भर्खरै :

खोटो विचारको खण्डन आवश्यक

क्रान्तिकारी बाटो छोडेर पुँजीवादी बाटोमा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा चढेको मात, घमण्ड या अहङ्कारको पारो अझै घटेको छैन । नेका र एमालेबिच सत्ता सहकार्यको सहमति हुनुभन्दा अघि प्रम दाहालले आफ्नो दलको नेतृत्वमा बनेको सरकारलाई कसैले ढाल्न नसक्ने विचार व्यक्त गरे । कहिले नेका र कहिले एमालेसँग सहकार्य गरेर सरकारको नेतृत्व गरिरहेका प्रम दाहालमा बढेको त्यही मात, अहङ्कार र अभिमानीले आफ्नो सरकार अल्पमतमा प¥यो र फेरि सरकारको नेतृत्व गर्न विश्वासको मत लिन बाध्य भयो । ३० दिनभित्र प्रमले विश्वासको मत लिनुपर्ने संविधानको प्रावधानअनुसार यही असार २८ गते विश्वासको मत लिने कुरा सार्वजनिक भएको हो । नेका र एमालेको सहमतिअनुसार सरकार बन्ने परिस्थितिमा प्रम दाहालले यो पटक विश्वासको मत पाउने छैनन् ।
प्रम दाहालको नेतृत्वमा रहेको एमाले र जसपाले सरकारको समर्थन फिर्ता लिएपछि दाहाल सरकार अल्पमतमा परेको हो । आफ्नो सरकारलाई कसैले ढाल्न सक्दैन भनी अहङ्कार गर्ने प्रम दाहालको हिसाबकिताब असार २८ गते हुनेछ । अहिलेको परिस्थितिअनुसार प्रम दाहालले आफ्नो दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीको मात्र मत पाउने छन् । कति अन्य दलले नेका र एमालेको सहकार्यमा बन्ने दललाई समर्थन गर्ने जनाइसकेका छन् भने कति दलको टुङ्गो लागेको छैन । प्रम दाहालको यो स्थिति आउनुको कारण उनकै अभिमानी र अहङ्कार पनि हो । एमालेसमेतको सरकारको नेतृत्व गरिरहँदा उनले कहिले उथलपुथल ल्याउने त कहिले सरकार जोगाउने जादु छ भनी खोके । देशको एक नेता इन्द्रजाल गर्ने चटकेमा झरेपछि जादुगरको विद्या भएका नेतासँग कसरी विश्वास गर्ने भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।
सरकारको नेतृत्व गरेका प्रममध्ये दाहाल अडान नभएका अवसरवादी नेतामा पर्छ । उनी घात, प्रतिघात र विश्वासघात बढी गर्ने शङ्कालु नेता हुन् । उनको यस्तो अभिव्यक्ति र व्यवहारले माओवादी केन्द्रको राजनीति खस्कँदै गएको हो; बदनाम हुँदै माओवादीप्रति जनताको विश्वास गुम्दै गएको हो । दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न, पद र पैसाको निम्ति सिद्धान्त र विचार थन्काएर सत्तामुखी राजनीति गर्न पल्केका दाहालको कार्यशैलीप्रति आफ्नै दलका नेताहरू विश्वस्त छैनन्; उनको कार्यशैलीको उनकै नेताहरूले पार्टी कार्यक्रममै विरोध गर्न थालेका छन् । माओवादी केन्द्र एक्लै निर्वाचनमा लडे माओवादीको स्थिति के हुने हो भन्ने कुरा थाहा हुन्छ । सिद्धान्त र विचारको राजनीति नगर्ने, प्रम हुन पाएपछि शत्रु र मित्रको ख्याल नगर्ने, सरकारको नेतृत्व गरिरहन विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको स्वार्थ पूरा गर्न पछि नपर्ने नेता दाहालमा न देशभक्तिको भावना छ; न त उनी देश र जनताप्रति जवाफदेही नै छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल झूटको राजनीति गर्न माहिर छन् । उनले यो पुँजीवादी व्यवस्थाबाटै समाजवाद ल्याउन सक्ने विचार व्यक्त गरे । पुँजीवादी व्यवस्थामा रहेर यस व्यवस्थाबारे समाजवाद ल्याउन सक्ने विचार के कम्युनिस्ट भनिने नेतालाई सुहाउने हो ? यही व्यवस्थाबाट समाजवाद ल्याउन सकिन्छ भने समाजवादी मोर्चा किन चाहियो ? माक्र्सवाद–लेनिनवाद पथ प्रदर्शक माओवादी केन्द्रको किन खाँचो रह्यो ? निर्वाचनमा नेकासँग गठबन्धन गरेर एमालेसँग सरकार किन बनाउनुप¥यो ? नेकाको काँधमा टेकेर संसद्मा ३२ सीट ल्याउने अनि त्यही दल छोडेर अर्काे दलसँग मिलेर सरकार गठन गर्नु के नैतिकताले मिल्छ ? इमानदारीपूर्वक राजनीति नगर्ने, नैतिकताको ख्याल नगर्ने, छिनछिनमा बोली बचन फेर्ने, अडान नभएका अवसरवादी, समाजवादविरोधी दलका नेता दाहाललाई त्यही दलका नेताहरूले सही बाटोमा ल्याउन खबरदारी गर्न आवश्यक छ । नत्र नेता दाहालमा कम्युनिस्टको चरित्र अलिकति पनि हुनेछैन । कम्युनिस्ट चरित्र छोड्दै, कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई लात दिँदै जसरी भए पनि सरकारको नेतृत्व गरिरहनुपर्ने नेता दाहालको गलत कार्यशैली, गलत विचार, गलत कदमको विरोध हरेक कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीका नेताहरूले गरिरहनुपर्छ । कम्युनिस्ट पार्टीमा देखिएको खोटो विचारको विरोध या खण्डन गरिएन भने कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा भ्रम सिर्जना हुनेछ । यसकारण, गलत सिद्धान्त, गलत विचार र गलत कदमको विरोध गर्नुपर्छ; जनतामाझ उदाङ्गो पार्नुपर्छ या उदाङ्ग्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *