अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
देश र जनताको चासो या चिन्ता लिने हरेक राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी, शिक्षक, सामाजिक अगुवाहरूको महत्वपूर्ण भूमिका हुन्छ । पार्टीले नेता तथा कार्यकर्ता तयार गरी देश र समाजप्रति समर्पित बनाउने, जनताको सांस्कृतिक स्तर उठाउने, देश र जनताको पक्षमा सङ्घर्ष गर्न उत्प्रेरित गर्ने काम गर्छ, गरिरहेको हुन्छ । त्यसरी नै विद्यालय र कलेजमा पनि शिक्षक विद्यार्थीलाई अनुशासित बनाउने, देशभक्त, असल नागरिक तयार गर्ने काममा जुट्नुपर्छ । समाजमा परिवर्तन चाहने शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान दिनुको साथै विद्यालयलाई अझ व्यवस्थित बनाउन, विद्यालय सञ्चालन गर्न सक्ने नेतृत्वकारी भूमिका निर्वाह गर्न अनुभवी शिक्षक, सञ्चालक समितिका मुख्य – मुख्य व्यक्तिहरू लागिरहनुपर्छ । हामीले प्रत्येक कुरामा होसियारीपूर्वक सधैँ आफ्नो मगज खियाउनुपर्छ र विचार गर्नुपर्छ । चीनका नेता माओ त्से तुङले “निधार खुम्च्याऊ र तिमीले जुक्ति फेला पार्नेछौ” त्यसै भनेका होइनन् अर्थात् चिन्तन मनन गरिरहेमा, धेरै विचार गरिरहेमा बुद्धि आउँछ र आइपर्ने समस्या समाधान गर्ने बाटो खुल्छ ।
पार्टीमा धेरै नेता, कार्यकर्ता भए पनि खोटो या गलत विचारको भयो भने देश बन्दैन बरू बिग्रिन्छ । दूरदर्शी, असल नेता तथा कार्यकर्ता देशको निम्ति खाँचो छ । सिद्धान्तनिष्ठ र सही विचारका नेता र कार्यकर्ताले मात्र देशलाई सही मार्गमा लान सक्छन् । त्यस्तो पार्टीमा तयार भएको नयाँ पुस्ताले पनि सही बाटो लिन्छ र देश निर्माणमा सहयोग पु¥याउँछ । गाउँ, नगर र जिल्ला–जिल्लामा त्यस्तै असल नेता तथा कार्यकर्ताको खाँचो हुन्छ र त्यस्ता कार्यकर्ताको नेतृत्वको विकास गर्नुपर्छ । यो शिक्षा या अनुभव विद्यालय, कलेज, सरकारी सङ्घ–संस्था, सामाजिक सङ्घ संस्था, क्लव आदि ठाउँमा पनि लागु हुन्छ । हामीले विद्यालय, कलेज, सामाजिक सङ्घ संस्था, दल जहाँ पनि कर्मशील, सङ्घर्षशील नागरिक तयार गर्नुपर्छ । सङ्घर्षशील या अन्यायविरूद्ध लड्ने आँटिला, साहसिला नागरिक, शिक्षक, नेता, कार्यकर्ता, कुशल प्रशासक तयार गर्न सकेनन् भने पछि त्यो पतन हुन बेर लाग्दैन, स्कूल, कलेज, सामाजिक सङ्घ संस्था डुब्छ या गलत व्यक्तिको हातमा पर्न सक्छ । यसको लागि टोल, समाज, सामाजिक सङ्घ–संस्था, स्कूल, कलेज, प्रशासनमा लागेका जिम्मेवार व्यक्तिहरू जहिल्यै चनाखो भइरहनुपर्छ ।
असल पार्टीका नेता तथा कार्यकर्ता, राम्रा, सक्षम शिक्षक, अनुशासित, कर्तव्यनिष्ठ कर्मचारीलाई बिगार्न, फसाउन, गलत बाटोमा लैजान र कुनै पनि सङ्घ–संस्था डुबाउन शत्रु या विरोधीहरूले हरपल षड्यन्त्र बुनिरहेका हुन्छन् । त्यस्तो बेला जहिल्यै सम्बन्धित व्यक्तिहरू चनाखो भइरहनुपर्छ । काम नलाग्नेलाई फ्याँक्न, असत्यलाई मिल्काउन, सत्यलाई च्यापेर अघि बढाउन जुटिरहनुपर्छ । निश्चित निधोमा पुग्न योजना बनाएर अघि बढिरहनुपर्छ । नत्र, एक समय राम्रो, देश र जनताप्रति समर्पित भएको दल अर्को समयमा खराब या पतन हुनसक्छ† एक समय नाउँ चलेको स्कूल, कलेज, प्रशासन या सरकारी कार्यालय अर्को समयमा बदनाम हुँदै पतन हुनसक्छ । क्रान्तिकारी सिद्धान्तबाट बाटो छर्लङ्ग्याइएन भने व्यवहार अन्धकारमय हुन्छ । भविष्यप्रति स्पष्ट दृष्टिकोण तथा दूरदर्शी नभएका र अँध्यारोमा छामछामछुमछुम गर्नेहरू काममा सफल हुँदैनन् ।
समाजमा नभिजेका, देश र जनताको निम्नि नलडेका कार्यकर्ता, समाजसेवी, शिक्षक, बुद्धिजीवीहरू जतिसुकै पढेलेखेका, जानेका, बुझेका भए पनि संस्था, कार्यालय, समाजलाई नेतृत्व गर्न सक्दैनन् । उच्च शिक्षा हासिल गरेको भए पनि समाजलाई नचिन्दा, जनतामाझ नभिज्दा चाहेर पनि उसले नेतृत्व गर्न सक्दैन । त्यस्ता व्यक्तिहरू अरूको लहलहैमा जाने धेरै सम्भावना हुन्छ; अरूको जालमा फस्ने सम्भावना हुन्छ, अरूको भनसुन या दबाबमा काम गर्नुपर्ने हुन्छ । त्यसैले समाजका जो कोही नागरिक सङ्घर्षशील हुनुपर्छ, जनतामाझ भिजेको हुनुपर्छ; आइपर्ने समस्या या चुनौतीसँग जुध्नसक्ने आँटिला हुनुपर्छ । नागरिक भावना र सांस्कृतिक स्तर हुनुपर्छ । कुनै मानिस आफ्नो काममा सफल हुन चाहन्छ; सधैँ उदाहरणीय दल, संस्थाको रूपमा कायम गर्न चाहन्छ भने ऊ दत्तचित्त भएर लाग्नैपर्छ; आइपरेको चुनौतीको सामना गर्नैपर्छ । माक्र्सवादीहरूले कुनै ठाउँमा हात हाल्दा वस्तुगत तथ्यहरूबाट सुरू गरेका हुन्छन्; तथ्यहरूको विश्लेषणबाट हामीले आफ्ना निर्देशक सिद्धान्त या मूल्य, मान्यता र उपायहरू खोज्नैपर्छ । क्रान्तिकारी सिद्धान्त र पद्धतिहरू जान्न चाहनु हुन्छ भने हामीले क्रान्तिमा भाग लिनैपर्छ । यो कुरा दलमा मात्र होइन विद्यालय, कलेज, प्रशासन, सामाजिक सङ्घ संस्था र सरकारी तथा गैरसरकारी संस्थामा पनि लागु हुन्छ । कम्युनिस्टको हृदय विशाल हुनुपर्छ, ऊ इमानदार र सक्रिय हुनुपर्छ, समुदायका हितलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ भनी त्यसै भनिएको होइन ।
Leave a Reply