“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २० पुस । चाँगुनारायण नगरपालिका वडा नं ७ (साविक बागीश्वरी गाविस) नाय्जू टोलका झण्डै ५० घर परिवारले भूकम्प पीडितलाई पुनःनिर्माण प्राधिकरणले प्रदान गर्ने दोस्रो किस्ताको अनुदान रकम पाउन सकेका छैनन् । राजपरिवारका सदस्य छत्रविक्रम शाहको नाममा रहेको ८८ कित्तामा विभाजित कुल ९४ रोपनी १५ आना २ पैसा जमिनमा पुस्तांै पुस्ताअघि देखि बस्दै आएका बासिन्दाको नाममा लालपुर्जा नबन्दा उनीहरुले घर बनाउने नक्सा पास गर्न सकेका छैनन् । ‘नक्सा पास नहुँदा जग हाल्ने सकेनौं । जग हाल्न नसक्दा दोस्रो किस्ताको अनुदान रकम पाउन सकेनौं ।’, स्थानीय शिव श्रेष्ठले दुःखेसो पोख्नुभयो ।
उनीहरुमध्ये केहीले अस्थायी निस्सा प्रमाणको आधारमा पहिलो किस्ता रकम भने लिइसकेका छन् । केहीले त्यही रकम पनि पाएका छैनन् । २०७२ साल बैशाखमा गएको भूकम्पबाट नाय्जू टोलका अधिकांश घर पूर्ण क्षति भएका छन् । धेरै स्थानीयहरु अझै पनि जस्ताको टहरामा बस्न बाध्य छन् ।
विसं १९८० को नापनक्सामा भान्जाराजा भनिने छत्रविक्रम शाहको नाममा दर्ता भएको सो जग्गा विसं २०२१ सालको नापीको समयमा हाल बसोबास गर्दै आएका स्थानीयहरुको नाममा मोही कायम गरिएको थियो । विर्ता उन्मुलन ऐन २०१६ को प्रावधानअनुसार सो जमिन (क) बिर्ता भएकाले मोहीको नाममा नाम सारी गर्नु पर्ने स्थानीय पीडितहरुको भनाई छ । तर जग्गाधनी शाहका हकवाला देवराज्य लक्ष्मी देवीले सो जमिन (ख) बिर्ता भएकाले मोहीको नाममा नाम सारी गर्न नमिल्ने र रैकरमा परिणत गर्नुपर्ने भनी दाबी गरे पछि जग्गामा विवाद भएको हो ।
जग्गाका मोहीहरुले सो जग्गाबारे छिनोफानो गर्न माग गर्दै पुनरावेदन अदालत ललितपुरमा फिराद पेश गर्दा सबै कित्ता जमिनको अलग अलग निक्र्यौल गर्न भनी जिल्ला मालपोत कार्यालय भक्तपुरको नाममा २०५१ चैत्र २४ गते निर्णय गरेको थियो ।
‘तर २०५१ साल चैत्रमा पठाएको निर्णय भक्तपुर मालपोत कार्यालयले २०७२ भदौ १० गते मात्र जिल्ला अदालतमा पठाइदिंदा आज हामीलाई समस्या परेको छ ।’, स्थानीय अगुवाहरुले भन्नुभयो,‘हामीले पटक पटक ताकेता गर्दा पनि बीस वर्षपछि मात्र मालपोलले अदालतमा मिसिल पठाएको छ । आज यो मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ । मार्का भने हामीलाई परेको छ ।’ लालपुर्जा नभई नगरपालिकाले नक्सा पास गर्न मानेको छैन ।
मालपोत कार्यालयले समयमै सो सम्बन्धि कामकार्यबाही अघि नबढाउँदा स्थानीय जनता मार्कामा परेका हुन् । जाडोको समयमा अझै जस्ताको टहरामा बस्नुपर्दा धेरै स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या समेत देखापरेको उनीहरुको भनाई छ ।
‘नगरपालिकाले पनि हाम्रो समस्या देखे–नदेखेझैं गरिरहेको छ । नगरपालिका आफै पनि पन्छिने काममात्र गरिरहेको छ ।’, स्थानीय बाबुकाजी नाय्जूले गुनासो पोख्नुभएको छ ।
Leave a Reply