भर्खरै :

देशविरोधी आन्दोलन र सिमानाबारे आत्मसमर्पण गर्नेहरू !

देशविरोधी आन्दोलन र सिमानाबारे आत्मसमर्पण गर्नेहरू !

रास्वपा सरकार प्रमुखले प्रतिनिधिसभामा बोलेका थिए— “नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ ।” तत्पश्चात् भारतीय सीमा सुरक्षा बल नेपालको भूमि सुस्तामा बन्दै गरेको ततवन्दसमेत रोक्न आयो । यो तथ्य सेलाउन नपाउँदै भारतको इन्डो—टिवटेन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक शत्रुजितसिंह कपुर भारतीय सैनिक हेलिकप्टर चढेर नेपालको दार्चुलाको व्यास गाउँपालिका १, छाङरुको आकाश हुँदै कालापानी पुगे । जेठ २७ गतेको यो घटनालाई रास्वपा सरकारले खण्डन गरेको छैन, किन ?
गएको फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट रास्वपालाई सरकारको नेतृत्वमा पु¥याउन नेपाली सेना, निजामती कर्मचारीले आफ्ना आफन्तहरूलाई घण्टीमा मत हाल्न लगाएको सार्वजनिक भइरहेको छ । गत भदौ २३ गतेको नयाँ पुस्ताको भनिएको नेपालको जेनजी आन्दोलन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पूर्वतयारी नै भएको पनि सार्वजनिक भएको छ । नेपाली सेनाले तदारुक भएको भए भदौ २३ गते निहत्था जनताको हत्या र भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरि आगजनी रोकिन सक्ने बताउनेहरू पनि छन् । नेपालमा यस्तो उपद्रव गराउन सक्ने तागत अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग मात्र रहेको पनि सार्वजनिक भयो ।
भदौ २३ र २४ गतेको उपद्रवको बेला सरकारको नेतृत्वमा नेकाको समर्थनमा एमालेका केपी ओली थिए । त्यसबेला सरकारको समर्थनमा झण्डै दुईतिहाइ मत थियो । तर, प्रम ओलीले सेना, प्रहरी, प्रशासन आफ्नो पक्षमा नरहेको ठम्याउन सकेनन् । ओलीले सेनाको दबाबमा प्रम पदबाट राजिनामा गरेर आत्मसमर्पण गरेको पनि सार्वजनिक भयो । नेकाबाट राष्ट्रपति भएका रामचन्द्र पौडेलले सेनाको दबाबमा संविधानविपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनसमेत गरी निर्वाचन घोषणा गरे । वरिष्ठ पत्रकार एवम् विश्लेषक अनिल गिरीले माउण्न्टेन टेलिभिजनसँगको अन्तर्वार्तामा प्रश्न गरे— “एक लाख सेनामध्ये असी हजार परिचालन गरी बालेनलाई प्रधानमन्त्री बनाउने सेनापतिले सिंहदरबार जलाइँदा निभाउन किन गएन सेना पठाएन ?”
संसारको इतिहास अध्ययन गर्दा सामन्तवर्ग, पुँजीपति वर्ग र दक्षिणपन्थीहरू मिलेका हुन्छन् । नेपालमा नेका, एमाले, माओवादीलगायतका सरकारहरूले देश र जनताको निःस्वार्थ सेवा गरेको भए सामन्त वर्ग, पुँजीपति वर्ग र दक्षिणपन्थीहरू मिलेर रास्वपाको सरकार ल्याउन सक्ने थिएनन् । दक्षिणपन्थीहरूले बहुदलीय व्यवस्था पुनःस्थापना हुनुअघि पञ्चायती व्यवस्थालाई तीस वर्ष टिकाएजस्तै अहिले रास्वपालाई सरकारमा ल्याएको बताउनेहरू पनि धेरै छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हालै भादगाउँ टेलिभिजनामा भन्नुभयो— “यतिखेर नेपाली जनता तावाबाट फुट्केको माछा भुग्रोमा” भइरहेको छ ।
भारतमा पनि धेरै भयो दक्षिणपन्थी सरकार गठन भएको । भारतका सरकारहरूले जनताको निःस्वार्थ सेवा नगरेको हुँदा त्यहाँ बर्सेनि लाखौँ गरिबहरू आत्महत्या गर्नुपर्ने अवस्थामा रहेको पनि सार्वजनिक भइरहेको छ । दक्षिणपन्थीहरूले युक्रेनमा जोकरलाई सरकार प्रमुख बनाए भने नेपालमा गीत गाउनेलाई ल्याए । नेपालको सार्वभौमिकताविरुद्ध बोल्ने सरकार प्रमुखले राजिनामा दिनु जरुरी हुन्छ, माफी मागेर पुग्दैन । देशलाई लागेको यो घाउबारे संसद्मा अडानसहित आवाज उठेन किनभने यस विषयमा अडानसहित बोल्ने प्रतिनिधि छैनन् । देशविरुद्ध बोल्ने र काम गर्नेहरूलाई जेल हाल्ने र ज्यान सजाय दिने कानुनी व्यवस्था हुनु आवश्यक छ । बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै नेका नेतृत्वको कृष्णप्रसाद भट्टराईको सरकारले मृत्युदण्डको कानुनी व्यवस्था खारेज गरेको हुँदा यतिखेर अराजकता बढ्दो छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले भादगाउँ टीभीमा स्पष्टसँग राख्नुभयो— “उत्पादनका मुख्य मुख्य साधान र सेवा सामाजिकीकरणको कानुनी व्यवस्था भए मात्र जनताको हित हुनेछ ।” थोत्रो गाडीमा हिँड्ने अहिलेको सरकारबाट पनि देश र जनताको हित हुने छैन । चोरेर खानेहरूलाई ढुकुटीमा पठाएर चोरी रोकिँदैन ।
एक सञ्चारकर्मीले रास्वपाका प्रवक्ता मनिष झासँग प्रश्न राख्नुभयो— “सुधन गुरुङको सम्पत्ति शुद्धीकरणबारे बालेन सरकारले बनाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै किन सफाइ दिएको हो ?” प्रवक्ता झाको जवाफ थियो— “यसबारे सरकारको प्रवक्तालाई थाहा होला ।” पार्टीको विधान र वाचापत्रअनुसार सरकार चल्नुपर्ने हो । रास्वपा प्रवक्ता झाका अनुसार रास्वपा र सरकार फरक बाटोमा हिँडिरहेको पुष्टि हुन्छ । हुन त चुनावको बेला बालेनले खर्बपति मालपानीको गाडीमा प्रचार गरेका थिए ।
रास्वपाका समानुपातिक सांसद समीक्षा वास्कोटाले एक सञ्चार माध्यममा भने— “मिचेको भन्ने शब्द मिलेन, बचाउनेहरूसँग यसको जवाफ लिनुपर्ला ?” सरकार प्रमुखको भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्नेबारे सञ्चारकर्मीको थप जिज्ञासामा भने वास्कोटाले जवाफ दिन सकेनन् । वास्कोटा नेकाबाट गृहराज्यमन्त्री समेत भएका दीपक वास्कोटाकी छोरी हुन् । उनी विवेकशील साझा पार्टी हुँदै रास्वपामा पुगेर अहिले सांसद पाएकी हुन् ।
सञ्चार माध्यममा एक अर्का युवाले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनलाई सुधन गुरुङले अपहरण गरेको, मन्त्री र नेता नबन्ने वाचाविपरीत उनी मन्त्री बन्न पुगेको आरोप लगाएको पनि सार्वजनिक भयो । भदौ २४ गतेपछि सुधनको नेपाली सेना प्रमुख, सुशीला कार्की, ओम अर्यालको नाम लिएको मोवाइल वार्ता अध्ययनबाट सुधन सामान्य व्यक्ति नभई विदेशी शक्तिबाट परिचालित हुन सक्ने सार्वजनिक भएको छ ।
यतिबेला रास्वपाका अर्थमन्त्री वाग्लेको बीवाईडी गाडीको कर निर्धारणमा साठगाँठ भएको, भदौ २३ र २४ गतेको विध्वंसमा रवि—बालेन—सुधनको नियोजित सहकार्य भएको, राजतन्त्रलाई पुनःल्याउन रोक्नेबारे सुधनको ओम अर्यालसँग फोन वार्ता भए अहिले दरबार हत्या काण्डको छानबिन हुने आदेश गरिएकोबारे पनि जनताबिच चर्चा छ ।
२०८३ असार १

Leave a Reply

Your email address will not be published. Required fields are marked *