प्यालेस्टिनी महिलाले इजरायली जेलमा भोगेको दुव्र्यवहार र अपमानजनक अवस्थाबारे बयान
- आश्विन २९, २०८३
हाम्रो टोलमा एक जना भगवान् गणेशको परम भक्त थियो । ऊ हरेकपटक गणेशको मन्दिर नजिक पुग्दा दुई हात जोडेर ढोग्ने गथ्र्यो । एक रात त्यही गणेश भक्त रक्सी खाएर बाइकबाट आउँदै थियो । मन्दिर नजिक पुग्दा परम पूज्य गणेश भगवान्लाई दुवै हात जोडेर नमस्कार गर्दै ‘जय गणेश’ भनेर प्रार्थना गर्दागर्दै बाइक लडिहाल्यो । गणेश भक्तको रिसले पारो चढिहाल्यो । “मैले यति धेरै भक्ति गर्दा पनि मेरो बाईक लडाइ दिने ?” भन्दै भुइँमा रहेको ढुङ्गा उठाएर गणेश भगवान्लाई हिर्कायो । आफ्नो लापरबाहीले गर्दा भएको दुर्घटनामा भगवान्माथि दोष लगायो । यस्तै भगवान्माथि दोषारोपणको गर्ने दुरुस्त घटना प्राचीनकालमा पनि भएको पाइन्छ । बिफरले आफ्नो छोरा मरेपछि राजाको आदेशमा भक्तपुर हनुमानघाटमा अवस्थित सितला माताको मूर्ति तोडफोड गरिएको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ ।
यो सन्दर्भलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडौँ । चुनावलाई मध्य नजरमा राखेर राम मन्दिर बनाए । पूर्णता नपाउँदै हतारमा राम मन्दिरमा प्राण प्रतिष्ठा गराए । हरेक चुनावी भाषणमा ‘जय श्रीराम’ भन्दै नारा लगाए । मोदीले यसबाट ठुलै चुनावी लाभ मिल्ने आशा गरेर ‘अबकी बार ४ सो पार’ भन्दै नारा लगाए । चुनावी परिणामपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी, भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा (भारतको तल्लो सदन) जम्मा ५४३ मध्ये ४०० भन्दा बढी सीट प्राप्त गर्ने विश्वास थियो । तर, मोदी यस महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्नबाट टाढा भए । ४ सय त परको कुरा बहुमतको लागि चाहिने २७२ पनि पाउन सकेनन्, मात्र २४० सीट जित्न सके । मोदीको लागि सबभन्दा बढी अपमानजनक परिणाम रामको जन्मस्थल अयोध्याबाट आयो जहाँ उग्र हिन्दुत्व बोकेको एजेन्डाको चुनावी हार भयो । भाजपाले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा भएका आफ्ना सहयोगीहरूको बैशाखी टेकेर सरकार बनाउन बाध्य भयो ।
माथिको जँड्याहाले जस्तै चुनावमा अपमानजनक हारको रिसले अहिले मोदीले ‘जय श्रीराम’ को नारालाई त्यागेको छ । मोदीको मनमा लागेको होला मैले रामको भक्तिमा यति धेरै खर्च गरेँ तर मलाई चुनावमा हराइयो । सर्वसाधारण जनताको सेवाभन्दा केही पुँजीपतिहरूको स्वार्थमा विभिन्न नीतिहरू बनाएर राष्ट्रिय सम्पति निजीकरण गरेको कारण जनताको कोपभाजनले गर्दा हारेको वास्तविकता अहङ्कारी मोदीले बुझ्न सकेनन् । उल्टै भगवान्लाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्न कोसिस गरे ।
अहिले मोदीले ‘जय जगन्नाथ’ को नारा लगाउन थालेको छ । चुनावी परिणामपछि नारा फेरेको कुरा चाखलाग्दो छ । कुरा के रहेछ भने ओडिसामा मोदीको बीजेपीले अघिल्लो चुनावमा जितेको थिएन । यसपालि ओडिसाबाट २१ मध्ये २० सीट जितेको छ । यदि ओडिसामा पनि अघिलो चुनावमा जस्तै हारेको भए मोदीको हातबाट सरकार गुम्ने रहेछ । भगवान् जगन्नाथ ओडिसामा प्रख्यात छन् । त्यसैले मोदीले ‘जय श्रीराम’ को नारा छोडेर ‘जय जगन्नाथ’ को नारा लगाए । यही कारण मोदीले एकै झट्कामा लुगा फेरेजस्तै भगवान् पनि फेरे । रामको सट्टा जगन्नाथलाई रोजे । ‘जय श्रीराम’ बाट ‘जय जगन्नाथ’ मा परिवर्तनले मोदीको रामप्रतिको आस्था र राजनीतिक गतिशीलताको नाममा अवसरवादको पराकाष्ठालाई प्रतिबिम्बित गर्छ । धार्मिक पाखण्डी मोदीको भगवान्को पूजामा लुकेको स्वार्थको पराकाष्ठा ! राजनीतिक सन्देश प्रवाहमा नाराले महत्वपूर्ण भूमिका खेलिने वास्तविकता हो तर यहाँ सोझा जनताको धार्मिक भावनासँग खेलवाड गरेर नारा लगाउने गरिएको छ ।
भगवान्प्रति देखाउने भक्तिको सन्दर्भमा मानिसहरूको मनसाय र उद्देश्यहरूको आधारमा तिनीहरूलाई तीन मुख्य समूहमा वर्गीकरण गर्न सकिन्छ ।
एकथरी धर्मालम्बीहरू साँचो निःस्वार्थ भक्ति देखाउँछन् । यी मानिसहरूले निष्कपट र भक्तिपूर्वक उपासना गर्छन् । भगवान्प्रति गहिरो विश्वास, आध्यात्मिक वा पवित्रतासँग अन्योन्याश्रित सम्बन्धद्वारा यी धर्मालम्बीहरू सञ्चालित हुन्छन् । तिनीहरू पूजनीय देवतामा पूर्ण हृदयले विश्वास गर्छन् । धर्मालम्बीहरूको उपासना व्यक्तिगत शान्ति, सान्त्वना र आध्यात्मिक वृद्धिको स्रोत हो । यस्ता धर्मालम्बीहरूमा प्रेम, करुणा र उनीहरूको विश्वास वा समुदायप्रति कर्तव्यको भावनाद्वारा निर्देशित हुन्छन् । यस्ता भगवान् भक्तहरू बदलामा केही आशा नगरी पूजा गर्छन्, केबल कार्यमा नै आनन्द खोज्छन् ।
अर्का थरी धर्मालम्बीहरू स्वार्थमा भक्ति देखाउने वर्गमा पर्छ । यी धर्मालम्बीहरूले बदलामा लाभ वा अनुग्रह प्राप्त गर्ने आशा राखेर पूजा गर्छन् । तिनीहरूको भगवान्प्रतिको भक्ति भौतिक लाभ हुने आशामा आधारित हुन्छ । यस्ता धर्मालम्बीहरू धन, स्वास्थ्य वा सफलताजस्ता मूर्त बरदान खोज्छन् । यी ईश्वर भक्तहरूले आफ्नो व्यक्तिगत परिस्थिति सुधार गर्न देवताको अनुग्रह प्राप्त गर्ने लक्ष्य राख्नुका साथै दुर्भाग्यबाट बच्न वा हानिबाट सुरक्षा खोज्न पूजा गर्छन् । ईश्वरसँगको तिनीहरूको सम्बन्धलाई प्रायः लेनदेन वा शुभलाभको माध्यमको रूपमा हेरिन्छ ।
धार्मिक कार्यलाई सेवा व्यापारको पेसाको रूपमा लिने अर्का थरी धर्मालम्बीहरू हुन्छन् । यी व्यक्तिहरूले व्यक्तिगत लाभको लागि अरूलाई आस्था परिवर्तन गर्न धर्मको प्रयोग गर्छन्, प्रायः अरूको साँचो विश्वासको शोषण गर्छन् ।
वर्तमान विश्वमा उल्टो मनसाय भएका केही धार्मिक नेताहरूले शक्ति, धन वा प्रभाव प्राप्त गर्न आफ्नो पदको दुरूपयोग गरिरहेका छन् । समाजमा धर्मको आडमा सांस्कृतिक शोषण गरिरहेको जगजाहेर छ । केही सन्दर्भहरूमा, व्यक्तिहरूले सांस्कृतिक वा धार्मिक मान्यताहरू अरूलाई नियन्त्रण गर्न वा हेरफेर गर्न प्रयोग गरिहेका छन् । जस्तैः– हिन्दू धर्ममा ब्राह्मण, पुरोहित वा पण्डितहरूले ऐतिहासिकरूपमा जाति व्यवस्थालाई आफ्नो सामाजिक स्थिति बलियो बनाइराख्न प्रयोग गर्छन् । यी ब्राह्मणहरूको भक्ति साँचो नभई अनुयायीहरूमाथि नियन्त्रण कायम राख्न वा सोझासिधा धर्मालम्बीहरूको दानबाट लाभ उठाउने उद्देश्य हुन्छन् ।
भगवान्का भक्तहरूको वर्गीकरणले भक्ति पछाडिका विविध धार्मिक अभ्यासबिचको जटिल अन्तरक्रियालाई प्रकाश पार्छ । भगवान्माथि गरिने भक्ति बुझिहेर्दा मानिसको स्वभावअनुसार धार्मिक र आध्यात्मिक जीवनको गतिशीलतामा गहिरो धारणा लुकेको हुन्छ । तपाईँ कुन वर्गमा पर्नुभयो वा कुनै वर्गमा पर्नुभएन ?
Leave a Reply