न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
नेपालले गएको १५ गते राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनायो । धान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलका दम्पतीले नै रोपाइँ गरे । यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चितवनमा रोपाइँ गरे तर ती रोपाइँको स्वरूप नितान्त फरक थियो । राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पहिली महिला सविताले पनि धान रोपे । रामचन्द्र पौडेल सुरूवाल र जुता फुकालेर हिलोमा फसे । कोदाली चलाएर बाहुसे गरे । उनकी श्रीमती सविताले धान रोपिन् । बुढाबुढी दम्पती नै हिलाम्य ! यता चितवनमा प्रधानमन्त्री प्रचण्डले पनि रोपाइँ गरे । तर, उनलाई पानीले र हिलोले छुन पाएन । किनभने प्रचण्डले मेसिनले सबैथोक गरे । हिलो पनि लागेन पानीले पनि छोएन । मेसिनको प्रयोग कति आकर्षक र सुकिलो रोपाइँ भयो । यता राष्ट्रपतिले हात होइन, कोदाली चलाए र बुढाुबढी नै हिलाम्य भए । ग¥यो भने हिलो र धमिलो पानीले रोपाइँ गर्नेको लुगा र जिउमा हिलो पानीको थोप्लो र चिसो पनि पस्दोरहेनछ । राज्यले धान रोप्ने मेसिन प्रधानमन्त्रीलाई किन प्रयोग गर्न दियो ? राष्ट्रपतिलाई किन हिलोमा पठायो ? यसभित्र पनि राजनीतिक दाउपेच छ कि ? सोच्नु जरूरी छ । नेपालमा चौध लाख चौतीस हजार सात सय सन्तानब्बे हेक्टरमा धान खेती गरिँदो रहेछ । यो खेतीबाट सरदर उत्पादन ४.९१ प्रतिशतले र उत्पादकत्व ५.१ प्रतिशतले वृद्धि भएको थियो रे ! नेपालमा जति जनसङ्ख्या छ, त्यसका लागि प्रतिव्यक्ति १३८ किलोग्रामका दरले चामल चाहिने रहेछ । यस हिसाबले नेपालमा ६२ लाख ८८ हजार ६६० मेट्रिक टन चामल आवश्यकता पर्ने रहेछ तर भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामुनि नै हुने रहेछ ।
ढिँडो र कुखुराको मासु रोजा खाना !
खाद्यान्नमा आत्मनिर्भर हुनु भनेको मुलुकको सार्वभौम स्वतन्त्रता संरक्षण गर्ने एउटा महत्वपूर्ण विषय हो । जुन देशमा आफूलाई खान पुग्ने अन्न पनि उत्पादन गर्दैनन्, त्यो देशको सार्वभौम सम्प्रभुताको प्रत्याभूति हुँदैन । दैनिक खाने भातका लागि पनि आफ्नो उत्पादनले नपुगी विदेशबाट चामल ल्याएर पेट भर्नु भनेको सम्प्रभुताको कुलक्षण हो । धान रोपाइँ समारोहलाई केही वर्षदेखि राष्ट्रिय धान दिवसको रूपमा मनाइँदै छ तर, जति धुमधामसँग राष्ट्रिय धान दिवस मनाए पनि धानको उत्पादनले नेपालीको पेट भर्न सकेको छैन । २०८० सालमा भारतबाट चामल र अरू खाद्य वस्तु अर्बौँ टन मगायो; नेपाली खान नपाएर त मरेनन् । तर, यो स्थिति राम्रो सङ्केत होइन । धान हिजो–आज धेरै चल्तीको खाद्यान्नमा पर्छ । अब त कर्णालीजस्ता दुर्गम पहाडमा पनि बाहिरबाट ट्रक चामल प्रवेश गर्छ र जनता पिठोको परिकार होइन, चामलको परिकार मन पराउँछ । केही वर्षदेखि राजमार्गका ठाउँठाउँमा भात होइन, ढिँडो र स्थानीय कुखुराको मासु खोजीखोजी खाने चलन पनि प्रारम्भ भएको छ । त्यस्ता ढिँडे होटलमा खाना खान लामो समय पर्खनुपर्छ । अझ पूर्व–पश्चिम राजमार्ग नदीको विकट ढिँडे होटलमा स्थानीय खोलाको माछा पनि स्वादिलोसँग पकाएर आगन्तुकलाई डम्म डकार आउने गरी खुवाउने चलन पनि बढिरहेको छ । यसरी, ढिँडो पनि मासु र दही, दूध पायो भने रोजा खानेकुरामा पर्दो रहेछ । तसर्थ, कुखुरा पाल्ने, गहुँ, मकै र कोदो खेती गर्ने चलनलाई प्रोत्साहित गर्नुपर्छ ।
पौष्टिकताको आधारमा मूल्याङ्कन गर्नुप¥यो
वास्तवमा पौष्टिक दृष्टिकोणबाट हेर्ने हो भने त्यो चामल कहाँ, कहिले कति अगाडि तयार भएको हो ? त्यो भन्दा त आफ्नै बारीको मकै, कोदो र फापरको ढिँडो, आफ्नै बारीको गहुँको परिकार कति स्वादिलो र कति पौष्टिक हुन्छ ! खाद्य विशेषज्ञहरूले ती अन्नको पौष्टिकता र स्वाद जोगाउनु आजको आवश्यकता हो । यही नेपाल ४० वर्ष अगाडि लाखौँ टन चामल, भारत निकासी गथ्र्यो । भारत भई संसारका अरू देशमा पनि नेपाली चामल पुग्थ्यो र नेपालको अर्थतन्त्र सबल एवं सुदृढ थियो । आफ्नै बारीमा मास, मस्याङ, बोडी र सागपात प्रशस्त हुन्थे जुन पौष्टिक पनि हुन्थ्यो तर नेपालले विकासको नाउँमा ती गेडागुडीको बाली लगाउन छोड्यो वा कम गर्दै गयो । यसरी, नेपालले आफ्नो चिनारी गुमाउँदै गयो । तर, केही वर्षपछि पुनःस्थापित हुने युग आयो । परिणामस्वरूप स्थानीय कुखुराको मासु र ढिँडो अति लोकप्रिय भयो । ढिँडो भनेपछि नेपालमा हेला गरिने खानामा पथ्र्यो । मानिसहरूलाई अपेक्षा गर्दा ढिँडे भन्दथे । ढिँडे भनिने मानिसले चित्त दुखाउँथ्यो तर युगको खेल अहिले ढिँडो र स्थानीय कुखुराको मासु एकदम लोकप्रिय भयो । यो ढिँडो र स्थानीय कुखुराको मासुको जति प्रचार गरे पनि प्रचारै नगरिकन लोकप्रिय भयो । तसर्थ, स्थानीय कुखुरापालनलाई यो लोकप्रियताले विकास गर्न ठुलो महत्व दिएको छ । वास्तवमा कुन ठाउँमा कति अगाडि धान कुटेर बनाएको चामलको पौष्टिकता कति हुन्छ र स्थानीय पिठोको परिकारको पौष्टिकता कति हुन्छ अब ढिँडो र भात नामको आधारमा होइन, पौष्टिकताको आधारमा यी खानेकुराको मूल्याङ्कन गर्नु जरूरी जस्तो लाग्छ ।
Leave a Reply