भर्खरै :

नाजी–यहुदीवादी गठबन्धनको विश्वासघात

नाजी–यहुदीवादी गठबन्धनको विश्वासघात

सुन्दा असजिलो लाग्ला, इजरायलको वर्तमान जातिभेदी नीतिले जर्मनीमा आकार लिएको हो । तिनताका जर्मनीमा होलोकस्ट नरसंहारको जग हालिँदै थियो । आफ्नो अलग्गै जातीय–राष्ट्रवादी राज्य निर्माण गर्न जर्मनीका नाजी तथा सानो तर प्रभावशाली यहुदीवादी समूहबिच एउटा गठबन्धन बनेको थियो ।
सन् १९३३ अगस्ट २५ मा जर्मनीका यहुदीवादीहरूले नाजी सरकारसँग एउटा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार प्यालेस्टिनमा बसोबास गर्ने यहुदी समुदायले जर्मन मालसामान खरिद गर्ने भए जर्मनीका केही धनीमानी यहुदीहरूलाई प्यालेस्टिनमा बसाइँ सर्न दिने तय भयो ।
हिटलर सत्तामा आएपछि विश्वभरि जर्मन मालसामान बहिष्कार गर्ने लहर चलेको थियो । लेनदेनअनुसार आफूलाई प्यालेस्टिन जान दिए त्यो बहिष्कार तोड्न विश्वभरिका यहुदी समुदायलाई राजी गराउने यहुदीवादी नेताहरूले वाचा गरे ।
सन् १९३३ को एक ज्ञापनपत्रमा जर्मनीको यहुदीवादी महासङ्घले नाजी पार्टीलाई यस्तो वचन दिएको थियो, “जर्मनहरूले यहुदीवादीहरूसँग सहकार्य गरे यिनीहरूले जर्मनीविरोधी बहिष्कार अभियानलाई समर्थन नगर भनी विदेशमा बसिरहेका यहुदीहरूलाई राजी गराउने प्रयास गर्नेछन् ।”
तथाकथित स्थानान्तरण वा हाभारा सम्झौतालाई उच्च नाजी अधिकारीले अनुमोदन गरेका थिए । एडोल्फ आइखमेन र हिटलरले मात्र होइन, भावी इजरायली प्रधानमन्त्रीहरू डेभिड बेन गुरिअन, मोसे सेराट र गोल्डा मायरले पनि त्यस सम्झौतालाई अनुमोदन गरेका थिए । (हाभारा तेल अभिभको एउटा कम्पनी थियो र त्यसले जर्मनीबाट यहुदीहरूलाई स्थानान्तरण गथ्र्यो । त्यसैको नाममा यो सम्झौताको नाम राखिएको थियो ।)
धनी र प्रभावशाली जर्मन यहुदीहरूले आफ्नो केही पुँजी प्यालेस्टिनमा राख्न पाए र त्यहाँ गएर बसोबास गर्न पाए । अर्कोतिर, उक्त सम्झौताका कारण नाजीहरूले जर्मनीको यहुदी आवादीको एक हिस्साबाट छुटकारा पाए । (सन् १९३३ देखि १९३९ सम्ममा जर्मनीमा ६० हजार यहुदी थिए ।) यति मात्र होइन, नाजीहरूले बहिष्कार अभियानलाई परास्त गरे र आफ्नो अर्थतन्त्र उकास्नका निम्ति जर्मन मालसामान विश्व बजारमा निर्यात गर्ने ढोका खोले ।
विश्वभरि छरिएका यहुदीवादी सोच राख्ने यहुदीहरूको विरोध गर्ने बहुसङ्ख्यक यहुदी र गैरयहुदीहरूका लागि त्यो सम्झौता एउटा विश्वासघात थियो । त्यस विश्वासघातका कारण नाजीहरूसँग लड्नेहरू कमजोर बन्न पुगेका थिए । हाभारायात्रु जहाज सो सम्झौताको एउटा बिम्ब थियो । तेल अभिभमा राखिएको त्यो जहाजको एउटा भागमा हिब्रु भाषामा हाभारा लेखिएको थियो भने माथि स्वस्तिक छापसहितको झन्डा फहरिएको थियो ।
सम्झौता हुनुभन्दा दसकौँअघि सम्म पनि प्यालेस्टिनमा यहुदी राज्य निर्माण गर्ने यहुदीवादीहरूको प्रयास कछुवा गतिमा थियो । प्यालेस्टिनमा यहुदीहरूको एउटा गृहदेश बनाइदिने बेलायती वचन अथवा सन् १९१७ को बाल्फोर घोषणापछि पनि बेलायती अधिकारीहरूले सीमित यहुदीहरूलाई मात्र प्यालेस्टिन भित्याइरहेका थिए । प्यालेस्टिनका रैथाने अरबीहरूलाई विस्थापित गर्न यहुदीहरूलाई हम्मेहम्मे परेको थियो । सन् १९२० सम्ममा यहुदीहरूले प्यालेस्टिनका २ प्रतिशत जमिन मात्र खरिद गर्न सकेका थिए ।
हिटलर सत्तारुढ हुनु यहुदीवादीहरूका लागि एक युगमा आउने एक दिन साबित भयो । हिटलर सत्तासीन भएपछि प्यालेस्टिनमा यहुदीहरूको बसाइँसराइले तीव्रता लियो । यसबारे इजरायलका भावी नेता डेभिड बेन गुरिअनले भने, “यहुदीवादी प्रचारप्रसारले वर्षौँ लगाएर गर्न नसकेको काम यो विपद्ले रातारात गरिदियो ।”
जर्मनीमा जन्मेकी र पछि अमेरिका बसाइँ सरेकी यहुदी पत्रकार एवम् इतिहासकार हन्ना आर्डेन्टले लेखिन्, “यहुदी विरोधको भावना एउटा उर्लिँदो शक्ति थियो । त्यसलाई यहुदीहरूले कि त प्रयोग गर्नुपथ्र्यो अथवा त्यसको भेलमा बगेर नष्ट हुनुपथ्र्यो । (डेभिड बेन–गुरिअन र उनका साथी जस्ता) चतुर हातमा परेर यहुदी विरोधको ‘ठेलुवा शक्ति’ लाई त्यसरी नै प्रयोग गरिनेछ जसरी उम्लेको पानीलाई रेल गुडाउने वाफ शक्ति निकाल्न प्रयोग गरिन्छ ।”

कसलाई जोगाउने ?
यद्यपि, यहुदीवादी अभियानले युरोपका बहुसङ्ख्यक यहुदीहरूको दुःखलाई बेवास्ता ग¥यो । उक्त अभियानले ती अलपत्र बहुमत यहुदीहरूलाई किनारीकृत पार्दा, तिनीहरूमाथि हमला हुँदा र तिनको नरसंहार हुँदा देखेको नदेख्यै ग¥यो ।
प्यालेस्टिनमा बेलायती राजको इतिहासबारे जानकार इजरायली पत्रकार टम सेगेले आफ्नो पुस्तक ‘एक प्यालेस्टिनको पटाक्षेप’ मा लेखे, “युरोपेली यहुदीहरूलाई जोगाउने विषय यहुदीवादी शासक वर्गको प्राथमिकतामा थिएन । बरु, तिनको अर्जुनदृष्टि केवल एउटा नयाँ राज्यको जग हाल्ने कुरामा थियो ।”
सन् १९३८ मा यहुदीवादी लेबर पार्टीको अधिवेशनमा बेन गुरिअनले यसबारे आफ्नो राय राखेका थिए । त्यसबेला बेलायतले युरोपबाट हजारौँ यहुदी बालबालिकाको उद्दार गर्ने प्रस्ताव राखेको थाहा पाएपछि कसलाई जोगाउने भन्ने विषयमा बेन गुरिअनले आफ्नो मन्त्र भने, “मैले जर्मनीका बालबालिकालाई बेलायत लगेर जोगाउन सकिन्छ तर इजरायलमा ल्याए तीमध्ये आधालाई मात्र जोगाउन सकिन्छ भनी थाहा पाएँ भने मैले दोस्रो विकल्प रोज्नेछु । किनभने हामीले यी बालबालिकाको जीवनलाई मात्र ध्यान दिएर पुग्दैन, इजरायलका जनताको ऐतिहासिक स्वार्थलाई पनि हेर्नुपर्छ ।”
यद्यपि, यहुदीवादीहरूले जस्तो पायो त्यस्ता बालबालिकालाई प्यालेस्टिनमा झिकाउन चाहन्नथे । जस्तो उनीहरू रुस र पूर्वी युरोपमा बसोबास गर्ने बहुमत यहुदीहरूलाई इजरायल ल्याउन चाहन्थेनन् ।
सन् १९३७ मा स्वीजरल्यान्डको ज्यूरिखमा विश्व यहुदीवादी सम्मेलन भएको थियो । त्यहाँ इजरायलका भावी राष्ट्रपति हाइम विजमेनले घोषणा गरे, “हामी उत्कृष्ट यहुदी युवालाई मात्र हामीकहाँ देख्न चाहन्छौँ, खालि बढेलेखेका युवा मात्र यहाँ आउन सक्छन् ।” यसमा थप्दै उनले भनेका थिए, “अरू यहुदीहरू जहाँ बसेका छन् त्यही बसे हुन्छ र भाग्यमा जे लेख्या छ त्यो भोगे हुन्छ । ती लाखौँ यहुदीहरू इतिहासको चक्कामा चप्केका धुलोसरह हुन् र सायद तिनीहरूलाई समयले उडाउनैपर्छ । हामी प्यालेस्टिनमा तिनीहरू ओइरेको हेर्न चाहन्नौँ । हामी तेल अभिभलाई अर्को नीच दर्जाको यहुदी बस्ती बनाउन चाहन्नौँ ।”
वास्तवमा यहुदीवादी र नाजीहरूको भावना एकै थियो । दुवैथरी जातीय शुद्धतामा आधारित अलग्गै जातीय वा राष्ट्र राज्य निर्माण गर्ने ताकमा थिए । त्यो बेला यो अवधारणा निकै चल्तीमा थियो । त्यसैले यहुदीवादी र नाजीहरू दुवैले यहुदीहरू युरोपका अन्य जातिसँग मिसिएर वा मिलेर बस्नुपर्छ भन्ने विचारको जोडदार विरोध गरेका थिए ।
जर्मन पत्रकार क्लाउस पोल्खेनले आफ्नो पुस्तक ‘गोप्य सम्पर्कहरू’ मा लेखे, “जर्मनीमा बढिरहेको फासीवादी बर्चस्वको कहरप्रति यहुदीवादीहरूको रवैया एउटै विचारधारात्मक जगमा आधारित थियो ।” पोल्खेनले लेखे, “फासीवादी र यहुदीवादी दुवैले अवैज्ञानिक जातिवादी सिद्धान्तमा विश्वास गर्छन् । ‘राष्ट्रिय चरित्र’
(भोल्स्तुम) र ‘जातीय विशिष्टता’ जस्ता मिथकीय सोचमा यिनीहरू फरक छैनन्, बरु बराबर पानीमा छन् ।”

फासीवादीहरूसँग वैचारिक घाँटी जोडाइ
सन् १९३३ जून २१ मा यहुदीवादी महासङ्घको जर्मन शाखाले नाजी पार्टीलाई एउटा ज्ञापनपत्र बुझाएको थियो । त्यसमा फासीवादीहरूसँग आफ्नो वैचारिक सहमति भएको जनाइएको थियो । ज्ञापनपत्रमा लेखिएको थियो, “यहुदी राष्ट्रवादबारे हाम्रो प्रस्ट मान्यताले हामीलाई जर्मन जनता, यहाँको राष्ट्रिय र जातीय यथार्थसँग स्पष्ट र इमानदार सम्बन्ध स्थापित गर्न भन्छ । किनभने, हामी आफै पनि अन्तरजातीय विवाहको विरोधमा छौँ र यहुदी समुदायको शुद्धता कायम गर्न कटिबद्ध छौँ ।”
प्यालेस्टिनी यहुदीवादी कार्यदलका प्रमुख आर्थर रुपिन समाजशास्त्री थिए । उनी नाजीहरूले चल्तीमा ल्याएको मालिक जातिको सिद्धान्तबाट प्रेरित थिए ।
यहुदीवादी आन्दोलनलाई ‘जातीय रूपमा शुद्ध यहुदी’ चाहिएको र ‘शुद्ध यहुदी मात्र इजरायलमा आउनसक्ने’ उनको विचार थियो । उनी नाजी वैज्ञानिकहरूका रचनाबाट प्रभावित थिए । त्यसैले, युरोपमा बसोबास गर्ने आस्केनाजी यहुदीहरू यमनी यहुदीभन्दा उच्च छन् भनी पुष्टि गर्न उनले तिनको खप्परको नाप पनि लिएका थिए । यसैलाई देखाएर उनले इजरायलमा इथियोपियाका यहुदीहरूलाई भित्र्याउन हुन्न भनेर तर्क राखेका थिए । उनले इथियोपियाका यहुदीहरूको ‘रगत नमिल्ने’ बताएका थिए ।
साँच्चै भन्ने हो भने केही यहुदीवादीहरू नाजीहरूले यहुदीहरूको विरोध गर्दा प्रफुल्लित थिए । सन् १९३७ मा फिभल पोल्किसले नाजी उच्च अधिकारी एडोल्फ आइखमेनलाई भेटे । पोल्किस भूमिगत यहुदीवादी सेनाका सदस्य थिए ।आइखमेनसँग कुरा गर्दै उनले जर्मनीमा चलिरहेको राज्य आतङ्कको समर्थन गरे । आइखमेनलाई उनले भने, “यहुदीहरूप्रति जर्मन सरकारले ल्याएको नौलो नीतिबाट राष्ट्रवादी यहुदीहरूले आफूहरू निकै हर्षित भएको बताए । किनभने, यस नीतिका कारण प्यालेस्टिनमा यहुदी जनसङ्ख्या बढ्नेछ र एक दिन प्यालेस्टिनमा अरबीहरूलाई माथ दिँदै यहुदीहरू बहुसङ्ख्यक हुनेछन् ।”
पोल्किसले नाजीहरूको प्रशंसा गरे र त्यसको बदलामा आइखमेनले पनि उस्तै दाबी गरे । उनले भने, “म यहुदी हुन्थे भनेँ म पनि कट्टर यहुदीवादी बन्ने थिएँ । वास्तवमा म संसारकै सबैभन्दा दृढ यहुदीवादी बन्ने थिएँ ।”
जाति र राष्ट्र निर्माणको सवालमा उस्तै दृष्टिकोण राख्ने हुनाले नाजीहरूले हरेक क्षेत्रमा यहुदीवादीहरूलाई अरूलाई भन्दा बढी महत्व दिए । सन् १९३९ सम्म जर्मनीमा आफ्नो बेग्लै पोशाक लगाउन, अलग्गै झन्डा फहराउन र अलग्गै राजनीतिक दर्शन मान्न अनुमति पाउने एक मात्र गैरनाजी समूह यहुदीवादी सङ्गठन थियो ।
नाजी प्रचार मन्त्रालयले कम्युनिस्ट, सामाजिक जनवादी, ट्रेड युनियन र अन्य प्रगतिशील सङ्घ सङ्गठनले चलाएका सम्पूर्ण पत्रपत्रिकामाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तो अवस्थामा पनि सन् १९३३ देखि १९३९ सम्म यहुदीवादीहरूको मुखपत्र ‘जुडिस्चे रुन्डशौ’ निर्बाध प्रकाशित भइरह्यो ।
जर्मनीका यहुदीवादीहरूभन्दा फरक युरोपका धेरैजसो यहुदीहरू फासीवादीहरूसँग भिड्दै थिए, तिनको प्रतिकार गर्दै थिए । स्पेनका फासीवादीहरूसँग लड्ने अमेरिकी लिङ्कन बिग्रेडमा ३० प्रतिशत लडाकु यहुदी थिए । पोल्यान्डमा फासीवादको सामना गर्ने ५ हजार डोम्ब्रोभ्स्की ब्रिगेडका आधा लडाकु यहुदी थिए । ती लडाकुहरू पूर्वी युरोपका यहुदी बस्तीहरूमा हतियार तस्करी गर्थे र आफ्नो उद्धारमा उत्रिनलाई विश्वका अन्य देशलाई बाध्य पार्थे ।
त्यति नै बेला यहुदीवादीहरूले फासीवादको प्रतिरोध गरिरहेका यहुदीहरूलाई सबथोक गरिरहे ।
सन् १९३८ मा फ्रान्समा ३२ देशको एउटा विश्व सम्मेलन भयो । नाजी नरसंहारबाट भागिरहेका जर्मनी र अस्ट्रियाका यहुदीहरूको मुद्दा सल्टाउन सो बैठक बसेको थियो । बैठकमा डोमिनिकन रिपब्लिकले मात्र तिनलाई उद्धार गर्ने प्रस्ताव राख्यो । उसले १ लाख यहुदी शरणार्थीलाई आफ्नो ‘उर्वर देश, उत्कृष्ट सडक र कानुन–व्यवस्था कायम राख्ने प्रहरी बलको रिक्त स्थानमा’ आश्रय दिने बतायो ।
खुला मनले राखिएको यस प्रस्तावप्रति ‘यहुदीवादीहरूको आक्रामकता नाङ्गो र रुखो किसिमको थियो’ भनी बेइत जभीले लेखे । नरसंहार होलोकस्टका विज्ञ जभीले लेखे, “यहुदीवादीहरू आफ्नो चन्दा–सङ्कलनमा आँच पुग्ने जुनसकै कामको प्रतिकारमा उत्रिहाल्थे । अमेरिकामा बसोबास गर्ने यहुदीहरूले डोमिनिकन रिपब्लिकलाई चन्दा पठाएको खण्डमा यहुदीवादीहरूले स्थापना गरेको यहुदी राष्ट्रिय कोष वा केरिन हायसोड (संयुक्त इजरायल अपिल) मा कम रकम आउने थियो ।”
त्यसैगरी यहुदीवादीहरूले अन्य प्रस्तावको पनि जोडदार निन्दा गरे । बैठकमा यहुदीहरूलाई अस्ट्रेलिया, सोभियत सङ्घ, जापान, माडागास्कर र अलास्कामा पुनर्बास गराउने अनेक प्रस्ताव आएका थिए ।
अमेरिकी इतिहासकार एड्विन ब्ल्याकले लेखे, “ठुलो आकारको बसाइँसराइका लागि प्यालेस्टिनलाई मात्र एकमात्र वैध गन्तव्य बनाउनमा केन्द्रित भएर विश्व यहुदीवादी महासङ्घले सन् १९३३ पछि जर्मनीका यहुदीहरूलाई इजरायल छाडी अन्य सुरक्षित स्थल वा घरमा पुनर्वास गराउन दिइएका सबै मौका लत्यायो । यहुदीवादीहरूको अडान स्पष्ट थियो – पाए प्यालेस्टिन, नत्र केही केही लिन्नौँ ।”
सन् १९४३ मा नाजी होलोकस्ट चलिरहेको थियो, यातनागृहमा यहुदीहरूको सामूहिक हत्या गरिँदै थियो । यस्तो बेला समेत यहुदीवादीहरूले यहुदीहरूलाई प्यालेस्टिनबाहेक अन्यत्र पुनर्बास गराउन दिएनन्, अनेक किचलो झिकिरहे ।
अमेरिकी राष्ट्रपति रुजवेल्टसँग युरोपका यहुदीहरूको उद्धार गर्नुपर्ने माग राख्दै राजधानी वासिङ्टन डीसीमा अमेरिकाका पुरातन यहुदी पुजारीहरूको एउटा समूहले प्रदर्शन ग¥यो । यहुदीवादी नेताहरूले ती पुजारीहरूलाई राष्ट्रपतिसँग भेट्नै दिएनन् ।
अमेरिकामा यहुदी विरोध चर्केको निहुँमा विश्व यहुदी सभाका प्रमुख स्टेफन वाइज र अमेरिकी यहुदी समितिका सामुयल रोजेनमानले रुजवेल्टलाई भड्काए । प्रदर्शनमा आएका यहुदी पुजारीहरू अमेरिका पस्ने पहिलो पुस्ताका यहुदी हुनाले तिनले ‘सबै अमेरिकी यहुदीको प्रतिनिधित्व नगर्ने’ र तिनीहरू रुजवेल्टले भेट्नुपर्ने खालका यहुदी नभएको तर्क गरे । वास्तवमा प्रदर्शनकारीहरू ह्वाइट हाउस पुग्दा तिनलाई रुजवेल्ट त्यहाँ छैनन् भनी ढाँटिएको थियो ।
सन् १९४१ मा गएर मात्र अमेरिकी संसदले एउटा उद्धार समिति बनायो । स्टेफन वाइज आफै पनि यहुदी पुजारी थिए र समिति बनेपछि उनी वासिङ्टन गए । उनले प्रस्तावित विधेयकविरुद्ध बयान दिए र त्यसमा प्यालेस्टिनको नाम उल्लेख नगरेको बताए ।

कास्टनर रेल काण्ड
यहुदीवादीहरूको विश्वासघातको सूची लामो छ । तर, कास्टनर रेल काण्डमा यो घात छर्लङ्गै छ । त्यस घटनामा यहुदीवादीहरूले हङ्गेरीका यहुदीहरूको भाग्य निर्धारण गर्न नाजीहरूसँग साँठगाँठ गरेका थिए ।
सन् १९४४ अप्रिलमा यहुदीहरूको हत्या चरमचुलीमा पुगेको थियो । त्यसैबेला एडोल्फ आइखमेनले योएल ब्रान्डसामु एउटा प्रस्ताव राखे । ब्रान्ड त्यसबेला हङ्गेरियाली सहायता तथा उद्धार समितिका प्रमुख थिए । प्रस्ताव थियो – मित्र राष्ट्रहरूले १० हजार ट्रक र अन्य मालसामान दिएको खण्डमा हङ्गेरीका एक लाख यहुदीहरूलाई नाजीहरूले जीवित छोड्ने ।
ब्रान्ड तत्काल इस्तानबुल सहर गए र यहुदी एजेन्सीका नेताहरूलाई त्यो प्रस्ताव सुनाए । तर, त्यसले एजेन्सीका नेताहरूलाई पटक्कै छोएन । युरोपमा भइरहेको यहुदी संहारमा भन्दा यहुदीहरूलाई प्यालेस्टिनमा ओसार्नमा तिनको रुचि बढी थियो ।
उता हङ्गेरीको राजधानी बुडापेस्टमा आइखमेनले यहुदीवादी नेता रुडोल्फ कास्टनरसामु अर्को प्रस्ताव राखे । कास्टनर ब्रान्डकै समितिका सदस्य थिए । आइखमेनको प्रस्ताव थियो –प्रतिव्यक्ति १ हजार डलर (आजको बजारभाउअनुसार २५ हजार डलर) का दरले १६८४ जना धनी र प्रभावशाली यहुदीहरूलाई हङ्गेरी छोड्न दिने । त्यो सूचीमा कास्टरनको परिवार र इस्टमित्र पनि थिए । आइखमेनले ती सबैलाई रेलबाट स्वीजरल्यान्ड भगाइदिने प्रस्ताव राखेका थिए । समझदारीअनुसार कास्टनर बाँकी सबै हङ्गेरियाली यहुदीहरूलाई तिनलाई मार्नका लागि यातनागृह लगिँदै छ भनी कुरा नखोल्न राजी भए ।
सन् १९४४ को मे महिनादेखि जुलाईसम्म हङ्गेरीका गाउँहरूमा बसोबास गर्ने सबैजसो यहुदी जनतालाई (४ लाख ३७ हजार) पोल्यान्डस्थित औस्विज यातनागृहमा लगियो । तीमध्ये धेरैलाई त्यहाँ लग्दा बित्तिकै ग्यास च्याम्बरमा हालेर मारिएको थियो ।
सन् १९५४ मा इजरायली न्यायाधीशले केही यहुदीलाई बचाउन आइखमेनसँग सम्झौता गरेर कास्टनरलाई ‘हङ्गेरीका सबै यहुदीको हत्या गर्ने बाटो खन्ने’ र ‘राक्षसलाई आत्मा बेच्ने व्यक्ति’ भनी फैसला सुनाए । सन् १९५७ मार्च १५ तारिखमा कास्टनरको हत्या भयो । नाजीहरूसँग साँठगाँठ गरेको भन्दै इजरायलको दक्षिणपन्थी मिलिसिया लेहीका सदस्यहरूले उनको हत्या गरेका थिए । तर पछि कास्टनरलाई इजरायलमा राष्ट्रिय विभूति घोषित गरियो ।
धेरै इजरायलीहरू आज पनि हाभारा सम्झौता र आइखमेनसँग कास्टनरको साँठगाँठलाई हजारौँ यहुदीको ज्यान जोगाउन र यहुदीहरूको देश निर्माण गर्नका लागि आवश्यक व्यावहारिक कदम भन्छन् । तर, हाभारा सम्झौताबारे अमेरिकी पत्रकार लेन्नी ब्रेनरले लेखे, “त्यसले कसैको जीवन जोगायो भनी दिइने कुनै पनि दलिललाई गम्भीर भएर हेर्नै हुन्न । त्यसले धन जोगायो, जीवन होइन । अझ राम्ररी भन्ने हो भने त्यसले जर्मनीका यहुदी पुँजीवादीहरूको धनसम्पत्ति जोगायो ।”
सारमा, यहुदीवादीहरूको सानो समूहले नाजीहरूसँग साँठगाँठ गर्दा जर्मनीविरुद्ध विश्वका जनताको बहिष्कार अभियान तोडियो, विश्वभरि चलिरहेको फासीवादको प्रतिरोध कमजोर बन्यो र युरोपमा यहुदीहरूको जातिसंहार थप चर्कियो ।
वास्तवमा आज इजरायलको जातिभेदी र जातिसंहारक नीतिहरूको वैचारिक जगभित्र नियाल्ने हो भने त्यहाँ यहुदीवादी–नाजी गठबन्धनको एउटा ठुलो ढुङ्गा पनि देखिनेछ ।
(स्टेफन मूर अमेरिकी मूलका अस्ट्रेलियाली वृत्तचित्र निर्माता हुन् । अनेक प्रतिष्ठित पुरस्कारका विजेता मूरले अमेरिका र बेलायतमा काम गरिसकेका छन् भने अस्ट्रेलियाको राष्ट्रिय फिल्म कम्पनीका कार्यकारी निर्माताको जिम्मेवारी सम्हालिसकेका छन् ।)

एमआर अनलाइनबाट 
सम्यक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *