भर्खरै :

गाजामा मारिनेको सङ्ख्या १,८६,००० भन्दा बढी

गाजामा मारिनेको सङ्ख्या १,८६,००० भन्दा बढी

‘द ल्यान्सेट’ समीक्षात्मक मेडिकल जर्नल हो । जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले गाजापट्टीमा इजरायली आक्रमणमा परेर मृत्यु हुनेको वास्तविक सङ्ख्या १ लाख ८६ हजार पुगेको देखाएको छ । यसको अर्थ गाजाका झन्डै ८ प्रतिशत जनता मरिसकेका छन् । अन्तर्राष्ट्रिय न्यायालयले गाजामाथिको इजरायलको यो नृशंस आक्रमणलाई ‘सम्भाव्य जातिसंहार’ भनेको छ ।
बमबारीमा परेर मर्नेहरूको सङ्ख्या गाजाको स्वास्थ्य मन्त्रालयले जनाएभन्दा लगभग साढे १ लाख बढी छ । ‘द ल्यान्सेट’ को आकलन सही भए इजरायली रक्षा बल (आइडीएफ) ले २०२३ अक्टोबर ७ यता एक इजरायलीको बदलामा १६९ प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ ।
‘द ल्यान्सेट’ को अध्ययनअनुसार २०२३ अक्टोबर ७ देखि २०२४ जून १९ सम्ममा इजरायली सेनाले गाजापट्टीमा ३७,३९६ प्यालेस्टिनीहरूको हत्या गरिसकेको छ । यो आँकडा गाजाको स्वास्थ्य मन्त्रालयको हो । यद्यपि, इजरायल सरकारले गाजाको स्वास्थ्य मन्त्रालयले जारी गर्दै आएको तथ्याङ्कलाई हावादारी भन्दै आएको छ । ‘द ल्यान्सेट’ मा प्रकाशित रिपोर्टका लेखक राशा खातिब, मार्टिन म्याकी र सलिम युसुफ हुन् । उनीहरू लेख्छन्, (प्राप्त तथ्याङ्कलाई) इजरायली गुप्तचर विभाग, संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सटिक मान्दै आएका छन् । यसबाहेक अन्य स्वतन्त्र विश्लेषणबाट पनि यो तथ्याङ्क सही देखिन्छ ।
इजरायली सेनाले मारेका प्यालेस्टिनीहरूको सङ्ख्या थाहा पाउन कष्टकर कार्य हो किनभने त्यसले गाजाका भौतिक पूर्वाधारहरू ध्वस्त पारिसकेको छ । तैपनि, रिपोर्ट लेखकहरू तर्क गर्छन्, छापामा आइरहेको मृतक सङ्ख्या धेरै कम हुनसक्छ ।
रिपोर्ट भन्छ, “एयरवार्स नामक गैरसरकारी संस्थाले गाजापट्टीमा भइरहेका घटनाको विस्तृत छानबिन गरेर स्वास्थ्य मन्त्रालयको सूचीमा सनाखत भएका सबै मृतकहरूको नाम प्रायः उल्लेख नगरिएको पाएको छ । यसबाहेक राष्ट्रसङ्घले २०२४ फेब्रुअरी २९ मा गरेको आकलनअनुसार गाजापट्टीका ३५ प्रतिशत भवनहरू नष्ट भएका छन् । त्यसकारण, भग्नावशेषहरूमा पुरिएर मर्नेहरूको सङ्ख्या उल्लेख्य हुनुपर्छ । यसरी मर्नेहरूको सङ्ख्या १ लाखभन्दा बढी भएको अनुमान छ ।”
‘द ल्यान्सेट’ ले ‘प्रत्यक्ष’ र ‘परोक्ष’ मृत्यु भनी वर्गीकरण गरेको छ । इजरायली सेनाले सिधै मारेकाहरूलाई पहिलो कोटीमा राखिएको छ भने इजरायली हिंसाका कारण स्वास्थ्य समस्या देखिएर मर्नेहरूलाई दोस्रो कोटीमा राखिएको छ । यी दुवैलाई मिलाएर हेर्दा मृत्यु हुनेहरूको सङ्ख्या पराकाष्ठामा पुगिसकेको छ किनभने इजरायली सेनाले स्वास्थ्य पूर्वाधारहरू तहसनहस पारेको छ† गाजामा बाहिरबाट आउने राहतमा इजरायलको नाकाबन्दीका कारण रासन–पानीको हाहाकार छ† इजरायली सेनाले तथाकथित ‘सुरक्षित स्थल’ मा समेत बमबारी गरिरहेको छ† प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्नका लागि स्थापना गरिएको राष्ट्रसङ्घको राहत एजेन्सी ‘उन्रा’ लाई दिँदै आएको रकममा पश्चिमा देशहरूले कटौती गरेका छन् ।
रिपोर्ट लेखकहरू लेख्छन्, “पछिल्लो द्वन्द्वमा परोक्ष मृतकको सङ्ख्या प्रत्यक्ष मृतकको भन्दा ३ देखि १५ गुणा बढी छ ।” त्यसकारण, ‘परोक्ष’ मृतक सङ्ख्या सकेसम्म कम बनाउने हो भने पनि इजरायली सेनाले प्रत्यक्ष मारेको एक प्यालेस्टिनी बराबर चार प्यालेस्टिनीहरू ‘परोक्ष’ रूपमा मारिएका छन् । यसरी हिसाब गर्दा मृतक सङ्ख्या १ लाख ८६ हजार हुन आउँछ । वास्तविक सङ्ख्या योभन्दा पनि बढी हुनसक्छ ।
यो वर्ष मार्च महिनामा अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार राल्फ नाडारले गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको मृतक सङ्ख्या धेरै कम भएको तर्क गरे । निश्चय नै, उक्त स्वास्थ्य मन्त्रालयले अस्पतालले मृत घोषित गरेका र चिहानसम्म लगिएका लासमात्र गन्ने गर्छ । तर, इजरायलले गाजाका अस्पतालमाथि नै बम हान्ने नीति लिएको छ । उसले छानीछानी स्वास्थ्य कर्मचारीहरूलाई मार्दै छ र अस्पताल प्रशासनमा काम गर्ने कारिन्दाहरूलाई अपहरण गरी यातना दिँदै छ । डा. मुहम्मद अबु सलमियाको घटना यसको ज्वलन्त उदाहरण हो ।
इजरायलको नौ महिने हमलामा परेर गाजाको स्वास्थ्य पूर्वाधारले अन्तिम सास फेर्दै छ । जता हे¥यो भग्नावशेषहरूको थुप्रो लाग्दै छ । ती थुप्रोभित्र हजारौँ अपरिचित पीडितहरू पुरिएका छन् । अर्कोतिर, गाजामा पठाइएका राहत सामग्रीको बाटो छेकिएको छ । आफ्नो स्वयंसेवकहरूको नियोजित हत्या हुनसक्ने देखेर मानवीय सहयोग प्रदायक संस्थाहरू गाजा प्रवेश गर्न डराइरहेका छन् ।
गत महिना ‘सेभ द चिल्ड्रेन’ नामक संस्थाले गाजामा झन्डै २१ हजार बालबालिका हराइरहेको रिपोर्ट छाप्यो । रिपोर्टमा लेखिएको छ, ती बालबालिका भग्नावशेषभित्र थुनिएका, गुप्त चिहानहरूमा पुरिएका, बमले चिन्नै नसकिने गरी चोइटिएका हुनसक्छन्† तिनीहरू इजरायली सेनाका कैदी बनेका अथवा लडाइँको भाँडभैलोमा हराएका हुनसक्छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले वास्तविक मृतक सङ्ख्याको लगत राख्न सम्भव पनि छैन । तैपनि, सञ्चार संस्थाहरूले उसले दिएको तथ्याङ्क प्रयोग गर्दै आएका छन् । इजरायलले मारेका प्यालेस्टिनीहरूको वास्तविक सङ्ख्या त्योभन्दा पनि बढी हुनसक्ने विभिन्न प्रमाणलाई तिनले बेवास्ता गर्दै आएका छन् । फलस्वरूप, गाजामा भएको विध्वंसको खास आकारबारे धेरै पर्यवेक्षकहरू भ्रममा छन् ।
मार्चमा नाडारले लेखे, “गाजाको स्वास्थ्य मन्त्रालयको न्यूनाङ्कनभन्दा वास्तविक मृतक सङ्ख्या तीन, चार, पाँच, छ वा त्योभन्दा पनि कैयन् गुणा बढी हुनसक्छ । यो निकै अर्थपूर्ण तथ्य हो । स्थायी युद्धविरामका लागि हतारिनु, इजरायली कब्जाबाट प्रताडित निर्दोष जनतामाथि पोखिएको परपीडक नृशंसतालाई एकातिर पन्छ्याउँदै संरा अमेरिका र अन्य देशबाट ठुलो मात्रामा राहत सामग्री सिधै त्यहाँ पठाउनु अर्थपूर्ण हुन्छ । आफैमाथि आत्म–सेन्सरको कैँची चलाइरहेका स्तम्भकार तथा लेखक–सम्पादक र इजरायली सेनाले ‘जानाजान सर्वसाधारणलाई तारो नबनाएको भनी मनचिन्ते ठोकुवा गर्नेहरूलाई यी तथ्यले अर्थ राख्छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफदेहिता पनि केही हो ।”
नाडार सही भन्छन् । इजरायली आक्रमणका कारण बढेको मृतक सङ्ख्या अन्तर्राष्ट्रिय कानुनको विषय हो । ‘द ल्यान्सेट’ मा प्रकाशित रिपोर्टले भनेजस्तै गाजाविरुद्ध आफ्नो युद्धको सम्पूर्ण विवरण राख्नु इजरायल सरकारको वैधानिक दायित्व हो । रिपोर्ट भन्छ, “२०२४ जनवरीमा अन्तर्राष्ट्रिय न्यायालयको आदेशमा भनिएको अन्तरिम कदम चाल्ने हो भने इजरायलले ‘विनाश रोक्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ र जातिसंहार महासन्धिको दायराभित्र पर्ने भनी आरोप लागेका क्रियाकलापसँग सम्बन्धित प्रमाणहरू जोगाउनुपर्छ ।’ तर, मृतकहरूको गन्ती गर्ने संस्थामा अहिले गाजाको स्वास्थ्य मन्त्रालय एक्लै छ ।”
विश्वलाई गाजाको वास्तविक मृतक सङ्ख्या थाहा नदिएर इजरायलले फेरि पनि एक बदमास राज्यले जस्तै व्यवहार गर्दै छ । तर, क्यानडालगायत पश्चिमा देशहरू इजरायललाई यो आँखाले हेर्दैनन् । गाजाविरुद्ध युद्धमा इजरायललाई नै मद्दत गरिरहेको हुनाले पश्चिमा शक्तिहरूले उसको हकमा अन्तर्राष्ट्रिय कानुन लागु नहुने ठानेको देखिन्छ ।
क्यानडाको सन्दर्भमा, अक्टोबर ७ देखि उसले इजरायललाई बलियो सैनिक र कूटनीतिक सहयोग गर्दै छ ।
वास्तवमा, गाजामा भइरहेको ऐतिहासिक मानवीय सङ्कटमा क्यानडा पनि एउटा जिम्मेवार पक्ष हो । इजरायली सेनाले गाजाको समुद्री तटमा हमला सुरु गरेपछि क्यानडा सरकारले जहाजभरि हतियार पठाएको थियो । अन्तर्राष्ट्रिय न्यायालयले जातिसंहार हुनसक्ने आदेश दिएपछि पनि क्यानडाले इजरायललाई हतियार पठाउन रोकेको छैन । इजरायली कब्जामा क्यानडाले आँखा चिम्लेर समर्थन जनाएको छ र प्यालेस्टिनी जनतामाथिको इजरायली सेनाको अत्याचारको निन्दा गर्न अस्वीकार गर्दै आएको छ ।
क्यानडाभरि प्यालेस्टिनी जनताको पक्षमा ऐक्यबद्धताका गतिविधि भइरहँदा सरकारले ती कार्यक्रममा सहभागीहरूलाई दानवको रूपमा प्रचार गर्दै छ । देशैभरि प्यालेस्टिन पक्षधर अभियन्ताहरूलाई प्रहरीले निसाना बनाउँदै छ । विश्वविद्यालयहरू अयोजित शान्तिपूर्ण धर्ना कार्यक्रम बिथोल्न प्रहरीले हिंसाको प्रयोग गर्दै छ । यसबिच गाजामा मारिनेहरूको सङ्ख्या डरलाग्दो पारामा उकोलो चढ्दै छ ।
विश्वले युद्धविरामको आह्वान गरिरहँदा पनि इजरायल प्यालेस्टिनी जनताको सामूहिक हत्यामा तल्लीन छ । यसले गर्दा इजरायलको निन्दा गर्दै सारा संसारले उसलाई अपराधी राज्य भन्दै छ । क्यानडा सरकार भने इजरायल मोहले अन्धो बनेको छ । त्यसैले रक्तपातको पक्षमा उभिँदै उसले घरेलु प्रतिरोधलाई दबाउँदै छ । इतिहासले क्यानडालाई प्यालेस्टिनको जातिसंहारमा सक्रिय सहभागी देश भन्नेछ ।
‘द ल्यान्सेट’ को अध्ययनले देखाएजस्तै अहिले यकिन साथ भन्न नसकिए पनि पछि–पछि इजरायली हिंसाको आकार स्पष्ट हुँदै जानेछ ।
मृतक सङ्ख्या बढ्दै जाँदा यो शताब्दीको सबैभन्दा प्रमाणित, पीडादायी र घृणास्पद मानवताविरोधी अपराध वा भनौँ गाजाको विनाशमा क्यानडाको साँठगाँठ झन्झन् बढ्नेछ ।
(ओवेन शाल्क ‘क्यानडा डाइमेन्सन’ पत्रिकाका स्तम्भकार हुन् ।)

– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *