘केटीहरू’ बुलेटिन र ‘वागीश्वरी’ पत्रिकाको यस परिशिष्टाङ्क उहाँको जीवन आयाम बुभ्mने परिपूरक हुन् ।
देश र जनताको सेवाको राजनीति, विचार र सिद्धान्तको राजनीति, निष्ठा र इमानको राजनीतिका पर्याय का.रोहितलाई जीवनसाथी चुन्नु आफैमा का.शोभाको क्रान्तिकारी कदम थियो । एक सच्चा कम्युनिस्ट नेतालाई साथ दिनु सरल र सजिलो थिएन ! पार्टी अध्यक्षज्यूको व्यस्त दैनिकीमा तालमेल मिलाउनु र व्यवस्थापन गर्नु सहज थिएन । खानपान र बच्चाबच्ची सम्हालेर मात्र होइन अध्यक्षज्यूको अध्ययन र गतिविधिमा समेत साथ दिनु पक्कै सजिलो कर्म थिएन । यद्यपि, उहाँले का.रोहितको राजनीतिक विचार दर्शनमात्र आत्मसात् गर्नुभएन बरु हरेक आन्दोलन र राजनीतिक सङ्घर्षको मैदानमा साथसाथ हिँड्नुभयो । हामीले कोरियाली साहित्यमा पढेका छौँ –“पार्टी अध्यक्ष नै सिँगो पार्टी हो । पार्टी अध्यक्षको सेवा गर्नु पार्टी सङ्घर्ष, पार्टी उद्देश्य या क्रान्तिको सेवा गर्नु हो ।” यही नै कम्युनिस्ट विचार पनि हो । यसर्थ का. शोभाले पार्टीको सेवा गर्नुभयो, क्रान्तिको सेवा गर्नुभयो, यसर्थ का. शोभा एक अनुशासित पार्टी कार्यकर्ता बन्नुभयो, कम्युनिस्ट बन्नुभयो ।


का.रोहितसँगको साथमा उहाँ आफै पनि उजेलिनुभयो, उहाँको व्यक्तित्व माझियो । रामेछापको ठोसे भक्तपुरबाट भौगोलिक हिसाबले त्यति टाढा त होइन तर उहाँले विवाहपछि नै मात्र विचारको उज्यालो प्राप्त गर्नुभयो । विवाहपछि नै मात्र कामदारवर्गीय राजनीतिको तेज महसुस गर्नुभयो । सामान्यतः महिलाहरूको जीवन विवाहपछि अनेक उल्झनमा पर्छ या साँघुरो घेरामा फस्छ । तर उहाँको लागि विवाह एउटा विराट जीवनको प्रवेशद्वार साबित भयो । वागीश्वरीको यस परिशिष्टाङ्कमा पनि अध्यक्ष नारायणमान बिजुक्छेँले ‘का.शोभासँगै साहित्य अध्ययन गर्दा’ को सम्झना गर्नुभएको छ । दिनभरिको गतिविधि सकेर बेलुका रेडियो टेलिभिजनमा सँगै समाचार सुन्ने र नेपाली साहित्यहरूको अध्ययन गर्ने समयको सम्झना निश्चय पनि उत्साहप्रद् लाग्छ । उहाँले लेख्नुभएको छ –“बेलुका झन्डै १० देखि १२ बजे दुई घण्टा नेपाली र विभिन्न देशका कथाहरू उनी वाचन गर्थिन् र म सुन्थें । यो क्रम झन्डै ५–१० वर्ष निरन्तर चल्यो ।” यसले पार्टी अध्यक्षज्यूलाई त सहयोग मिल्यो नै साथै का.शोभाको ज्ञान, साहित्य अभिरुचिको क्षितिज फराकिलो बन्यो । यो एउटा दृष्टान्त या पाटोमात्रै हो ।
२०४५ सालको भक्तपुर काण्ड का.शोभाका निम्ति सबैभन्दा कठिन समय थियो सायद । परिशिष्टाङ्कमा छापिएको लेखमा उहाँले भन्नुभएको छ –“हामीमाथि भएको त्यो अत्याचार कहिल्यै बिर्सन सक्दैनौं ।” निरङ्कुश पञ्चायती राज्यसत्ताको निर्मम दमन र अत्याचारले उहाँलाई सङ्घर्षको मैदानमा उतार्यो । ४ वर्षको छोरा काखमा र गर्भमा सानो छोरा बोकेर उहाँ न्याय र सत्यको निम्ति लड्नुभयो । पक्राउ, भूमिगत भएका र प्रवासमा गएका थुप्रै राजनीतिक कार्यकर्ताका जहान परिवारका निम्ति उहाँ हौसलाको केन्द्र बन्नुभयो । तात्कालीन समयमा भक्तपुरमा पढेलेखेका महिलाहरूको अभाव उहाँले पूर्ति गर्नुभयो । भक्तपुर काण्ड का.रोहितको विचार या राजनीति अर्थात नेमकिपाको सेवाको राजनीतिविरुद्ध पञ्चायती व्यवस्थाको षडयन्त्र थियो । नेपालको राजनीतिक डबलीमा देखापरेको उज्यालो सदाका निम्ति अन्त्य गर्न रचिएको षडयन्त्रले स्वयम पञ्चायती व्यवस्थाको अवशान भयो । का.शोभाहरूको धैर्य, अदम्य साहस र सङ्घर्षविना त्यो सम्भव थिएन भन्दा अतियुक्ति हुँदैन । त्यही सङ्घर्षको अध्यायले नेपाल क्रान्तिकारी महिला सङ्घको पनि जन्म गरायो । उहाँ नेतृत्व पङ्क्तिमा बस्नुभयो । नेपालका कामदार वर्गका महिलालाई राजनीतिक रूपमा सचेत र सङ्गठित बनाउने, चुल्हो चौकोबाट बाहिर ल्याई आत्मनिर्भरताको शिक्षा दिने आन्दोलनमा जुट्नुभयो । महिलाहरूलाई साक्षर र शिक्षित बनाउने अभियानमा जुट्नुभयो । उहाँले लामो समय नेपाल क्रान्तिकारी महिला सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गर्नुभयो ।


२०५६ सालमा का.शोभा प्रधानको स्तन क्यान्सर पहिचान भयो । पञ्चायती राज्यसत्तासँग नडराएका र नझुकेका का.शोभालाई क्यान्सर रोगले तर्साउन खोज्यो । तर उहाँ क्यान्सरसँग अपराजित हुनुभयो । उच्च आत्मबल र आत्मविश्वास क्यान्सरसँग लड्ने एउटा हतियार हो भन्ने पुष्टि उहाँले गर्नुभयो । व्यवस्था र क्यान्सरसँग निडर भई लड्ने महिलाको रूपमा का.शोभालाई भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले चिनाउनुभएको छ ।
पुस्तिकामा सुरेन्द्र्रराज गोसाईले का.शोभा प्रधानको जीवन सङ्घर्ष र योगदान केलाउनुभएको छ । “शोभा मिस”, “शोभा भाउजू”, “कामरेड शोभा” को व्यक्तित्वबाट सिक्नुपर्ने शिक्षा र सार निकै मननीय छन् । सांसद गोसाईको आँखामा उहाँ “सधँै पाश्र्वभूमिकामा सन्तुष्ट हुने का.शोभा” हुनुहुन्छ । निश्चय नै उहाँले कहिल्यै ‘नेता पत्नी’ दम्भको छनक देखाउनुभएन, कुनै पदको इच्छा गर्नुभएन । सांसद गोसाईले का.शोभालाई एक विचारवान र सांस्कृतिक स्तर उँचो भएकी अनुकरणीय महिलाको रूपमा चिनाउनुभएको छ ।
का.शोभा प्रधानले शिक्षण सेवामा करिब ४२ वर्ष व्यतित गर्नुभयो । उहाँले सदैब कामदारवर्गका छोराछोरीको शिक्षादीक्षामा जोड दिनुभयो । विवाहपूर्व रामेछापको ठोसेमै शिक्षण थाल्नुभएका उहाँले २०४१ सालबाट वागीश्वरी माध्यमिक विद्यालयमा अध्यापन थाल्नुभयो । २०७७ साल पुस १३ गते उहाँले अनिवार्य अवकाश प्राप्त गर्नुभयो भन्ने जानकारी यस परिशिष्टाङ्कमा छ । भक्तपुरमा विशेषत किसान र कामदारवर्गका छोराछोरीलाई विद्यालय आउन प्रेरित गर्ने, विद्यालयको शैक्षिक स्तर उठाउने विषयमा उहाँ संवेदनशील हुनुहुन्थ्यो । विद्यार्थीहरूसँग “शोभा मिस” को लगाव बेग्लै थियो । उहाँका विद्यार्थी एवम् अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको संस्मरण पढ्दा यही अनुभूति हुन्छ । शिक्षाको मूल्य के हो ? पढ्नुको अर्थ के हो ? समेत पढाउने शोभा मिसलाई उहाँले आदरपूर्वक सम्झनुभएको छ ।


परिशिष्टाङ्कमा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी मावि कक्षा ११–१२ तथा कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्राचार्य धनकुमार श्रेष्ठका शब्दहरूले एक कर्तव्यनिष्ठ शिक्षकको रूपमा ‘शोभा मिस’ को व्यक्तित्व कस्तो थियो भन्ने जानकारी दिन्छ । शिक्षक विश्वराम प्रजापति, शोभालक्ष्मी गोसाई, मिना प्रजापति, प्रमिला प्रधान, सरला प्रधान, मुना तामाङ, धनेशराज राजोपाध्यायको संस्मरणहरूमा ‘शोभा मिस’ आप्mना सहकर्मीमाझ कति आदरणीय, आत्मीय र मिलनसार हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ । गाह«ोसारो पर्दा नआत्तिने, सफलतामा नमात्तिने, गरिब जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने, शिक्षक–शिक्षिकाको स्वास्थ्यको विषयमा चासो दिने अगुवा शिक्षिकाको रूपमा स्मरण गरिएको छ ।
उहाँ वागीश्वरी स्कूलभित्र मात्र सीमित हुनुहुन्थेन । उहाँको अनुभव र ज्ञानले भक्तपुरको शैक्षिक परिवर्तनमा योगदान पु¥यायो । उहाँले शैक्षिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । लामो समय नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिमा रहेर काम गर्नुभयो । शिक्षक शिक्षिकाको स्वास्थ्यका निम्ति “पूर्वशिक्षक एवम् शिक्षक कर्मचारी कोष” स्थापना उहाँको उल्लेखनीय काम मध्ये एक हो ।” स्कुलभित्र मात्र होइन भक्तपुरका टोल टोल र गल्ली गल्लीहरूमा महिला स्वास्थ्य अभिमुखीकरणको नेतृत्व गर्नुभयो । क्यान्सर पीडितलाई घरघर पुगेर रोगसँग लड्ने हौसला प्रदान गर्नुभयो । वागीश्वरी कलेज व्यवस्थापन समिति सदस्य सुशिला कर्माचार्यको अभिव्यक्तिमा यो प्रसङ्ग छ । उहाँले शोभा भाउजूलाई आप्mनो अभिभावक, आमापछिको आमा र व्यवहार, सीप अनि कौशलका गुरुआमाको रूपमा चित्रण गर्नुभएको छ । “शोभा भाउजूकै कारण मैले स्नातक र स्नात्तकोत्तरसम्म पढ्न पाएकी हुँ” भन्नुहुन्छ सुशिला कर्माचार्य । एक घरधनी र ‘डेरावाल’बीचको सम्बन्ध पनि यस्तो प्रगाढ हुन सक्छ भन्ने उदाहरण उहाँहरूबीचको सम्बन्ध नै हो । परिशिष्टाङ्कमा एउटा कविता, सङ्क्षिप्त जीवनी, विद्यालयको गतिविधि र जीवन्त तस्वीरहरू सङ्कलित छन् ।
का.शोभा प्रधानलाई थप चिनाउने वागीश्वरीको यो प्रयास निकै सामयिक र सराहनीय छ । वागीश्वरी परिवारप्रति हार्दिक आभार । का.शोभा प्रधानका बहुआयामिक व्यक्तित्व चिनाउने प्रकाशन र हाम्रो अन्तरमनमा उहाँ सदा बाँचिरहनुहुनेछ । कतै शोभा मिस बनेर, कतै शोभा भाउजू त कतै कामरेड शोभा बनेर उहाँ हाम्रो मनमा बाँचिरहनुहुनेछ । सबैकी प्रिय शोभाप्रति अपार श्रद्धासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *