भर्खरै :

नेपालीका सट्टा अङ्ग्रेजी भाषालाई माया

नेपालीका सट्टा अङ्ग्रेजी भाषालाई माया

हाम्रो देशको साक्षरता प्रतिशत बढ्दो अवस्थामा छ । शिक्षामा लगानी बढेको छ । समय नै चेतनशील बनेको हुँदा आजका अभिभावकहरू स्वयम् शिक्षाप्रति सचेत देखिन्छन् । अरूका भन्दा सक्षम बनाउन उनीहरू आफ्ना सन्तानलाई सहरतिर लान्छन् । सकेसम्म ‘बोर्डिङ स्कूल’ मा पढाउँछन् । धेरै फिस तिर्छन् । सरकारीमै भए पनि राम्रा विद्यालय छान्छन् । आफूले धेरै दुःख गरेर भए पनि उनीहरूलाई सुखसुविधा दिन्छन् । कपडा धोइदिने, खानाखाजा समयमा तयार पारिदिने, कापीकिताब मिलाएर राखिदिने, कोठा सफा गरिदिनेदेखि लिएर गृहकार्य गर्नमा समेत सघाउँछन् आफ्ना छोराछोरीलाई कतिपय अभिभावकहरू । यति भएर पनि हाम्रा औसत विद्यार्थीको ‘नेपाली भाषाको सामान्य ज्ञान’ चाहिँ घट्दो अवस्थामा छ । यस्तो अवस्था आउनुका केही कारणहरू छन् ।
विश्वका चीन, जापानजस्ता देशहरू आफ्नो भाषामा जोड दिएरै विकसित भएका छन् । हामीकहाँ भने आफूलाई खूब सभ्य र शिक्षित बनाउन विशेषतः अङ्ग्रेजी भाषालाई जोड दिने गरिएको छ । हाम्रा सरकारी विद्यालय पनि ‘इङलिश मिडियम’ का बन्न थालेका छन् । सबैजसो विषय अङ्ग्रेजीमा पढ्नुपर्ने ! अङ्ग्रेजीमै लेख्नुपर्ने ! अङ्ग्रेजीमै बोल्नुपर्ने ! यी त भए विद्यालयका कुरा । कथित् शिक्षित परिवारमा त घरमा पनि, “अब बाबु म्याङ्गो खान्छ….”, “नाइन बजिसक्यो, राइस खान रेडि हुनुपर्छ ….”, “नानीको कपि फात् वटा छ ….”, “बाहिर वाटर आइसक्यो…”, “अब स्लिपिङ गर्ने बेला भइसक्यो …” जस्ता वाक्य भन्दै सानैदेखि अङ्ग्रेजीमै अभ्यास गराइएको देखिन्छ । सभ्य देखिनका लागि यसको सिको अन्य परिवारले पनि गर्ने नै भए ।
हामीकहाँ मातृभाषा बोल्न नचाहने बालबालिका पनि धेरै छन् । मातृभाषा पूरै बिर्सन नसकेर नेपालीमा गल्ती गर्ने पनि उत्तिकै छन् । न मातृभाषा शुद्ध ! न नेपाली भाषा शुद्ध ! मातृभाषाकै कारण कतिपय विद्यार्थीहरू “हिजो पानी परेको बेलामा म बसमा छ । मैले गृहकार्य लेखिसक्यो । हिजो म अस्पताल गयो/गएको छ … …” जस्ता वाक्यहरू बोल्छन्ले/ख्छन् । यस्तो अवस्थामा नेपाली भाषा कसरी शुद्ध प्रयोगमा आउन सकोस् ! वास्तवमा हुनुपर्ने आफ्नो मातृभाषा र राष्ट्रभाषा दुवै शुद्ध बोल्न÷लेख्न जान्ने हुनु हो ।
नेपाली हामीलाई, विश्व समुदायमा परिचय गराउने भाषा हो । यो हाम्रा लागि अति नै प्यारो छ । यो कुरा स्वीकारेर, “नेपाली पनि एउटा पढ्नैपर्ने र जान्नैपर्ने विषय हो” भन्ने कुराको महसुस न त हाम्रा विद्यार्थीहरूले गर्न सकेका छन् न त शिक्षकहरूले नै गराउन सकेका छन् । त्यसैले नेपाली विषयमा विद्यार्थीहरूको खास रुचि नै छैन । के सहर, के गाउँ, प्रायः सबैतिरका विद्यालयले अङ्ग्रेजी भाषालाई नै जोड दिएपछि यस्तो अवस्था आउनु स्वाभाविकै पनि हो । परिणामतः कक्षामा नेपाली विषयको घण्टीमा पनि विद्यार्थीहरू अङ्ग्रेजी, विज्ञान, गणित र ऐ. गणितजस्ता विषयको अभ्यास र छलफलमा व्यस्त हुन रुचाउँछन् । ट्युसन तिनै विषयको छ । कोचिङ तिनकै छ । तर, फेरि परीक्षाको नतिजा प्रकाशित हुँदा पनि तल्लो ग्रेड तिनै विषयमा आएको देखिन्छ !
विद्यालय, घरपरिवार मात्र होइन, आजकल वातावरण नै ‘अङ्ग्रेजीमय’ बनेको छ । नेताहरूले बोल्दा अङ्ग्रेजी मिसाउँछन् । पत्रकारहरू उसै गर्छन् । यस्तो भएपछि, अभिभावकले चाहेर पनि आफ्ना छोराछोरीमा भएको नेपाली भाषिक कमजोरी हटाउन सक्दैनन् । त्यसमाथि उनीहरूमा त्यस्तो चाहना पनि छैन । बरु, आफ्ना छोराछोरीले कनीकुथी नेपाली पढेको भन्दा सरर्र अङ्ग्रेजी बोलेको, अङ्ग्रेजी लेखेकोमा गर्व गर्छन् उनीहरू ! “मेरो छोरो त बोर्डिङ स्कुलमा पढेर आएको, नेपालीचाहिँ त्यति जान्दैन है !” एकजना शिक्षित अभिभावकले आफ्नो छोरो भर्ना गर्न आउँदा मुसुक्क हाँस्दै भनेको कुरा बेलाबेलामा सम्झिन्छु । उहाँको छोरा मात्र होइन, कक्षा आठ नौमा पढ्ने कतिपय विद्यार्थीहरूलाई नेपालीबाट १ देखि १०० सम्म गन्नसमेत आउँदैन । उनीहरूले नेपालीमा कुनै कुरा लेख्न खोजे भने अङ्ग्रेजीमा सोच्ने भएकोले, कतिपय ‘इङ्लिश वर्ड’ लाई नेपालीमा बताइदिनुपर्छ । नेपाली विषयको कक्षामा पनि कतिपय शब्दलाई अङ्ग्रेजीमा उल्था गरेर बुझाइदिनुपर्छ । नेपाली अङ्कमा भन्यो भने फोन नै बुझ्दैनन् । कक्षामा, ‘किताबको १६७ पृष्ठमा पल्टाओ !’ भन्यो भने, ‘त्यो भनेको कति हो सर !’ भन्छन् विचराहरू ! ‘भन्छन्’, ‘लेख्छन्’, ‘भन्थ्यो’, ‘लेख्थ्यो’ लेख्न जान्दैनन् । ‘ग¥यो, झ¥यो, ‘शृङ्खला’ लेख्न सक्नु त परको कुरा ।
हामीलाई थाहै छ–नेपाली भाषाको जग संस्कृत हो । “संस्कृत पढेर के काम ?”, “मलाई संस्कृत पढ्नै मन लाग्दैन …”, “यसको कुनै काम छैन”, भने पनि नेपालीमा प्रयोग हुने थुप्रै शब्दहरू संस्कृतबाट आएका हुन्छन् । तिनलाई हामीले प्रयोग गरिरहेका हुन्छौँ । कुनै शब्दको स्रोत, व्युत्पत्ति, निर्माण प्रक्रिया इत्यादिको कुरो गर्नुपर्दा संस्कृतसम्म नपुगी धरै छैन । नेपाली भाषाकै अवस्था कमजोर भइरहेको यो बेलामा अब सृंस्कत भाषाको महत्वबारे कसले सम्झाउने ?
हाम्रो पहिचान र गौरव भनेकै पूर्वीय दर्शन हो । कतिपय प्रसङ्गमा वेद, पुराण, रामायण, महाभारत, उपनिषद्का प्रसङ्ग उल्लेख गर्नुपर्ने हुन्छ । त्यो बेलामा स्वतः संस्कृत पदावली, श्लोक आउने नै भए । नेपाली वाक्य राम्ररी पढ्न नजानेको अवस्थामा ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ….’, ‘… कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ जस्ता संस्कृत पदावलीलाई कसरी सिकाउने/बुझाउने होला ! लेखाइ र उच्चारण शुद्ध बनाउने उद्देश्यले सेतोपाटीमा सरस्वती वन्दना लेखेर, “यो सारेर कण्ठस्थ पार्नुहोस् है !” भन्यो भने, “सर यो परीक्षामा आउँछ र ?” भन्ने खालको जवाफ पाइन्छ । आजकल क्रिश्चियन धर्मावलम्बीको सङ्ख्या बढेको अवस्थामा कतिपय विद्यार्थीले “यस्तो कुरा हामीले घरमा पढ्नै हुँदैन” भन्न पनि बेर छैन ।
कुनै पनि भाषा जान्नु राम्रो हो । त्यसमा पनि विश्वभाषाका रूपमा स्वीकारिएको अङ्गे्रजी भाषा त जान्नैपर्छ । तर यसो भन्दैमा नेपाली भाषालाई बेवास्ता गर्नु कुनै पनि हालतमा राम्रो होइन । अहिले यही नराम्रो हुँदै छ । समय समयमा मनाइने भानु जयन्ती, मोती जयन्ती, लेखनाथ जयन्ती, देवकोटा जयन्ती, सम जयन्तीका सन्दर्भमा नेपाली भाषालाई सानो कक्षादेखि नै शुद्ध प्रयोग गर्ने वातावरण बनाउनुपर्छ भन्ने कुरातर्फ चर्चा गरिनु अनावश्यक नठानिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *