भर्खरै :

‘रुसको डिसेम्बर विद्रोह’ पुस्तिकाको अन्तरक्रिया

‘रुसको डिसेम्बर विद्रोह’ पुस्तिकाको अन्तरक्रिया

ललितपुर, ७ साउन । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिले प्रकाशन गरेको पुस्तिका ‘रुसको डिसेम्बर विद्रोह’ (जारविरुद्ध षडयन्त्र) को अन्तरक्रिया भयो ।
नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तक तत्कालीन रुसको समाज, शासन व्यवस्था, बाहिरी देशमा भएको क्रान्ति वा परिवर्तनले रुसमा कस्तो प्रभाव पार्यो आदिबारे जानकारी राख्न पाउने पुस्तक हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “सन् १८२५ डिसेम्बर २६ मा रुसमा एक सैनिक विद्रोह भयो । विद्रोहका सबैजसो नेता कुलीन परिवारका युवाहरू थिए । विद्रोह असफल भयो । विद्रोहको सबल पक्ष त्यसका अगुवाहरूको प्रभावशाली व्यक्तित्व, अकिञ्चित उत्सर्ग, उदान्त विचार र परिष्कृत व्यवहार थियो ।”
“प्रेम, भाइचारा, मित्रताजस्ता मानवीय मूल्यमा ती युवाहरूको असीम आस्था थियो । ती क्रान्तिकारीहरू फ्रान्सेली राज्य क्रान्तिका ‘आदर्श सन्तान’ थिए । विद्रोह विफल हुनुको प्रमुख कारण सैद्धान्तिक थियो भने सहायक कारण साङ्गठनिक र रणनीतिक थियो । डिसेम्बर विद्रोहको अगुवाइ सैनिक अफिसरहरूको गुप्त समाजले गरेको थियो । सिनेट चोकमा विद्रोह भइरहँदा पिटर्सवर्गका कामदार जनता वरपर बसेर तमासा हेरिरहेका थिए । क्रान्तिको उद्देश्य भने तिनै जनतालाई सामन्ती थिचोमिचोबाट मुक्त गर्नु थियो । पीडितहरू नै सहभागी नभई उत्पीडनविरुद्ध लडिन्छ भने त्यसको उपलब्धि धेरै टिक्दैन । एक अगुवा लुनिनले यो कुरा सुरुमै सम्झाउन खोजेका थिए । उनको सल्लाह धेरैले बुझ्न सकेनन्,” उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक सदस्य एनबी श्रेष्ठले डिसेम्बर विद्रोहजस्ता अनेकौँ क्रान्तिकारी सङ्घर्षको शिक्षालाई आत्मसात गरेर नै सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको परिवेश झन्डै २०० वर्षपहिले सन् १८२५ को डिसेम्बर महिनामा रुसको राजतन्त्र अर्थात् जारतन्त्रको विरोधमा खान्दानी परिवारका युवा सैन्य जर्नेलहरूले गुप्त सङ्गठनहरूमार्फत गरेको सैन्य विद्रोह हो ।”
“त्यसबेला रुसका ८० प्रतिशत जनता भू–दास थिए । भूदासहरूलाई सामन्त र जमिनदारहरूले खेतको एक टुक्रा जमिन दिएर अन्य सबै खेत जोत्न लगाउँथे र घरको काम पनि विनाज्याला गर्न लगाउँथे,” उहाँले भन्नुभयो ।
नेमकिपा ललितपुरका कवीन्द्र डंगोलले भन्नुभयो, “सन् १८१२ मा फ्रान्सको तानाशाही शासक नेपोलियनले रुसमाथि हमला गरे र मस्को कब्जा गरे । रुसका भूदासहरूसमेत बहादुरीपूर्वक लडेर नेपोलियनको सेनालाई पेरिससम्म पु¥याइयो । युद्धमा १९–२० वर्षका सिपाही र सैन्य अफिसरहरू नेपोलियनलाई लखेट्दै युरोपका विभिन्न देशमा पुगे । ती खानदानी युवा सिपाही र जर्नेलहरूमा दुईवटा प्रभाव प¥यो । पहिलो, रुसमा दास मुक्ति गर्नुपर्छ । दोस्रो, रुसको निरङ्कुश राजतन्त्रको ठाउँमा उदार राजनीतिक व्यवस्था भए युरोपमा जस्तै राजनीतिक र सामाजिकरूपले स्वतन्त्र एवम् शिक्षित हुन्थे भन्नुभयो ।”
उहाँले भन्नुभयो, “रुसका खानदानीवर्गका सन्तानहरू युरोपका विद्यालय र कलेजहरूमा पढ्थे । उनीहरू बेलायत, फ्रान्स र अमेरिकी स्वतन्त्रता आन्दोलनबाट प्रभावित भए । परिवर्तनको इच्छा राख्ने युवा सैनिक जर्नेलहरूले ‘मुक्ति सङ्घ’, समृद्धि सङ्घ, उत्तरी गुप्त समाज र दक्षिणी गुप्त समाजजस्ता सङ्गठनहरू स्थापना गरेका थिए ।”
‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको महत्वबारे उल्लेख गर्दै नेमकिपा ललितपुरका सचिव नरेश महर्जनले ती रुसी क्रान्तिकारी युवाहरूमा देशको परिवर्तनप्रतिको त्याग, समर्पण र बलिदानी भावना वर्तमान नेपालको निम्ति पनि आवश्यक पक्ष हो; रुसका डिसेम्बरवादीहरूले ज्यान सजाय पाउने, फाँसीमा झुन्डिनुपर्ने, जीवनभर कालापानीमा श्रम गर्न जानुपर्ने थाहा पाए पनि देशमा परिवर्तन ल्याउन र जनताको जीवन स्तर उठाउन आफ्नो कुनै व्यक्तिगत हितका कुरा गरेनन्† तिनीहरू आफै खानदानी वा सम्भ्रान्त परिवारका सदस्य वा जर्नेल–कर्णेल थिए भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले रुसी जारले अभियुक्त मानिएका क्रान्तिकारी वीरहरू ५ जना सेर्गेई मुराभ्योभ, पाभेल पेस्तेल, कोन्द्राती रिलेत्, प्योटर काखोभस्की र मिखाइल बेस्तुजेभ रुमिनलाई सन्् १८२६ जुलाई २५ (१३) को दिन फाँसी दिएको थियो; अन्य धेरैजसो विद्रोहीहरूलाई कहिल्यै फर्किन नपाउने गरी साइबेरिया पठाइयो र कालापानीको निर्वासनमा पठाइएका ठाउँहरूमध्ये एउटा ठाउँ मस्कोभन्दा पूर्व बैकालतालपारिको नेर्चिन्स्क नगर थियो भन्नुभयो ।
नेमकिपा ललितपुरका विष्णु महर्जनले सम्भ्रान्त परिवारका क्रान्तिकारीहरूका परिवार, आमा र दिदीबहिनीहरू आफ्ना आफन्तहरूको हेरचाह गर्न साइबेरिया पुगेका थिए; ती क्रान्तिकारी महिलाहरूको दुःख कष्टकर थियो; लेनिनको नेतृत्वमा क्रान्ति गर्न रुसी जनताले ९० वर्ष पर्खनुपर्यो र साइबेरियामा क्रान्तिकारी जीवन साथीको निम्ति आफूलाई समर्पित गर्नेहरू क्रान्तिकारी महिलाहरू महान् छन् भन्नुभयो ।
कार्यक्रममा नविना महर्जन, एन. महर्जनलगायतले ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तिका नेपाली युवाहरूले अनिवार्य पढ्नुपर्ने हो† यसको अध्ययनले त्याग, तपस्या, समर्पण र बलिदान भनेको के हो भन्ने नेपाली युवाले बुझ्नेछन् भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *