भर्खरै :

शिक्षकलाई आरोप नलाऔँ : ‘देश बनाउने शिक्षा’ लागू गरौँ

शिक्षकलाई आरोप नलाऔँ : ‘देश बनाउने शिक्षा’ लागू गरौँ

सिकाइ सफल हुन विशेषतः शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक भूमिका रहन्छ । यसबाहेक विद्यालय व्यवस्थापन समितिको व्यवस्थापन, प्रधानाध्यापकको गुणात्मक नेतृत्व, कर्मचारीको इमानदारी, सरोकारवालाको अनुगमन पनि चाहिन्छ । तर, यी कुरा भुसुक्कै बिर्सेर, २०८० को एसईई परीक्षामा सम्मिलित विद्यार्थीले उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्था गरिएका कारण यो वर्षको रिजल्ट प्रतिशत पहिलाभन्दा केही घटेपछि त्यसको सारा दोष शिक्षकलाई लगाइँदै छ । यस क्रममा विभिन्न क्षेत्रका ‘बुद्धिजीवी’ र ‘शिक्षाविद्’ हरूले भने, “शिक्षकले राजनीतिक दलको झोला बोकेका कारण नतिजा घट्यो । एसईई नतिजाले निराशा छायो ।” “शिक्षकहरू अयोग्य भए, अल्छि भए,” भन्नेहरू पनि छन् । गत वर्ष असोजमा शिक्षकहरूले केही पेसागत मागसहित, ‘शिक्षा नियमावली जारी गरिनुपर्छ’ भन्ने विषयमा केही दिन आन्दोलन गरेका थिए । (आन्दोलनमा खर्च भएको दिनको क्षतिपूर्ति, पछि शनिबार कक्षा सञ्चालन गरेर गरिएको थियो ।) त्यस क्रममा केही शिक्षक सडकमै सुतेका पनि रहेछन् । यस पटक त्यही तस्बिरलाई समेत आधार बनाएर सामाजिक सञ्जालमार्फत थप गाली गर्ने निकै देखिए । मानौँ, शिक्षकजति सबै अल्छि नै हुन् । तर, यथार्थ यस्तो होइन ।
२०४८/२०४९ सालमा, एक वर्ष शिक्षण गरेका शिक्षकलाई स्वतः स्थायी गर्दा असक्षम शिक्षकहरूलाई पनि चिट्ठा परेको थियो । तर, अब त्यस्ता शिक्षकहरू केहीमात्र सेवारत होलान् । त्यसपछि २०६२/२०६३ मा ५० प्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गराइयो । २०५२ सालयता शिक्षक सेवा आयोगले खुला विज्ञापन नगरेको हुँदा उक्त आन्तरिक प्रतिस्पर्धा कडा भएको थियो । त्यसैले त्यसमा असक्षम शिक्षक छानिने कुरै भएन । २०६९ सालमा बल्ल शिक्षक सेवा आयोगले खुला विज्ञापन खोल्यो । त्यसपछि लगातार विज्ञापन खुलाउँदा पनि खुला प्रतिस्पर्धाबाट स्थायी हुन नसकेका शिक्षकहरूले आन्दोलन गरेका हुँदा, २०७५ सालमा उत्तीर्णाङ्क ल्याए स्थायी हुने हिसाबले प्रतिस्पर्धा गराइयो । त्यसो गर्दा पनि स्थायी हुन नसकेकालाई ‘गोल्डेन ह्यान्ड शेक’ का साथ बिदा गरिसकिएको छ ।
स्थायी शिक्षक बन्न त्यति सजिलो छैन । प्रथमतः शिक्षाशास्त्र सङ्काय पढेको हुनुप¥यो । शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमतिपत्रको परीक्षा पास भएको हुनुप¥यो । कतिपय परीक्षार्थीहरू यसमै फेल हुन्छन् । त्यसपछि लिखित परीक्षामा नाम निकाल्न सक्नुप¥यो । अन्त्यमा अन्तर्वार्ता पनि पार गर्नुप¥यो । देशमा शिक्षित बेरोजगारी बढेको हुँदा यी सबैमा कडा प्रतिस्पर्धा हुन्छ । आधारभूत तहको शिक्षकका लागि स्नातकोत्तर उत्तीर्ण परीक्षार्थी हुन्छन् । यसबाट के स्पष्ट हुन्छ भने हाम्रा शिक्षकहरू अयोग्य छैनन् । निजी स्रोत, राहत र अनुदान कोटामा शिक्षक नियुक्ति गर्दा कतैकतै परेको नातावाद, कृपावाद र दलीय प्रभावलाई अपवाद मान्न सकिन्छ ।
शिक्षक भनेका एक प्रकारले साधु र सज्जन मजदुर हुन् । उनका लागि विद्यालयमा नियम, आचारसंहिता र अनुशासन हुन्छ । त्यसलाई पालना गर्नु शिक्षकको कर्तव्य हो । विद्यालय प्रशासन र व्यवस्थापन समिति पनि हुन्छ । सचेत अभिभावकले हेरिरहेका हुन्छन् । अलिकति बिराएमा सबैको औँला आफूतिर सोझिने कुरामा शिक्षक सचेत रहनुपर्ने हुन्छ । यो अवस्थामा शिक्षकले ‘राजनीति’ गर्ने समय कसरी पाउँछ ? विद्यालय समत्न्दा बाहिर सामाजिक गतिविधिमा संलग्न हुनु, साथीभाइ भेला भएर चिया पिउनु, लेखपढमा रमाउनु, भेटघाट तथा छलफल गर्नुलाई नै ‘राजनीति’ ठानिनु हुँदैन ।
अन्य कतिपय राष्ट्रसेवक कर्मचारीको काम टेबुलमा बसेर गर्ने खालको हुन्छ । तर, शिक्षकको कामै कक्षाकोठामा उभिएर प्रस्तुत हुने हो । अन्यत्र, सेवाग्राही नआउञ्जेल आराम गर्न पाइएला । शिक्षकले त्यसो गर्न पाउने अवस्था पनि हुँदैन । बनाइएको रुटिनअनुसार आफ्नो घण्टीमा कक्षामा जानैपर्छ । अनि कामै ‘पढाउने’ भएको यस्तो शिक्षकलाई ‘शिक्षकले पढाएनन्’ भन्ने कुरै आउँदैन ।
विभिन्न स्वभावका विद्यार्थीसँग दिनहुँ ‘अन्तरक्रिया’ गर्दा शिक्षक तनावग्रस्त हुन्छ । यो उसको पेसागत विशेषता नै हो । सधैँको पढाइलेखाइ र गृहकार्य गराइले विद्यार्थी पनि थकित भएका हुन्छन् । यो हाम्रो शैक्षिक परिपाटीको विशेषता पनि हो । त्यसैले शिक्षक विद्यार्थी दुवैलाई मानसिक आराम दिलाउन शिक्षा नियमावलीबमोजिम एकपटकमा बढीमा एक महिनासम्म बिदा दिइन्छ । शैक्षिक संस्थामा बिदा दिइने यो विश्वव्यापी मान्यता नै हो । यसैलाई लिएर शिक्षकले बढी सुविधा पाए भन्ने पनि छन् । कोही, “घरपायक शिक्षकले पढाएनन् भन्ने !” कोही, “बाहिरका शिक्षकले पढाएनन् भन्ने !” कोही, “स्थायी शिक्षक घमण्डी भएर पढाएनन् भन्ने !” कोही, करार र अस्थायी शिक्षकका कारण विद्यार्थी बिग्रे भन्ने !” खालि दोषैका कुरा छन् । यसपटकको एसईई रिजल्टअनुसार ५२ प्रतिशत विद्यार्थी फेल हुनुको कारण त शिक्षक रहेछन् रे ! ४८ प्रतिशत पास हुनुको कारण थाहा पाएर पनि किन कोही चर्चा गर्दैनन् ?
आजकल शिक्षकका लागि शिक्षण सिकाइ क्रियाकलाप निकै चुनौतीपूर्ण बनेको छ । सूचना प्रविधिको चरम विकासका कारण आजका विद्यार्थी स्क्रिनमा रमाउन अभ्यस्त भएका छन् । कक्षाकोठामा उनीहरूको ध्यान आकृष्ट गर्न कठिन छ । विद्यार्थीका लागि कक्षाकोठा निरस बन्दै छन् । आफ्ना विद्यार्थीले सिक्न नसक्दाको पीडा ! वर्षभरि सिकाउँदा पनि प्रगति हुन नसकेको तनाव ! पढाइ, ‘रहर’ नभएर ‘बाध्यता’ भएपछि विद्यार्थीले कसरी सिक्न सक्छन् ? तर, शिक्षकले कतिपय विद्यार्थीको जोखिमपूर्ण प्रतिक्रिया मोलेर भए पनि पाठ्यक्रमले तोकेको लक्ष्य हासिल गर्न आफ्नो कर्तव्य पूरा गर्नैपर्छ । यो अवस्था त भोग्ने शिक्षकलाई थाहा छ नि ! अमेरिकातिर शिक्षकले विद्यार्थीको गोली खाए ! समय यस्तै भइरहँदा भोलिका दिनमा नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न । आजैदेखि सम्भावित त्यस्तो अवस्थाबारे सचेत नरही शिक्षकलाई मात्र दोष दिनु जायज होइन ।
एउटा कक्षामा विभिन्न रुचि र क्षमताका विद्यार्थी हुन्छन् । तीमध्ये सबैको रुचि पढाइलेखाइमै हुन्छ भन्ने पनि छैन । त्यहाँ जेहेनदार विद्यार्थीमात्र छानेर राख्ने कुरा आउँदैन । जसको जेमा रूचि छ उसले त्यसैमा विशिष्टता हासिल गर्ने हो । कसैको नाचगानमा रूचि हुन्छ भने कसैको खेलकुदमा हुन्छ । कसैको सङ्गीतमा रूचि हुन्छ भने कसैको अभिनयमा । यसैलाई प्रतिभा र क्षमता भनिन्छ । ती विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा सर्वोत्कृष्ट नतिजा ल्याएर विद्यालयलाई गौरव दिलाएका पनि हुन सक्छन् । तर, बन्द कोठाभित्र राखेर निश्चित समयभित्र लिइएको एसईई परीक्षाको रिजल्टले विद्यार्थीका यस्ता कुरा थाहा पाउने कुरै भएन ।
अन्त्यमा, परीक्षा दिएपछि पास हुनु/फेल हुनु स्वाभाविकै हो । पढाइमा अब्बल ठानिएका मेडिकल, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू नियमित पास हुने ३० प्रतिशत हुँदा रहेछन् । बाँकी ब्याकपेपर दिँदै बिस्तारै पास हुन्छन् । डाक्टर/इन्जिनियर पास गरेकाहरू पनि लाइसेन्सको परीक्षामा पास हुने निकै कम हुँदा रहेछन् ! विश्वविद्यालयमा पनि नियमित पास हुनेहरू ३० प्रतिशतमात्र रहेको बताइन्छ । त्यसैले एसईईको रिजल्ट प्रतिशत कम हुँदैमा चिन्ता गर्नुपर्ने कुनै आवश्यकता छैन । प्रत्येक व्यक्तिमा फरकफरक क्षमता र सम्भावना हुन्छ । तिनलाई उपयोग गर्न पाउने वातावरण तयार गर्ने काम सरकारको हो । आजका युुवालाई विदेश पलायन हुनबाट रोक्ने खालको ‘देश बनाउने शिक्षा’ लागू गरेर कार्यान्वयन गर्न सकियो भने त्यो नै देशका लागि सबैभन्दा उच्च जीपीए हुन्छ । त्यो अवस्थामा कसैले कसैलाई दोष दिइरहुनपर्ने अवस्था आउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *