भर्खरै :

दसैँमा भक्तपुर स्काउटको सक्रियता र सेवा सराहनीय

  • आश्विन २९, २०८३
  • निश्चल श्रेष्ठ, भक्तपुर (स्काउटका शुभचिन्तक)
  • विचार
दसैँमा भक्तपुर स्काउटको सक्रियता र सेवा सराहनीय

स्काउट युवाहरूमा अनुशासन, सेवाभाव, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने स्वयम्सेवी संस्था हो । विपद् व्यवस्थापन, सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा विभिन्न सार्वजनिक गतिविधिमा स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
भक्तपुरमा स्काउटको क्रियाशीलता हिजो पनि थियो, आज पनि उत्तिकै छ र भोलि पनि निरन्तर रहनेछ । नेपाल स्काउट, वाग्मती प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिकाको सक्रियताले नगरपालिकाभित्र स्काउट अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पु¥याएको छ ।
भक्तपुरमा वर्षभरि आयोजना हुने विभिन्न जात्रा, पर्व, मेला तथा धार्मिक गतिविधिमा भक्तपुर स्काउटले देखाउँदै आएको सक्रियता निकै सराहनीय छ । यसैको पछिल्लो उदाहरणका रूपमा नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा स्काउटले निर्वाह गरिरहेको सेवामूलक भूमिकालाई लिन सकिन्छ ।
असोज २५ गते घटस्थापनादेखि सुरु भएको यस वर्षको दसैँको पहिलो दिनदेखि नै भक्तपुर स्काउट सेवामा सक्रिय देखिएको छ । घटस्थापनाका दिन ब्रह्मायणी मन्दिरमा स्काउटका स्वयम्सेवकहरूले दर्शनार्थीहरूलाई सहयोग गर्नुका साथै जमरा राख्न आवश्यक माटो वितरण गर्ने महत्वपूर्ण कार्य गरेका छन् ।
दसैँको नवरात अवधिभर ब्रह्मायणीसहित विभिन्न शक्तिपीठहरूमा आउने भक्तजनको भिड व्यवस्थापन गर्ने, वृद्धवृद्धालाई सहयोग गर्ने, मन्दिरमा सहज रूपमा दर्शन गर्ने वातावरण बनाउने तथा आवश्यक परेको अवस्थामा सहयोग उपलब्ध गराउने कार्यमा स्काउटहरू परिचालित छन् । भक्तपुर नगरपालिकाभित्रका विद्यालयमा रहेका स्काउट समूहहरूलाई समेत आ–आफ्नो क्षेत्र तथा नजिकका शक्तिपीठहरूमा सेवा प्रदान गर्न जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिएको छ ।
घटस्थापनादेखि विजया दशमीसम्म स्काउटको सेवा निरन्तर सञ्चालन होस् भन्ने उद्देश्यले कार्यतालिका नै बनाएर जिम्मेवारी निर्वाह गरिनु प्रशंसनीय पक्ष हो । त्यसैगरी, विजया दशमीका दिन ब्रह्मायणी मन्दिरमा सेवा क्याम्प सञ्चालन गरी मन्दिरमा आउने भक्तजनलाई आवश्यक सहयोग पु¥याउने तयारीले स्काउटको सेवाभावलाई थप उजागर गरेको छ ।
भक्तपुर स्काउटले दसैँमा देखाएको यो सक्रियता नयाँ अभ्यास मात्र नभई विगतका वर्षहरूदेखि निरन्तरता दिँदै आएको हो । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै जात्रा, पर्व र मेलालाई व्यवस्थित, सुरक्षित र सहज बनाउन स्काउटले पु¥याउँदै आएको योगदानले समाजमा स्वयंसेवाको महत्वसमेत स्थापित गरेको छ ।
नेपाल स्काउट, वाग्मती प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिकाले गर्दै आएका यस्ता कार्यहरू प्रशंसनीय छन् । यस प्रकारका सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै विद्यालयस्तरदेखि नै स्काउट अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउन सके अनुशासित, सेवाभावी र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ ।
सेवा, अनुशासन र समर्पणलाई मूल मन्त्र बनाउँदै भक्तपुर स्काउटले देखाएको सक्रियता वास्तवमै सराहनीय छ । भक्तपुरको मौलिक संस्कृति, परम्परा र सामाजिक सेवामा स्काउटको यो योगदान आगामी दिनमा पनि निरन्तर रहिरहोस् ¤ विजया दशमीको शुभकामना ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *