नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
भक्तपुर, २९ असार । इसानअन्तर्गतका माध्यमिक तह सञ्चालित विद्यालयहरूको शनिबार एसईईको नतिजाबारे सिंहावलोकन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले घर बलियो बनाउन जग बलियो बनाउनुपरे जस्तै विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर माथि उठाउन कक्षा एकदेखि नै ध्यान दिनु आवश्यक छ, यसको निम्ति विद्यालयका शिक्षकहरूबिच दैनिकरूपमा सङ्क्षिप्त बैठक हुनु उपयुक्त हुन्छ भन्नुभयो ।
विद्यार्थीहरूलाई कम्तीमा ६० प्रतिशतभनदा बढी अङ्क आउने गरी तयारी शिक्षा शिक्षकहरू लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “विद्यालय र कलेजका विद्यार्थीहरूलाई समाज परिवर्तनको बाहक बनाउने गरी शिक्षा दिनु शिक्षकहरूको कर्तव्य हुनु आवश्यक छ । संसारका महान् व्यक्तिहरूको जीवनी र प्रसिद्ध विद्रोहका प्रसङ्गहरूबाट विद्यार्थीहरूलाई शिक्षित गर्नु जरूरी छ ।”
“पाठ्यपुस्तकको शिक्षा विद्यालयमै दिने र राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय गृहकार्यको रूपमा अध्ययन गराउने काम शिक्षकहरूबाट भए विद्यार्थीहरू प्रतिस्पर्धी हुनेछन् ।”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “आजभन्दा दुईसय वर्षअगाडि रूसका नयाँ पुस्तालाई १५ वर्षमै रूसीबाहेक फ्रान्सेली, जर्मन, ल्याटिन भाषामा पोेख्त बनाइएको डिसेम्बर विद्रोह पुस्तकमा उल्लेख छ । सेर्गेई नामको रूसी नयाँ पुस्ता आठ ओटा भाषामा पोख्त थिए । भाषासँगै उनीहरूको गणित, इतिहास, साहित्य, चित्रकारिता, सङ्गीत, तरवारबाजी, घोडचढी, नृत्यमा रूचि थियो । विद्यार्थीहरूलाई पनि त्यसरी नै तयारी गर्ने प्रयास गर्नु आवश्यक छ ।”
जसको हातमा अर्थतन्त्र हुन्छ राजनीति उसैको हुनेबारे शिक्षकहरूले विद्यार्थीहरूलाई शिक्षित गर्नु आवश्यक हुने धारणा राख्दै सांसद सुवालले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा भारतको प्रभाव हुँदा राजनीतिमा पनि त्यसैको प्रभाव छ । नेका र एमालेबिच सत्ता समीकरणबारे एक व्यवसायीको घरमा सहमति गरिएको घटना यस्तै हो ।”
अमेरिकी विदेश विभागमा नाटो देशहरूको डिनर मिटिङ हुँदा अमेरिकी विद्यार्थीहरू प्यालेस्टिनमा इजरायली आक्रमणको विरोधमा ब्यानरसहित सडकमा उत्रिएका थिए । नयाँ पुस्तालाई अन्याय, आक्रमण र युद्धको विरोधमा सचेत बनाउनु शिक्षकहरूको कर्तव्य हो, उहाँले भन्नुभयो ।
विद्यालयहरूले अभिभावकहरूको बैठक बरोबर राखेर विद्यार्थीहरूको शैक्षिक गुणस्तर माथि उठाउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले इसानले शिक्षकहरूको तालिम बरोबर सञ्चालन गर्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ जोड दिनु जरूरी छ भन्नुभयो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थीको अभिरूचिअनुसार पढाउन सकेमा राम्रो हुने, देशको सिस्टममा आएको खराबीलाई बुझेर हामीले पूर्वयोजना बनाई पढाउनुपर्ने बताउनुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले सरकारको शिक्षा नीति नै धुलमुले भएकोले हामी बढी जिम्मेवार भई काम गर्नुपर्छ भन्नुभयो ।
सम्पूर्ण प्रिन्सिपल र प्रतिनिधि शिक्षकहरूले आ–आफ्नो विद्यालयको एसईईको समीक्षा गरिएको कार्यक्रममा इसानका केन्द्रीय सचिव पुरूषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो । सो दिन विज्ञान र गणितको विषयमा शिक्षकहरूलाई तालिम दिइएको थियो ।
Leave a Reply