भर्खरै :

ख्वप कलेजमा प्रमाणपत्र वितरण कार्यक्रम

ख्वप कलेजमा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, २० असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा बीबीएस (भर्ना समूह २०७९) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई बिहीबार नन् क्रेडिट कोर्सअन्तर्गत आइटी एन्ड एप्लिकेसन र सफ्ट स्किलअन्तर्गत पब्लिक स्पिकिङ तथा एमसी ट्रेनिङको प्रमाणपत्र वितरण कार्यक्रम आयोजना भयो ।
कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने योग्य नागरिक तयार गर्ने उद्देश्यले कलेजले विश्वविद्यालयले निर्धारण गरेका पाठ्यक्रमबाहेक आधुनिक समयको मागअनुसार व्यवस्थापन सङ्कायका विद्यार्थीहरूलाई सूचना तथा प्रविधि र व्यक्तित्व विकाससँग सम्बन्धित थप कक्षा तथा तालिमहरू सञ्चालन गरेको बताउनुभयो ।
विद्यार्थीहरूले भविष्यमा जुनसुकै क्षेत्रमा लागे तापनि देश र जनताको लागि समर्पित भई इमानदारीका साथ कार्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थी तथा कार्यरत शिक्षक र कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि आवश्यकताअनुसार कलेजले समय समयमा विभिन्न तालिम तथा गोष्ठीहरू आयोजना गरेको बताउनुभयो ।
आइटी एन्ड एप्लिकेसन विषयका शिक्षक प्रकाश अधिकारीले सूचना तथा प्रविधिको महत्व र अर्का प्रशिक्षक रेडियो प्रस्तोता किरण सुवालले तालिमको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
बीबीएस कार्यक्रमका स.इन्चार्र्ज एवं कक्षा तथा तालिम संयोजन गरेका उपप्राध्यापक प्रकाश नातरीले यसअघि सञ्चालन भएको ४८ घण्टाको आइटी एन्ड एप्लिकेसन कक्षा सञ्चालन एवं परीक्षा र १० घण्टाको पब्लिक स्पिकिङ तालिमको बारेमा विवरण प्रस्तुत गर्नुभयो ।
कक्षा तथा तालिममा प्रशिक्षार्थीहरूको प्रतिनिधित्व गर्दै विद्यार्थी विनिसा शाक्यले नन् क्रेडिट कक्षा तथा तालिम निकै उपयोगी तथा प्रभावकारी र व्यक्तित्व विकासमा सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नन् क्रेडिट कोर्समा उत्तीर्ण विद्यार्थीहरूलाई ग्रेड सीट तथा प्रमाणपत्र र उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा स्रोतव्यक्तिहरूलाई कलेजका प्राचार्यले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *