भर्खरै :

एसईई उत्तीर्ण विभिन्न खेलका प्रशिक्षार्थी खेलाडीहरूलाई सम्मान कार्यक्रम

एसईई उत्तीर्ण विभिन्न खेलका प्रशिक्षार्थी खेलाडीहरूलाई सम्मान कार्यक्रम

भक्तपुर, २० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव जीवनको महत्वपूर्ण आधार भएको बताउँदै मानिसमा भएको भौतिक गुण नष्ट नभए पनि प्राप्त शिक्षा उसको जीवनमा सधैँ रहिरहन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको २०८० सालको एसईई परीक्षामा उत्तीर्ण प्रशिक्षार्थी खेलाडीहरूलाई बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रममा उहाँले खेलाडीहरूले आफ्नो खेल जीवनसँगै विद्यालय शिक्षालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
समयमा परीक्षा नहुने, पाठ्यपुस्तक नपुग्ने, विषयगत शिक्षकको अभाव र चोरी गरेर पास गर्नाले एसईई परीक्षामा धेरै परीक्षार्थी अनुत्तीर्ण भएको बताउँदै उहाँले सबै विषय लागेका विद्यार्थीहरूलाई मौका परीक्षा दिन पाउने व्यवस्थाले देशको समग्र शैक्षिक गुणस्तर नै खस्कने खतरा निम्तिएको बताउनुभयो ।
युवाहरू कक्षा १२ पास हुनेबित्तिकै रोजगारीको लागि बिदेसिने क्रम बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विदेशीको सहयोगमा हाम्रो देश बनाउने नभई हामी आफैँले हाम्रो देशलाई बनाउनुपर्छ भन्ने भावना युवाहरूमा जागृत गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले खेलाडीहरूलाई प्रोत्साहित गर्ने कार्य गर्दै आइरहेको बताउँदै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल, लक्ष्मीप्रसाद ह्यौँमिखा, भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय र सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *