भर्खरै :

प्रअ न्याइच्याईको बिदाइ तथा नवनियुक्त प्रअ प्रधानको स्वागत कार्यक्रम

प्रअ न्याइच्याईको बिदाइ तथा नवनियुक्त प्रअ प्रधानको स्वागत कार्यक्रम

भक्तपुर, १६ असार । बासु माध्यमिक विद्यालयमा निवर्तमान प्रधानाध्यापक अम्बिका न्याइच्याईको बिदाइ एवम् सम्मान तथा नवनियुक्त प्रधानाध्यापक रविलाल प्रधानको स्वागत कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले जसरी घर बलियो बनाउन जग बलियो हुनु जरुरी छ, त्यसरी नै विश्वविद्यालय शिक्षा राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्छ भन्नुभयो ।
एसईई परीक्षामा ५३ प्रतिशत विद्यार्थीहरू अनुत्तीर्ण हुनुमा सरकार दोषी भएको उल्लेख गर्दै उहाँले देशभरिका विद्यालयको भौतिक सुविधा र शैक्षिक गुणस्तरमा समानता भएमात्र विद्यालयको नतिजा राम्रो हुने बताउनुभयो ।
किशोर–किशोरीहरूलाई विद्यालयमै आत्मरक्षाको तालिम दिनुपर्नेमा जोड दिँदै सांसद सुवालले समाजमा अन्धविश्वास अन्त्य गरी विज्ञानसम्मत शिक्षा दिन आवश्यक छ भन्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई सानो कक्षादेखि पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन जरुरी छ भन्नुभयो ।
गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक अभावले गर्दा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएको उल्लेख गर्दै उहाँले अब्बल विद्यार्थीहरूलाई विद्यालय जीवनदेखि शिक्षक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक विकास सँगसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिनुपर्ने बताउँदै विद्यालयको विकासको लागि सक्षम नेतृत्वको आवश्यकता पर्ने र नेतृत्वले सामूहिकरूपमा काम गर्न प्रेरित गर्नुभयो ।
विद्यालयको शैक्षिक, भौतिक पूर्वाधार सुधारमा प्रअ, व्यवस्थापन समिति, शिक्षक र अभिभावक सबैको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्दै उहाँले कुनै पनि संस्था बलियो, सक्षम हुनको निम्ति नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सामुदायिक शिक्षा राम्रो भए निजी विद्यालयहरू स्वतः कम हुँदै जाने बताउँदै उहाँले सङ्घ सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरेर विद्यालय शिक्षालाई गिजोल्ने र स्थानीय सरकारको अधिकार खोस्ने काम बन्द गर्नुपर्ने बताउनुभयो ।
बासुका निवर्तमान प्रअ अम्बिका न्याइच्याईले विद्यालयलाई आजको अवस्थामा ल्याइपु¥याउन सहयोग गर्नुहुने शिक्षक–कर्मचारीहरूमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले आफूमा भएको ज्ञान र सीप भक्तपुरको शिक्षालाई अझ अगाडि बढाउन लाग्ने बताउँदै बासु माविमा आफ्नो अनुभव अविस्मरणीय रहेको बताउनुभयो ।
नवनियुक्त प्रअ रविलाल प्रधानले गौरवपूर्ण इतिहास बोकेको बासु माविलाई आफ्नो कार्य क्षेत्र बनाउन पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै बासु माविलाई अझ उचाइमा पु¥याउन र जीवन्त राख्न सधैँ प्रतिबद्ध भई लाग्न बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिको मार्गनिर्देशन, बुद्धिजीवीहरूको सल्लाह र शिक्षक कर्मचारीहरूसँग समन्वयमा रही काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरको शिक्षा विकासमा बासु माविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट विद्यालयको उन्नतिमा अझ नवीनत्तम कार्यहरू हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद दुमरु र सहायक प्रअ राजकुमार ह्यौँमिखाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अङ्ग्रेजीका शिक्षक रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *