भर्खरै :

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण

भक्तपुर, १७ असार । जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा जनसङ्ख्या व्यवस्थापन कार्यक्रमअन्तर्गत भक्तपुर बचत तथा ऋण सहकारी संस्था संरक्षक रहेको भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी सहयोग सामग्री (लौरो, छाता, काइयो, रुमाल, स्यानिटाइजर, दाँत माझ्ने ब्रस र पेस्ट) वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
ज्येष्ठ नागरिकहरूलाई सहयोग सामग्री वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिकहरू समाजका सम्मानित व्यक्तित्व भएको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणको लागि नपाले आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले भनपा वडा नं. २ को ख्यो पुखुसँगैको भवनमा आदर निकेतन सञ्चालनको लागि आवश्यक तयारी गरिरहेको बताउँदै उहाँले परम्परागत नाच र भजन आफैमा मानव जीवनको शारीरिक र श्वासप्रश्वाससँग सम्बन्धित अभ्यासको रूपमा सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनशैलीले उहाँहरूको सुस्वास्थ्य दीर्घायु जीवन बाँच्न मद्दत पुग्ने बताउँदै उहाँले ज्येष्ठ नागरिकहरूको सहज जीवनयापनको लागि सहयोग सामग्री वितरण कार्यक्रम राखिएको हो भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि उच्च शिक्षा हासिल गर्ने कलेजहरू सञ्चालन गर्दै समाजलाई शिक्षित पार्ने अभियानमा अग्रसर भइरहेको बताउनुभयो ।
बढ्दो उमेरसँगै विभिन्न रोगहरूको जोखिम बढ्दै जाने हुँदा समय समयमा स्वास्थ्य जाँचलाई ध्यान दिनुपर्ने बताउँदै उहाँले भक्तपुर साकोसले सेवा भावनाले आदर निकेतन दिवा सेवा सञ्चालन गरेको हो भन्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले बुढ्यौली जीवनलाई सहज बनाउन स्वास्थ्य चेकजाँच र स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई अगाडि ल्याइएको बताउनुभयो ।
भक्तपुर आदर निकेतन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले आदर निकेतन सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने भनपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *