भर्खरै :

साम्राज्यवादको पतन नभएसम्म तेस्रो विश्वका जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउनेछैनन्

साम्राज्यवादको पतन नभएसम्म तेस्रो विश्वका जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउनेछैनन्

भक्तपुर, २० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बाल विकास सेकेन्डरी स्कूलले एसईई परीक्षा–२०८० मा सहभागी विद्यार्थीहरूलाई बधाई तथा बिदाइ कार्यक्रम बिहीबार सम्पन्न ग¥यो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले तल्लो वर्गका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ बाल विकास इङ्गलिस सेकेन्डरी स्कूल स्थापना भएकोे बताउनुभयो ।
समाज परिवर्तनको लागि असल शिक्षकको महत्व धेरै हुने चर्चा गर्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवं विश्व सर्वहारावर्गका नेता माओ त्सेतुङ आफूलाई शिक्षक भन्न रूचाउने गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष माओको योगदानकै कारण चीन विश्वको महाशक्ति बन्न सफल भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “संसारमा उत्पादन हुने सामानहरूमध्ये ३७ प्रतिशत चीनमा मात्र उत्पादन हुन्छ । चीनले आफ्नो देशमा गरिबी उन्मूलन गरेको छ; यो अरू देशको लागि सिक्न लायकको छ ।”
विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले तेस्रो विश्वका देशलाई ऋण सहयोगको नाममा पासोमा फसाउँदै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसको सरकारले चीनसँग अनुदान माग्ने तर संरा अमेरिकासँग ऋण सहयोग लिने नीति देशघाती छ । अमेरिकी साम्राज्यवादको पतन नभएसम्म तेस्रो विश्वका जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउनेछैनन् ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “उच्च शिक्षाको लागि विदेश गए पनि विदेशमा हासिल गरेको ज्ञान देशको हितमा उपयोग गर्नुपर्छ ।”
विशेषज्ञता हासिल गर्ने उद्देश्यका साथ अध्ययन गर्नु जरूरी रहेको चर्चा गर्दै उहाँले जुनसुकै विषय अध्ययन गरे पनि समाज र देशको लागि योगदान गर्ने लक्ष्य लिनुपर्छ भन्नुभयो ।
“भक्तपुरको शैक्षिक विकास र भक्तपुर नगरपालिकाका गतिविधिहरू अरू स्थानीय निकायको लागि चासोको विषय छ† यो स्थिति आउनुमा नगरवासीको इमानदारिता, नगरपालिकाको पारदर्शिता र सामूहिक योगदानको परिणाम हो”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
पाठ्यक्रममा मात्र सीमित हुन नहुनेतर्फ विद्यार्थीलाई सुझाव दिँदै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा पनि चासो राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने र साम्राज्यवादविरूद्ध लड्ने विश्व प्रसिद्ध व्यक्तिहरूको जीवन सङ्घर्षबाट सिक्न उहाँहरूको जीवनी अध्ययन गर्नु आवश्यक छ ।”
भक्तपुरको शैक्षिक विकास उत्साहप्रद रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले बिचमा कुनै बाधा व्यवधान नआए भक्तपुरको हरेक क्षेत्रमा महिला नेतृत्वमा आउने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले अनुशासित तथा मेहनती शिक्षक÷विद्यार्थीहरूकै कारण बाल विकासले हरेक क्षेत्रमा प्रगति हासिल गर्न सफल भइरहेको बताउनुभयो ।
सबै मिलेर काम गर्दा जित हासिल गर्न सकिने भावनाका साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्वार्थी भावनाले गन्तव्यमा पुग्न नसकिने भएकोले विद्यालयले सामूहिक भावनामा जोड दिँदै आएको छ ।”
समाजलाई अगाडि बढाउन असल र दक्ष शिक्षकहरूको धेरै सङ्ख्या आवश्यक भएको धारणा राख्दै उहाँले अहिलेको मुख्य आवश्यकता भनेको धेरैभन्दा धेरै असल र दक्ष शिक्षक तयार गर्नु हो भन्नुभयो ।
“देशलाई अगाडि बढाउन समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ । विद्यार्थीहरूले समाजवाद र पुँजीवादी व्यवस्थाको भिन्नताबारे थाहा पाउनु जरूरी छ”, प्रिन्सिपल गोसाईले भन्नुभयो ।
देशको शिक्षाको स्तर खस्किनुमा अहिलेसम्मका प्रधानमन्त्री र शिक्षामन्त्रीहरू जिम्मेवार भएको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले राज्यले शिक्षालाई प्राथमिकतामा नराखेकै कारण शिक्षाको स्तर खस्केको हो भन्नुभयो ।
अहिलेको बजेटको ११ प्रतिशत रकममात्र शिक्षाको लागि छुट्याएको र त्यसमध्ये ८० प्रतिशत रकम पारिश्रमिकमा खर्च हुने गरेको उहाँले जानकारी गराउनुभयो ।
विद्यालय शिक्षामा ५६ हजार शिक्षकहरूको दरबन्दी खाली रहेको चर्चा गर्दै प्रदेशसभा सदस्य सैँजूले शिक्षकसमेत व्यवस्था गर्न नसक्ने सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्छ भन्ने विश्वास नभएको बताउनुभयो ।
गलत राजनीतिकै कारण शिक्षाको स्तर खस्किएकोले अरू क्षेत्रमा पनि नकारात्मक असर परिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रमा परनिर्भरता बढ्दै छ । यस्तो स्थितिलाई परिवर्तन गर्न दक्ष अर्थशास्त्री आवश्यक छ । यसतर्फ विद्यार्थीहरूले मनन गर्नु जरूरी देख्छु ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सपना देख्नेले मात्र सपना पूरा गर्न सकिने उक्तिबारे चर्चा गर्दै विद्यार्थीहरूले राम्रो गर्ने लक्ष्य राखी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षालाई जोड दिई कार्य गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “भक्तपुरलाई शिक्षाको केन्द्र र पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्यका साथ भनपाले कार्य गरिरहेको छ । उच्च शिक्षामा सबैको पहुँच पु¥याउन भनपाले विभिन्न शैक्षिक ऋण एवं छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अध्ययनलाई निरन्तरता दिने र लगनशील विद्यार्थीले मात्र प्रगति हासिल गर्न सकिने भएकोले यसतर्फ विद्यार्थीहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि उपयुक्त वातावरण तयार गरिदिएको हुँदा भक्तपुरमै अध्ययन गर्न र आफूलाई पढ्न रहर हुने विषय छनोट गर्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी डा. सुनिता धन्छा र शिक्षिका सीता प्रजापतिले शुभकामना तथा स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरू जयन्द्र श्रेष्ठ, विशाल राजचल, शङ्कर आचार्य, सूर्यबहादुर पञ्च, विद्यार्थीहरू सिजननिइना प्रजापति र सुरभी लाखाजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षिकाहरूले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *