भर्खरै :

अन्धविश्वासद्वारा शासित भारतीय राजनीति !

अन्धविश्वासद्वारा शासित भारतीय राजनीति !

गएको मङ्गलबार आफू जैविक नभई (Non-biological) परमात्माले पठाएको एक हिन्दू महामानव स्वघोषणा गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको देश भारतको हथरस भन्ने ठाउँमा प्रहरी सेवाबाट बर्खास्त गरिएका कर्तव्यच्युत सुरज पाल नामका कथित बाबाले दिएको प्रवचन सुन्न आएको भिड तितरवितर हुँदा झन्डै १२० जना हिन्दू धर्मालम्बीको अनाहकमा मृत्यु भयो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका थिए भने त्यसमा पनि गरिब समुदायका मानिसहरू बढी परेका छन् । धर्मको नाममा भएको यो एक हृदयविदारक दुर्घटना हो ।
वास्तवमा यो दुर्घटना अन्धविश्वासको उपज हो । कथित बाबाले टेकेको ठाउँको बाटोको धुलो उठाउन हजारौँ भक्तजनहरू बाबाको गाडीतर्फ दौडिन थालेपछि भिड बढ्दै जाँदा भुइँमा बसिरहेका कैयौँ एकआपसमा कुल्चिएरै मरे । देशको प्रधानमन्त्रीजस्तो पदमा बस्ने व्यक्तिले नै अन्धविश्वासलाई बढावा दिने भएपछि सर्वसाधारण जनता धर्मको नाममा अन्धविश्वासी हुनु स्वाभाविकै हो । हिन्दू धर्म अन्धविश्वासबाट बाहिर कहिले निस्कने ? होइन भने धर्मको खोजीमा धेरै ज्यान अझै जानेछ । अन्धविश्वासले गर्दा आर्थिक क्रियाकलापमा भन्दा धार्मिक गतिविधिमा सक्रिय हुँदा गरिबी बढ्नुको साथै कट्टरता बढ्छ । कट्टरता बढ्यो भने यस्ता हृदयविदारक घटनाहरू पक्कै बढ्ने छन् ¤ तर, यस्ता दुःखद घटनाबाट कहिले पाठ सिक्ने ?
मोदीको भारतीय जनता पार्टीले यस्ता कथाबाचक कथित बाबाहरूको बढाइचढाइ गर्दै प्रचार गर्छ ताकि उनीहरूको हिन्दू भावनालाई अगाडि बढाउन सकियोस्, जसबाट राजनीतिक लाभ लिने अभीष्ट कसैबाट लुकेको छैन । मोदीले आफू जैविक नभएको तर परमात्माले धर्तीमा अवतरण गराएको जस्ता मनगढन्ते कथा बुन्न यस्तै ढोङ्गी बाबाबाटै सिकेका हुन् । बाबाहरू भन्ने गर्छन्, मलाई परमात्माले पठाएको, भगवान्को प्रतिनिधि भएको र भगवान्सँग प्रत्यक्ष कुरा हुनेजस्ता झूट बोल्छन् ।
भारतीय जनता पार्टीमा बाबाबाट नेता बनेका थुप्रै छन् । ढोङ्गी बाबाले राजनीति गर्न थालेपछि देशको विनाश अवश्य हुन्छ । साँचो बाबाको काम जप, तपस्या र तप हो । प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने लोभमा फस्नु कदापि होइन । राजनीति गर्नु आम मानिसको काम हो ।
अर्को कुरा शिक्षा जति महँगो हुन्छ जनता उति नै अशिक्षित हुन्छन् । जनता जति निरक्षर हुन्छन्, धर्मको व्यापार उति बढ्छ । जनता शिक्षित भए तर्कशील हुन्छन् भनेर अन्धविश्वासको नशा दिन्छन् । त्यसैले धर्मान्धहरू विज्ञानसम्मत तर्क गर्न मन पराउँदैनन् ।
बलात्कारी आशाराम बापु र ठग बागेश्वरजस्ता कथित बाबाहरूद्वारा धर्मलाई अगाडि बढाउने माध्यम भाजपा सरकारले योजनाबद्ध तरिकाले अगाडि बढाएकोले बाबाहरू गतिछाडा भएका हुन् । यिनीहरूलाई भाजपा सरकारको पूर्ण सहयोग प्राप्त हुन्छ । हिन्दूहरूमा अन्धविश्वास र अन्धो भक्ति दुवै मोदी सरकारमा आएपछि ह्वात्तै बढेको छ । जसको फाइदा पाखण्डी धर्मगुरु र नेताहरूले उठाएका छन् ।
केही सत्य कुरा गरौँ । धेरैजसो महिलाहरू बाबाको मामिलामा फसेका पाइन्छन् । आजकल प्रायः महिलाहरू घरमा आफ्नो परिवारका सदस्यबिच झैझगडा गरिबसेका हुन्छन् तर बाबालाई भने अगाढ माया गर्छन् । हथरसमा पनि माता–पिताको खुट्टा नछोएकाहरू बाबाको खुट्टाको धुलो छुन लागेका थिए, जसले गर्दा यो दुःखद दुर्घटना हुन गयो ।
अचम्मको कुरा यस्ता धार्मिक आयोजनामा निरक्षर र गरिब महिलाहरू नै बढी किन हुने गर्छन् ? तथाकथित बाबाहरूको सरल बोली र काल्पनिक कथाहरूमार्फत उनीहरूलाई भविष्य सुरक्षित हुने आश्वासन बाँडिने हुँदा धार्मिक कार्यक्रममा धेरै निरक्षर र गरिब महिलाहरू बाबाहरूबाट मोहित हुन्छन् । निरक्षर मानिसहरूले तर्क गर्न सक्दैनन् र निरक्षर भएकोले महिलाहरू धेरै अन्धविश्वासी हुन्छन् । बाबाहरूले प्रायः भावनात्मक र आध्यात्मिक सान्त्वना प्रदान गर्छन्, दैनिक जीवनमा सुखद आशा देखाउँछन् । तिनीहरू समुदायिक भावना सिर्जना गर्छन्, जहाँ अनुयायीहरूले आत्मीयता पाउँछन् । कोही कोही बाबाहरू त आँखामा भिक्स दलेर आँसु निकालेर पनि महिला स्रोताहरूलाई भावुक बनाउँछन् । घरमा धार्मिक परम्परा र अनुष्ठानहरूमा केन्द्रीय भूमिका खेल्ने हुँदा विशेषगरी महिलाहरू बाबाहरूतिर आकर्षित हुन्छन् ।
समाधानको उपाय
महिलाहरूलाई तथाकथित धार्मिक बाबाहरूबाट टाढा राख्न शिक्षा प्रदान गर्न पहिलो प्राथमिकतामा राख्नुपर्छ । शिक्षाको माध्यमबाट महिलाहरूलाई आलोचनात्मक सोच कौशलका साथ सशक्त बनाउन आवश्यक छ । साक्षरता र सूचनाका विविध स्रोतहरूमा महिलाको पहुँचलाई व्यापक बनाउनाले कथित लोभलालचबाट मुक्त हुन सिकाउने बाबाबाट मुक्ति पाउन सकिन्छ । सहयोगी सामुदायिक सञ्जालहरू सिर्जना गरेर बाबाहरूमा उनीहरूको निर्भरता घटाउन सकिन्छ । शोषणको सम्भाव्यताको बारेमा चेतना प्रवद्र्धन गर्नु र महिलाहरूलाई धेरै दृष्टिकोणबाट मार्गदर्शन खोज्न प्रोत्साहित गर्नु पनि प्रभावकारी हुन्छ । यसको अतिरिक्त व्यावसायिक प्रशिक्षण र रोजगारीका अवसरहरूमार्फत आर्थिक स्वतन्त्रतालाई बढावा दिँदा महिलाहरूलाई धार्मिक पाखण्डीहरूमा भर पर्नबाट बचाउन सकिन्छ ।
त्यसैगरी, नक्कली बाबाहरूको नौटङ्कीको लागि जनताको जीवन बलिदान हुन दिनु हुँदैन । यस्ता पाखण्डी बाबालाई कडाभन्दा कडा सजाय हुनुपर्छ । बाबाहरूको सामूहिक र प्रायोजित सत्संगलाई तत्काल कानुनीरूपमा प्रतिबन्ध लगाउनुपर्छ । धर्मको नाममा बाबाहरूले चलाउने झूटा पसलहरू बन्द गरिनुपर्छ । धार्मिक स्वतन्त्रताको नाममा गर्न दिनैपर्ने भए, हरेक आर्थिक गतिविधि गर्न सरकारी प्रक्रिया पु¥याउनु परेजस्तै गरी धार्मिक कार्यक्रममा हुने सबै तथ्यपरक जानकारी स्थानीय प्रशासनलाई दिनुपर्छ । धार्मिक सेवा बेचेर कमाएको आम्दानीमाथि कर लगाइनुपर्छ ।
हरेक क्षेत्रमा भारतको प्रभाव परेजस्तै हाम्रो देशमा पनि कहीँ नबिकेका यस्ता कथित बाबाहरूको सङ्ख्या ह्वात्तै बढेको छ । युवाहरूको बिचमा गायन समूहको लोकप्रियता भएजस्तै बुढाबुढी र महिलाहरूको माझमा यस्ता भागवत् वा अन्य धार्मिक कथा वाचक बाबा लोकप्रिय हुँदै गएका छन् । दुई चार जना व्यक्ति मिलेर एउटा कथा वाचक समूहलाई बोलाएर ठाउँ ठाउँमा धार्मिक आयोजना गरेर पैसा कमाउने नयाँ उपाय देखिँदै छ । त्यतिमात्रै होइन धार्मिक उन्माद सिर्जित गर्दै विभिन्न धर्मबिच फाटो ल्याउने र जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका छन् भने त्यसैलाई राजनीतिक रङ्ग दिएर आफ्नो दुनो सोझ्याउने नेताहरू पनि उतिकै छन् । त्यसैले यस्ता कथित बाबाहरूको बिगबिगीबाट अन्धविश्वासको पराकाष्ठा पुग्नुअघि यसलाई निमोठ्न सम्बन्धित निकायले समयमै तदारुकता अपनाउनु नितान्त जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *