भर्खरै :

चीनले गरेको गरिबी निवारण संसारकै लागि अनुकरणीय

चीनले गरेको गरिबी निवारण संसारकै लागि अनुकरणीय

भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएको चीनको सिचाङ (तिब्बत) स्वशासित क्षेत्र, शाननान नगरपालिकाका कार्यकारी उपप्रमुख मु योङवनको प्रतिनिधिमण्डललाई मङ्गलबार ख्वप इन्जिनिरिङ कलेजमा भक्तपुर नपाले औपचारिकरूपमा स्वागत कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले सो टोलीलाई नेपाल र भक्तपुरवासीहरूको तर्फबाट पुनः एकपटक स्वागत गर्दै भक्तपुर र तिब्बतको साहित्य नेपालीमा अनुवाद भए दुई देशबिचको सम्बन्ध थप बलियो हुने बताउनुभयो ।
चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै उहाँले चीन सरकारको सहयोगलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
एसियामा चीन विकासमा अगाडि बढेको देशको रूपमा उदय भइरहेको उल्लेख गर्दै उहाँले चीनको बेल्ट एन्ड रोड परियोजना मानव जातिको साझा उद्देश्य प्राप्ति गर्ने मार्ग भएको बताउनुभयो ।
बौद्ध दर्शन शान्तिको पक्ष लिने दर्शन भएको उल्लेख गर्दै सचिव सुवालले चीन र नेपालका विद्यालयबिच बौद्ध दर्शनसम्बन्धी पाठ्यक्रमको विकास गरी अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
नेपाली जनताले ताइवानसँगको एक चीन नीतिलाई समर्थन गर्दै आएको स्पष्ट पार्दै सांसद सुवालले ५० वर्षको अन्तरालमा आउने भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका कारण दुई देशबिचको सम्बन्धमा केही बाधा अवरोध सिर्जना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीनले गरेको गरिबी निवारण संसारकै लागि अनुकरणीय छ । चीन छिट्टै विकासमा संसारमै पहिलो देश बन्न लागेको छ । चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन; सेना तैनाथ गरेको छैन । ९० करोड जनता उद्योग र व्यापारमा संलग्न छन् ।
उहाँले सङ्कटमा साथ दिने नै सच्चा मित्र हुन्छ भन्ने कुरा शाननान सहरबाट गरिएको सहयोगले पुष्टि गर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर र चीनको शान—नान नगरबिच २०७३ साउन ३० गते भगिनी सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई नगरका जनताबिच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्ने र सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबिच आपसी सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य रहेको बताउनुभयो ।
नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानले भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच भगिनी सम्बन्धले निरन्तरता पाउनेछ ।
प्रमुख प्रजापतिले २०७३ साउन ३० गते हस्ताक्षर भएको भगिनी सम्बन्धको सहमति पत्रअनुसार आगामी दिनमा भक्तपुर नगरपालिका र शानानान नगरपालिकाबिच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शाननान सहरका कार्यकारी उपप्रमुख योङवनले शाननानको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै चीनको पहिलो कम्युनिस्ट पार्टीको एकाइ स्थापना शाननानबाटै भएको बताउनुभयो ।
उहाँले यातायातमा राम्रो सुविधा भएको क्षेत्र शाननानको जनसङ्ख्या ३ लाख ६० हजार रहेको छ, सांस्कृतिक र भौगोलिक कार्यक्रमहरूलाई अगाडि बढाएको शाननानले पशुपालन र कुखुरापालनलाई महत्वका साथ अगाडि बढाएका छौँ भन्नुभयो ।
तिब्बतको पानी चीनका विभिन्न प्रान्तहरूमा पु¥याउन मिनेरल वाटरको व्यापारीकरणमा शाननानले जोड दिँदै आएको उल्लेख गर्दै उहाँले नेपाल र चीनको सम्बन्ध इतिहासभन्दा पुरानो हो, भक्तपुर शाननानबिचको मित्रताले नेपाल चीनबिचको मित्रतामा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभ्यो ।
२०१६ मा भक्तपुर र शाननानबिच मैत्रीपूर्ण सम्बन्ध स्थापनापछि स्वास्थ्य क्षेत्रमा यी दुई सहरबिच सहकार्य भएको र आगामी दिनमा पनि पर्यटन, आर्थिक, शिक्षालगायतका क्षेत्रहरूमा सहकार्य र समन्वय गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो । भ्रमणले दुई सहरबिचको आर्थिक आदानप्रदानलाई अझ बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमपश्चात् प्रमुख अतिथि प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापतिले उपप्रमुखसहितको प्रतिनिधिमण्डललाई मायाको चिनो हस्तान्तरण गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले चिनियाँ प्रतिनिधिमण्डलको भक्तपुर भ्रमणको फोटो एल्बम पनि हस्तान्तरण गर्नुभयो ।
चिनियाँ प्रमण्डलले पनि अतिथि सुवाल र प्रजापतिलाई मायाको चिनो प्रदान ग¥यो । कार्यक्रमपछि प्रमण्डलको सम्झनामा लाखे प्याख र माक प्याखं देखाइएको थियो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *