पढाइको राजनीति – २
- असार ६, २०८३
चितवन वाग्मती प्रदेशको दक्षिण–पश्चिम क्षेत्रको एक जिल्ला हो । यसको सदरमुकाम भरतपुर हो । २०१९ सालमा उद्घाटन भई बनाएको नेपालको पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग यस जिल्ला भएर गएपछि चितवन जिल्लाको विकासमा तीव्रता आएको हो । अहिले भरतपुर–नारायणगढ नेपालको एक महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ ।
चितवन पहिले घना जङ्गल थियो । त्यस वनमा थारुहरूको राजा चित्रसेनले राज्य गर्थे । चित्रसेन राजाको वन भएकोले त्यस ठाउँको नाम चित्रवन (चित्रसेनको वन) भनिन्थ्यो । पछि चितवन हुन गएको कथन छ । आजभोलि पनि थारुहरू चित्रसेन बाबाको पूजा गर्ने गर्छन् । चितवन जिल्लामा बग्ने प्रमुख नदी नारायणी हो ।
चितवन एक उपत्यका हो । यो उपत्यका तराई र पहाडी क्षेत्रबिचको भित्री मधेस क्षेत्रमा परेको छ । यस उपत्यकालाई राप्ती उपत्यका पनि भन्ने गरिन्छ । चितवनमा जिल्लाको दक्षिण भाग माडी उपत्यका हो । यस जिल्लामा राप्ती उपत्यका र माडी उपत्यका गरी दुई उपत्यका परेका छन् । चितवन जङ्गलै जङ्गलले ढाकेको जिल्ला हो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र चितवन उपत्यकामै छ ।
भरतपुर रत्ननगरबाट माडीमा जान राष्ट्रिय निकुञ्ज नाघेर जानुपर्दथ्यो । म चितवन काम गर्दा पटकपटक रत्ननगरबाट माडी र माडीबाट रत्ननगरमा हिँडेर गएको थिएँ । जङ्गलमा हिँड्नु जनावरको ठुलो जोखिम थियो । राष्ट्रिय निकुञ्ज भनेपछि वन्यजन्तु संरक्षण क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जमा बाघ, भालु, गैँडा, चितुवा, गोही, अजिङ्गरजस्ता हिंस्रक जनावरहरू थिए । जरायो, खरायो, मृग, बाँदर, सुङ्गुरजस्ता धेरै थरीका जन्तुहरू निकुञ्जमा थिए ।
रत्ननगरबाट माडीमा जाँदा करिब तीन चार घण्टा जङ्गलै जङ्गल भएर जानुपथ्र्याे । माडी जाँदा फर्कँदा प्रायः एक दुई जना साथी हुन्थे । तर, एकपटक माडीमा जाने म एक्लै परेँ । बिहानको खाना खाएर झोला बोकी म माडीतर्फ लागेँ । राष्ट्रिय निकुञ्जको जङ्गल नपुग्दै एउटा नदी तर्नुपथ्र्यो । नदी तर्न पुल थिएन, पानीमा डुबेर जानुपथ्र्यो । लुगा, पाइन्ट फुकाली झोलामा राखँे र एउटा कटु बाँकी गरी नदी तरेँ । नदीमा पानी छातीसम्म आएको थियो । घना जङ्गलमा मानिसको भेट सा¥है कम हुन्थ्यो ।
सिधा र सर्लक्क परेको सालको रुख तथा झारपातले भरेको घना जङ्गलमा मानिस हिँड्डुल गरेको घाँस, झारपात नभएको बाटोबाट हिँड्नुपथ्र्यो । एकान्त जङ्गलमा कुनै आवाज आयो कि जिउ सिरिङ्ग हुन्थ्यो । जङ्गलमा हिँड्दै गर्दा अचानक नजिकबाट केही दौडिएको आवाज सुनियो । मेरो पाइला टक्क रोकियो । म हिँड्दै गरेको आवाजले एक बथान मृग भागेको रहेछ । कराउँदै पछाडि फर्कँदै सयौँ मृग लहरे दौडेको एकछिन उभिएर हेरी बसँे । मृगको बथान हेर्न पाउँदा एकछिन त रमाइलो लागेको थियो । दुई तीन घण्टा हिँड्दा एकजना पनि मानिस भेटिएन । राष्ट्रिय निकुञ्जको क्षेत्र नाघिसकेपछि बल्ल मानिसको आवाज सुनियो । दिनभरि एक्लै हिँडँे । साँझपख माडीमा पुगेँ ।
चितवन जिल्ला ज्यादै गर्मी हुने ठाउँ थियो । गर्मी ठाउँमा सर्पको बिगबिगी हुन्थ्यो । रत्ननगरको छिमेकी गाउँको साथीको घरमा बस्दै गर्दा एकदिन एक छिमेकीको घरमा सर्प आयो भन्ने हल्ला भयो । दुलोमा पस्यो भनेर दिनभरि सर्पको खोजी भयो । तराईतिर सर्प पनि एक ठुलै समस्या थियो ।
दसैँको समय थियो । साथीले मलाई अर्को गाउँको एक साथीको घरमा लानुभयो । बिहान ८–९ बजेतिर घरका साथी आँगनका काम गर्दै थिए । साथीका स–साना छोराछोरीहरू आँगनमै खेल्दै थिए । करिब ४०–४५ वर्षका एक मानिस र साथमा एक केटो साथीले काम गरेको ठाउँमा पुगँे । घरको साथी र त्यो बाहिरबाट आएको मान्छे भेट्ने बित्तिकै एक अर्कोसँग अँगालो मारी दुवै जना रुन थाले । म अलि पर बसेको थिएँ, के गरौँ के गरौँ भयो । के भयो ? किन रोयो ? मैले अनुमान नै गर्न सकिनँ । त्यहाँको रीतिरिवाज, चालचलन, संस्कार र संस्कृति मलाई केही थाहा थिएन । करिब १५–२० मिनेटपछि रुवाबासी रोकियो । मैले साथीलाई किन के भयो भनी सोध्दा साथीले केही भएको छैन भन्नुभयो ।
मनको खुल्दुली मेट्न मैले अर्को साथीसँग सोधेँ । साथीले मलाई सबै कुरा बताउनुभयो । त्यो बाहिरबाट आएको मानिस घरका साथीको साखै भाइ रहेछ । त्यो भाइ घर छोडेर बाहिर गएको १०–१२ वर्ष भइसकेको थियो । त्यो भाइ घर छोडी कहाँ गयो, कता गयो, केही अत्तोपत्तो थिएन, म¥यो कि बाँच्यो केही थाहा थिएन । त्यति लामो समयसम्म अत्तोपत्तो नभएको भाइ अचानक घरमा आएको र भेट भएको हुँदा भावविह्वल भई दुवै जना रोएका रहेछन् । परिवारको लामो समयसम्मको बिछोड र भेट हुँदा दुःख र सुखको आवेगमा रुवावासी हुँदोरहेछ । यो मेरो लागि नौलो जानकारी थियो ।
त्यसबेला मलाई कहिले भरतपुर पठाइन्थ्यो त कहिले दरभङ्गा पठाइन्थ्यो । पार्टीबाट आएको निर्देशनअनुसार जानुपथ्र्याे । पार्टीबाट मलाई भरतपुर जान आदेश आयो । भोलि बिहान ६ बजे नै काठमाडौँको बसमा गएँ । बसमा जानु अगाडि साथीले कागजमा पोको पारी मेरो झोलामा के राखिदिनुभयो, मलाई थाहा थिएन । दिउँसो १२–१ बजेतिर बस टिस्टुङमा रोकियो । सबै बसबाट झरे । खाना खान कोही कता कोही कता होटेलमा पसे । म बसमै बसी साथीले पठाएको पोको खोलेँ । पोकोमा केही चिउरा र खसीको पकाएको मासु राखिएको रहेछ । अति गर्मीको समयमा पोको पारिराखेको, गन्ध आइसक्यो होला भनी एक टुक्रा खाएर हेर्दा गन्ध आएको थिएन । खसीको मासु र चिउरा अति मिठो लाग्यो र सबै खाएँ, होटलमा खाना खानु परेन ।
प्रत्येक दिन राति एउटा समितिको बैठकमा जान्थेँ । सङ्गठनको आवश्यकतासम्बन्धी कुरा बताउँथँे । पाँच–छ दिनपछि फेरि म चितवनमै पुगेँ । रत्ननगरको विनोद भन्ने साथीको घरमा बसिराखेको थिएँ । चितवनको उत्तरी भेग शक्तिखोरमा एउटा चिट्ठी पठाउनुपर्ने थियो । घरको साथी विनोदसँग सल्लाह गरेँ । विनोद साथीले फलाना साथीलाई पठाउनु भनी सल्लाह दिनुभयो । विनोद साथीलाई पत्र लेख्न अनुरोध गरँे । साथीले पत्र लेख्न मान्नु भएन, मलाई नै लेख भन्नुभयो । सानो कापीको पानामा विनोदले भनेको साथीको नाममा मैले पत्र लेखे । मैले लेखेको पत्रलाई साथीले मान्दैन होला भनी मलाई शङ्का थियो । तर, भोलिपल्ट बिहानै साथी शक्तिखोरमा जान हिँडिरहेको मैले देखेँ । मलाई खुसी लाग्यो । पार्टीको अनुशासनलाई साथीहरूले सहर्ष स्वीकारेको देखँे ।
यसपटक म विनोद साथीको घरमा हप्ता दिन नै बसेँ । उहाँको घर काठको मुढा अड्याएर बनाइएको दुई तलाको थियो । साथीको आमा, श्रीमती र दुई छोरीहरू थिए । बुढीआमा र भाउजू अति मिलनसार स्वभावकी हुनुहुन्थ्यो । एउटी छोरी चार वर्षको र अर्को छोरी ६ वर्षकी थिइन् । एउटा गाई पनि घरमा पालेको थियो । आमा बिहान बेलुकाको खानामा चामलको थोरै भात र थोरै ढिडो अनि आफ्नै बारीमा फलेको घिरौलाको तरकारी दिनुहुन्थ्यो । कहिलेकाहीँ आफ्नै गाईले दिएको थोरै दूध पनि दिनुहुन्थ्यो । साथी विनोदकी आमा उमेरको कारण ग¥हौँ काम गर्न सक्नुहुन्नथ्यो । घरखेतको कामले भाउजूलाई दिनभरि भ्याइनभ्याई हुन्थ्यो । मैले भाउजूसँग पढाइ–लेखाइबारे सोधँे । भाउजूको पढ्ने चाहना निकै रहेछ । मैले फुर्सदमा पढ्नुहोस् भनी ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक दिएँ । तर, पढ्ने समय निकाल्न कठिन थियो ।
मलाई शक्तिखोरमा जानको लागि पार्टीको आदेश आयो । शक्तिखोर चितवन जिल्लाको पहाडी क्षेत्र हो । शक्तिखोर चेपाङहरूको बस्ती थियो । चेपाङ जाति अति पिछडिएको वन्य जातिका मानिस भनी सुनेको थिएँ ।
शक्तिखोरमा मलाई पु¥याउनको लागि रत्ननगरका दुईजना साथीहरू बिहानै आइपुगे । हामी बिहानै हिँड्यौँ । केही घण्टा हिँडिसकेपछि पहाडको बाटो आइपुग्यो । जङ्गलको बाटो उकालो ओरालो गर्दै हामी हिँडिरहेका थियाँै । अचानक सिमसिम वर्षा सुरु भयो । दुईजना साथीसँग छाता थियो । मसँग छाता थिएन, एउटा छातामा दुईजना बसी हिँड्न नमिल्ने साँघुरो बाटो थियो । त्यसो भएकोले पानीमा रुझेर हिँड्नुको विकल्प थिएन । गर्मी मौसममा सिमसिम पानीले रुझेर खासै चिसो भएन तर लामो समयपछि आउँ भएझैँ छिनछिनमा दिशा लाग्न थाल्यो । अलिअलि पेट दुख्न थाल्यो ।
रुख–बिरुवा, झारपातले पुरै ढाकेको सधैँ चिसो भइरहने बाटो, सिमसिम पानी परिरहेको, जुकाको लागि अति उपयुक्त मौसम थियो । हामी बाटोमा हिँड्दै गर्दा जमिनबाट खुट्टा र पैतालामा स–साना जुका आउँथ्यो र मानिस, गाईवस्तुको गन्ध आएपछि रुखबाट ठुलठुला जुका खस्ने गथ्र्याे । खुट्टा र जिउको ठाउँठाउँमा जुकाले प्वाल पारेको घाउबाट रगत बगेको हेर्दै झिसमिसे साँझमा हामी शक्तिखोर पुग्याँै । साथीको घरमा पस्दा अँध्यारो भइसकेको थियो । भोलि बिहानको खानापछि रत्ननगरबाट सँगै आएका दुईजना साथीहरू फर्किनुभयो ।
शक्तिखोरमा पुगी हामी बसेको घर माइला दाइको घर रहेछ । माइला दाइ चेपाङ समुदायबाट आउनुभएका नेपाल मजदुर किसान पार्टीका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । सङ्गठनको काममा लाग्दा माइला दाइलाई मैले पहिले पनि भटेको थिएँ । परिचित साथी र पार्टीकै कार्यकर्तासँग बस्न पाउँदा मलाई सजिलो अनुभव भएको थियो ।
माइला दाइको परिवारमा बाआमा र चारजना छोरा थिए । माइला दाइको कान्छो भाइ मेरो उमेरका थिए । उनलाई परिवारका सबैले कान्छा नै भन्ने गर्थे । उमेर पनि मिल्ने सोझो सिधा र मिलनसार स्वभावको कान्छा मेरो मिल्ने साथी नै भयो । तर, अति पिछडिएको चेपाङ समाज र विकट ठाउँमा जन्मेको हुर्केकाले शिक्षा–दीक्षाबाट वञ्चित थियो र चेतना पनि त्यति थिएन ।
माइला दाइको दाजु जेठा चेपाङ २०३४ सालमा चितवनमा भएको जुगेडी काण्डको आरोपमा जेल जीवन बिताइरहनुभएको थियो । माइला दाइको बुबा धामी–झाँक्रीको काम गर्नुहुन्थ्यो । माइला दाइको परिवारमा उहाँको आमा एकजना मात्र हुनुहुन्थ्यो । ६ जना परिवारमा ५ जना पुरुष थिए । आमा अति मिलनसार र सोझी हुनुहुन्थ्यो । म पनि उहाँलाई आमा नै भन्ने गर्थेँ । आमाले मलाई पनि छोरोझैँ माया गर्नुहुन्थ्यो ।
शक्तिखोर पहाडै पहाडको इलाका थियो । पहाडको बिचबिचमा अलि भिरालो कम भएको ठाउँमा स–साना गरा बनाई बाली लाउने गर्थे । ढुङ्गै ढुङ्गा थोरै बालुवा मिसिएको जग्गामा मकैमात्रै बाली लगाउने गर्थे । मकै बारीमा बोडी पनि लगाउने गर्थे । अन्य साग–सब्जी केही थिएन । अग्लाअग्ला दुई पहाडको बिचमा सानो खोला बगिरहेको थियो । खोलाको छेउमा स–साना गरा बनाई धान रोप्ने गर्थे । त्यहाँको धान पुस्ट हुने गरी नपाक्ने रहेछ । त्यो धानको चामल कनिका हुँदोरहेछ ।
चेपाङहरू जङ्गलमा गिठा भ्याकुर खोजी खान्थ्यो भनी पढेको थिएँ, सुनेको थिएँ । मकै उब्जाउने बारी नभएका र भएर पनि उत्पादन नभएका, उत्पादन भएको वर्षभरि खानलाई नपुगेकाहरूले बाँच्नको लागि गिठा–भ्याकुरबाहेक अरु विकल्प नै थिएन । त्यसैले चेपाङहरूले सबै खाने गर्थे । भ्यागतोको लार्भा, चेपा, अरिङ्गाल (मौरी) लाई मासुको रूपमा खाने गर्थे । गाउँमा कसैको भैँसी, गोरु मरे सबै गएर मरेको वस्तुको मासु बाँडीचुँडी ल्याउने र खाने गर्थे ।
एक दिनको कुरा थियो । बिहान सबेरै बोलाएको आवाज सुनियो । छिमेकी गाउँलेले पालेको भैँसी मरेको ‘मासु लिन आउनू’ भन्न आएको रहेछ । त्यो दिनको बेलुकीको खानामा मरेको भैँसीको मासु पकाएको थियो । आमाले मलाई माया गरी भन्न आउनुभयो, तपाईँ भैँसीको मासु खानुहुन्छ ? मैले मासु नखाएको जवाफ दिएँ ।
साथी कान्छाले एकदिन मलाई खोलामा चेपा मार्नको लागि लानुभयो । करिब एक घण्टा ओरालो लागेपछि खोलामा पुग्यौँ । सानो खोलामा पानी त्यति थिएन, खोलामा चेपा थुप्रै हुँदा रहेछन् । चेपा मार्नको लागि साथै लानुभयो । करिब एक घण्टा ओरालो लागेपछि खोलामा पुग्यौँ । सानो खोलामा पानी त्यति थिएन । चेपा मार्ने अरु पनि थिए । खोलालाई बिचबिचमा थुनी चेपा मार्दै थिए । कान्छाले पनि चेपा मार्न थाले, म हेरी बसेँ । त्यो दिन घरमा आमाले चेपाको मासु पकाउनुभयो । सबैले चेपाको मासु र ढिडो मिठो मानी खाए । तर, मलाई निल्न अति कठिन भयो । कहिले नखाएको कस्तो कस्तो भयो ।
एकदिन घरमा अरिङ्गाल ल्याएको थियो । दुई तीनजना केटाहरू मिलेर जङ्गलको रुखमा अरिङ्गालको गोलो घार ल्याएको रहेछ । त्यो दिन आमाले अरिङ्गालको मासु पकाउनुभयो । चिउरीको घ्युमा तारी नुन थोरै राखेर पकाउने गर्थे । तेल, मर–मसला भनेको त्यहाँ केही थिएन ।
शक्तिखोरमा बस्दा म धेरैजसो माइला दाइकै घरमा हुन्थेँ । बैठक, भेला हुँदा दुई–चार दिन अन्य गाउँमा जान्थँे र फेरि माइला दाइकै घरमा आउँथेँ । त्यसैले माइला दाइको परिवार आफ्नै परिवारझैँ हुन थाल्यो ।
माइला दाइको आमा मलाई सा¥है माया गर्नुहुन्थ्यो । रुघाखोकी, ज्वरो आउँदा पानी उमालि दिनुहुन्थ्यो । छिमेकीसँग कागती मागेर ल्याइदिनुहुन्थ्यो । एकदिन दिउँसो खाजा खाने समयमा आमाले मलाई विशेष खाना पठाइदिनुभयो । एउटा बटुकोमा कनिकाजस्तो चामलको भात भरी राखी त्यसमाथि एउटा माछा र केही भटमास राखी खानुस् भनी राखिदिनुभयो । त्यो देख्नेबित्तिकै दिमागमा मेरो घरको आमाले ‘भूत पन्छाउन’ राखेको भाग सम्झना भयो । आमाले कति मायाले दिनुभएको मैले नाइँ भन्नै सकिनँ । मैले बिस्तारै खाएँ ।
चेपाङ समाजमा त्यस्तो खाना विशेष पाहुनालाई दिने रहेछ । आमाले मलाई विशेष माया गरी त्यो खाना दिनुभएको थियो । धान नै नभएको ठाउँमा चामल कहाँ हुनु । पहाडको तल बग्ने खोलाको छेउमा स्थानीयहरू स–साना गरामा धान रोप्ने गर्थे । बालुवा र ढुङ्गाको कापमा रोपेको धान राम्रोसँग नपाक्ने । त्यो धानलाई ओखलजस्तो ढुङ्गामा कुटेर बनाएको चामल कनिकाभन्दा के राम्रो होला ¤ त्यस्तो चामलको भात त्यहाँ विशेष खाना हुनेरहेछ ।
माइला दाइले छ–सात दिनको लागि मलाई अर्को ठाउँमा लानुभयो । त्यहाँ मेरो बसाइँ गोठमा थियो । एकातिर गाई गोरु राख्थे । अर्कोतिर बाँस गाडेर अलि माथि पर्ने गरी बनाएको ठाउँमा म सुत्ने र बस्ने गर्थेँ ।
प्रायः रातिराति चेपाङ दाजुभाइ काकाहरूको भेटघाट हुन्थ्यो । माइला दाइले त्यस्तो बैठकमा मलाई पनि लानुहुन्थ्यो । आठ–दस जनाको त्यो भेलामा सङ्गठनको विषयमा शोषण, दमन र क्रान्तिको विषयमा कुराकानी हुन्थ्यो । चेपाङहरू गीत–सङ्गीतमा धेरै रमाउने गर्थे । त्यसैले सङ्गठनको बैठकमा सङ्गठनकै विषयका विभिन्न लयका गीतहरू पनि गाउने गर्थे । एकजनाले लय भाका मिलाएर गाउने गर्थे अनि त्यही लय र भाकामा सहभागी सबैले गाउने गर्थे । त्यसबेला चितवनका हाम्रा साथीहरूले शोषक, सामन्तहरूले गरिब जनतामाथि गरेको अन्याय–अत्याचारको विरुद्धमा लेखिएका जनचेतनामूलक गीतिसङ्ग्रहका गीतहरू गाउने गर्थे । धेरै गाउने गीतहरूमा –
भारत वर्मा मलाया गएका
विदेशीको दास भई खाएका
नेपालीहरू हो ।
चितवन जिल्लाको
कृष्णनगर गाउँमा
सामन्तको विरोधमा
जनता उठेको ।
गाउँका जनताको लोकलयमा जनताकै समस्याका गीतहरू गाउँदा बैठकमा आएका साथीहरू अति प्रभावित भएको मलाई अनुभव भयो ।
एकदिन साथी कान्छा मकहाँ आई मुग्लिन जाने हो भनी सोध्नुभयो । घरको लागि नुन किन्न मुग्लिन बजार पुग्नुपर्ने रहेछ । मुग्लिन बजार कहाँ कस्तो मलाई थाहा थिएन । त्यसैले मलाई जाने रहर जाग्यो । कान्छालाई हुन्छ म पनि आउँछु भनी गएँ ।
भोलि बिहानको खाना खाई कान्छा र म मुग्लिन बजार जान हिँड्यौँ । उकालो ओरालो गर्दै दिनभरि हिँड्यौँ तर पनि मुग्लिन पुगेन । एक रात बास बसी भोलिपल्ट ११–१२ बजे मुग्लिन बजार पुग्याँै । कान्छाले पसलमा आफूलाई आवश्यक नुन खरिद गर्नुभयो ।
बजारमा गएको बेला डाक्टर चेक गराउन पाए हुन्छ भन्ने मलाई लाग्यो । किनभने, मलाई पेटको बायाँतिर अलिअलि दुख्दै थियो । आँबु खैरेनीमा चिनियाँ डाक्टरहरूले क्लिनिक चलाइराखेको सुनियो । हामी आँबु खैरेनीमा गयौँ । साँच्चिकै चिनियाँ डाक्टरहरूले क्लिनिक सञ्चालन गरिरहेको रहेछ । म लाइनमा बसी चेक गराएँ । एक हप्ताको लागि ट्याब्लेट दिनुभयो, डाक्टर साहेबले ।
मुग्लिन बजारमा शक्तिखोरकै छिमेकी गाउँको एक परिवार बस्न आएको रहेछ । छिमेकी गाउँको नाताले हामी त्यो घरमा बस्न गयौँ । भोलि उज्यालो हुनेबित्तिकै हामी मुग्लिनबाट हिँडिहाल्यौँ । दिनभरिको कसिलो हिँडाइपछि साँझपख हामी घरमा पुग्याँै ।
एकदिन साँझ रत्ननगरबाट एकजना साथी आउनुभयो । साथीले मलाई घर पठाउनु भन्ने पार्टीको आदेश ल्याउनुभएको रहेछ । साथीले ल्याउनुभएको पत्र हेरी माइला दाइले तपाईँ भोलि घर जानुस् भन्नुभयो ।
भोलि बिहान म घर हिँड्नको लागि तयार भएँ । मलाई कहाँबाट जाने हो केही थाहा थिएन । रत्ननगरबाट भए पनि मुग्लिनबाट भए पनि एकदिन हिँड्नुपर्छ । तर, माइला दाइले तीन–चार घण्टामै बस भेटिने नयाँ बाटो देखाउनुभयो । माइला दाइ उहाँको आमाबुबा र रत्ननगरका साथी सबैसँग बिदा लिई म साथी कान्छाको पछिपछि लागे । शक्तिखोरबाट पूर्व हुङ्डी खोला भन्ने ठाउँनिर मुग्लिनबाट आउने बाटो भेटिने रहेछ । गाउँ–ठाउँको नाम कान्छालाई केही थाहा नभएको रहेछ । ३ घण्टाको हिँडाइपछि पहाडको माथिबाट मुग्लिन–काठमाडौँ जाने बाटो देखियो । ममा एक्लै जान सक्ने आँट आयो । अब एक्लै जान्छु, ‘तपाईँ फर्किनुस्’ भनी मैले साथी कान्छालाई अनुरोध गरँे, तर उहाँ फर्किनुभएन । दुई–तीन पटक अनुरोध गरेपछि साथी कान्छा फर्किन तयार हुनुभयो । एकआपसमा हात मिलाई बिदा गरी हामी छुटियौँ ।
जङ्गलले ढाकेको पहाडको बाटो भुलिएला कि भन्ने डर बोक्दै साहसका साथ हिँडेँ । करिब एक घण्टाको हिँडाइपछि पिच बाटोको नजिकै पुगेँ । मन हलुका भयो । आनन्द भयो । चितवन र शक्तिखोरमा बस्दा लुङ्गी फुकाली झोलाबाट पाइन्ट निकाली लगाएँ । बाटोको छेउमा एउटा सानो चिया पसल थियो । पसलमा केही समय पर्खेपछि काठमाडौँ जाने बस आयो र बसमा चढिहालँे । ठाउँठाउँमा यात्रुहरू राख्ने र ओराल्ने गर्दै बस अगाडि गुडिरह्यो ।
Leave a Reply